• ८ वैशाख २०८२, सोमबार

दुर्गा भवानीका मूर्ति शान्तिपूर्ण विसर्जन गरिंदै

blog

दुर्गा मूर्ति विसर्जन जुलुसमा सहभागी जिल्लाका सुरक्षा अधिकारीहरु। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक ८ गते । बडादसैको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरु विसर्जन कार्य शान्तिपूर्ण तरिकाले भइरहेको छ । नेपालगन्जमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदीमा लगेर सेलाउने काम भइरहेको छ ।

ट्रक, ट्रालीलगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ बाजागाजासँगै बैण्डबाजा बजाएर नाचगान गर्दै राप्ती नदीतर्फ लैजाने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बुधबार  सबै मूर्ति लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइने बताइएको छ । 

मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण, भजन कीर्तनसमेत भइरहेको छ । घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति नौ दिनसम्म विशेष पुजापाठ गरी दसैंको भोलिपल्ट अर्थात सेलाउने परम्परा रहेको दुर्गा मूर्तिका पुजारी पण्डित शिवप्रसाद पाठकले बताउनुभयो ।

उहाँका अनुसार मूर्तिमा विशेषगरी नौ दिनसम्म दुर्गा सप्तशतीको पाठ गर्ने गरिन्छ । नवमीका दिन विशेष पूर्णाहुति गरी पूजापाठ सकिन्छ ।

दुर्गा भवानीको मूर्ति विसर्जन रैली मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सक्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँके जिल्लामा करिब ६०० दुर्गा मूर्ति  छन् । नेपालगन्जमा मात्र ५६ वटा मूर्ति पूजाका लागि स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ।