• १ जेठ २०८२, बिहिबार

कुशबाडिया समुदायको पुर्ख्यौली पेशा संकटमा

blog

कुशबाडिया समुदायले बनाएका सामान ग्राहकको प्रतीक्षामा । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ८ गते । बाँकेमा वर्षौंदेखि ढुङ्गाको सिलौटा र डोरी बिक्री गरेर जीविकोपार्जन गर्दै आइरहेका कुशबाडिया समुदायको परम्परागत पेशा सङ्कटमा परेको छ । 

जिल्लामा न्यून सङ्ख्यामा रहेको लोपोन्मुख र अल्पसङ्ख्यक सो समुदायको पुर्ख्यौली पेशा प्रविधिको विकास र बिस्तारका कारण सङ्कटमा परेको हो । कुशबाडिया समुदायले महिनौँ लगाएर निर्माण गरेका परम्परागत सामानहरू बिक्री हुन छाडेपछि उनीहरू निराश भएका छन् ।

बाँके जानकी गाउँपालिका ३ का मनोजकुमार कुशबाडियाले बजारमा पाइने आधुनिक सामानका कारण ढुङ्गाबाट बनाइने सिलौटा र सनपाटबाट बन्ने डोरी बिक्री गर्नै मुस्किल भएको बताउनुभयो । उहाँले सोही कारणले आफूहरुको पुर्ख्याैली पेशा सङ्कटमा परेको बताउनुभयो । 

मनोजका अनुसार कुशबाडियाहरु आफैँ ढुङ्गाको सिलौटा बनाउँछन् । डोरी पनि आफैँ निर्माण गर्दछन् । उनीहरूले परम्परागत रुपमा बनाउँदै आएका यी सामग्रीहरूले भने आजभोलि बजार पाउन छाडेका छन् । 

यस्तै, इन्द्रपुरका चुन्की कुशबाडियाले यसअघि सिलौटा मसला पिस्न तथा डोरी लह्रिया र ठेलागाडा चलाउनेहरूले किन्नेगरेको जनाउँदै गाउँ पुगेर सिलौटा बिक्री गर्नेगरेकोमा अहिले आधुनिक उपकरणको पर्याप्तताले आफ्ना उत्पादन खेर जान थालेपछि घरपरिवार चलाउनै मुस्किल भएको दुखेसो गर्नुभयो । 

उहाँका अनुसार अहिले सनपाटको डोरीको स्थान प्लास्टिकको डोरीले लिएको हुँदा व्यवसाय नचल्दा गरिबी र अभावमा बाँचिरहेका अल्पसङ्ख्यक कुशबाडियाको दैनिकी कष्टकर बन्दै गइरहेको छ । 

कुशबाडियाहरुका अनुसार सिलौटाको ठाउँ गाउँघरमा खुलेका मिल र मिक्सचरले लिएको छ । प्लाष्टिकको डोरीका कारण सनपाटबाट बनाएका डोरी विक्री नभएर त्यसै खेर गइरहेको छ । 

जानकी ३ का फूला कुशबाडियाले अवस्था यस्तै रहने हो र राज्यले ध्यान नदिने हो भने केही समयपछि भोकै बस्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । उहाँले सरकारले आफुहरुको पेशालाई आधुनिक पेशामा रुपान्तरण गर्न सहयोग गर्नुपर्ने माग गर्नुभयो । 

बाँकेको जानकी गाउँपालिका ३ इन्द्रपुरमा थोरै सङ्ख्यामा कुशबाडिया जातिको बसोबास छ । उनीहरुलाई सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जाति घोषणा गरेको छ । 

सोही कारणले स्थानीय सरकारले जातिहरूको पुर्ख्यौली पेशा संरक्षणका लागि योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो । उहाँले उनीहरूको परम्परागत पेशालाई स्तरोन्नति गर्दै बजारीकरणमा सहयोग गर्ने योजना बनाइएको बताउनुभयो ।