रेखीराम राना
पाल्पा, कात्तिक ८ गते । अघिल्ला पुस्ताको दैनिक जीवनलाई सहज बनाउने घरेलु मेसिन कोल लोप भएको छ । दुई तीन दशकअघिसम्म यहाँका मानिसहरूको दैनिक जीवनमा प्रयोगमा आउने तोरी पेल्ने घरेलु मेसिन कोल लोप भएको हो ।
तोरी पेल्न प्रयोग गरिएका ढुङ्गा र काठको कोल यतिबेला लोप भएको पाल्पाका स्थानीय बासिन्दाको भनाइ छ । पहिले तोरी पेल्न प्रयोगमा आएका ढुङ्गा र काठका कोल लोप भएको माथागढी –३, भैसकट्टाका स्थानीय बासिन्दा रनबहादुर घर्तीमगरले बताउनुभयो ।
तोरीलगायतका दाना पेलेर तेल निकाल्ने मेसिनको सहज उपलब्धता नहुँदासम्म ढुङ्गा र काठका कोलमा तोरी, सर्सिउ, आलस, चिउरी पेलेर तेल निकाल्ने प्रचलन थियो । पछिल्लो एक दशक यता यस्ता परम्परागत घरेलु मेसिनको प्रयोग हुन छाडेको घर्तीमगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पुर्खाले तोरी पेल्न प्रयोग गरेका घरेलु मेसिन लोप भइसकेको छ, अहिले आधुनिक मेसिनबाट तोरी पेलिन्छ ।’ आधुनिक मेसिन र तेल किनेर खाने प्रचलन बढेपछि पुराना घरेलु मेसिन लोप भएको उहाँले बताउनुभयो ।
अघिल्लो पुस्ताले प्रयोग गरेका घरेलु कोल मेसिन केही वर्ष अघिसम्म ग्रामीण भेगका अधिकांश स्थानमा देख्न सकिन्थ्यो । दोबाटो, कुनै सार्वजनिक स्थल, भाङ्ज्याङ्, तथा मान्छेलाई सहज हुने बीचस्थानमा यस्ता मेसिन स्थापना गर्ने र गाड्ने प्रचलन थियो ।
अहिले ती स्थानमा राखिएका अधिकांश कोलको संरक्षण हुन नसक्दा हराएको छ भने कतिपय जीर्ण बनेको माथागढी–३ का वडा सदस्य मानबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रयोगमा नआएपछि हाम्रो पुर्खाले प्रयोग गरेका घरेलु मेसिन कोल संरक्षण पनि नहुने रहेछ ।’ अब ती परम्परागत मेसिन सङ्ग्राहलयमा बाहेक अन्त देखिन छाडेको उहाँले बताउनुभयो ।
कोल मात्र होइन, कुटानी–पिसानीका अन्य घरेलु मेसिन समेत बिस्तारै लोप भएका छन् । ढिँकी, जाँतो, ओखल, सिलौटासमेत बिस्तारै लोप हुँदैगएको यहाँका स्थानीय बासिन्दाको भनाइ छ । व्याट्री र विद्युतीय मेसिनबाट सञ्चालन हुने आधुनिक मेसिन भित्रिएपछि परम्परागत घरेलु मेसिन लोप हुँदैगएको नेपाल आदिवासी जनजाति महासङ्घ पाल्पाका अध्यक्ष गमबहादुर थापाले बताउनुभयो ।
जनजाति समुदायले प्रयोग गर्दैआएका घरेलु मेसिनलाई परिमार्जन गर्न नसक्दा लोप हुँदैगएको उहाँले बताउनुभयो । पुर्खाले प्रयोग गर्दैआएका घरेलु मेसिन लोप हुँदा आधुनिक मेसिनको आयात बढेको थापाको भनाइ छ । केही वर्षपछि नेपालीले प्रयोग गर्ने घरेलु मेसिन पूर्णरुपमा लोप हुने र पूरै आयातित मेसिनबाट घर भरिने पुराना पुस्ताको चिन्ता छ ।