• २५ असार २०८१, मङ्गलबार

दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर नेपाल अघि बढेको छ : अध्यक्ष तिमिल्सिना

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्विर : अध्यक्षको सचिवालय

लुवाण्डा, एङ्गोला, कात्तिक ८ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताउनुभएको छ । 

एङ्गोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४७ औं महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताउनुभएको हो । संसदमा आउने विधेयकलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरी औचित्य परीक्षण हुँदैआएको उहाँले बताउनुभयो ।

नेपालको सङ्घीय संसदको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “दिगो विकास लक्ष्य हासिल गर्न सरकारले कार्यान्वयन गर्नुपर्ने विषयमा संसदले सरकारलाई निरन्तर खबरदारी गरेको छ । सङ्घीय संसदका दुई सदनमध्येको राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति गठन गरिएको छ । यो समितिले दिगो विकास लक्ष्यका प्रगति र कार्ययोजनाका अवस्थाबारे तीनै तहका रकारसँग निरन्तर छलफल गर्ने र आवश्यक नीतिगत निर्देशन दिने काम गर्दैआएको छ ।” 

उहाँले नेपालले दिगो विकास लक्ष्यलाई मूलभूत रूपमै आन्तरिकीकरण गरेको बताउँदै संविधानको प्रस्तावनामै नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई उल्लेख गरेको चर्चा गर्नुभयो ।   सामाजिक न्याय र समावेशितालाई मौलिक हकका रूपमा संरक्षण गर्दै सबै किसिमका भेदभाव, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने नीति राज्यले अवलम्बन गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालले तीन तहको सङ्घीय शासन प्रणाली अवलम्बन गरेसँगै सङ्घमा रहँदैआएको राष्ट्रिय योजना आयोगका अतिरिक्त प्रदेशमा प्रदेश नीति तथा योजना आयोग स्थापना गरी केन्द्रीय तथा प्रादेशिक योजनाहरू दिगो विकास लक्ष्यसँग तादात्म्य हुने सुनिश्चित भएको बताउनुभयो ।  

अध्यक्ष तिमिल्सिनाले विश्वका ज्वलन्त समस्याको समाधान गर्दै दिगो र समुन्नत भविष्य निर्माण गर्न शान्ति र न्याय कायम गर्नु र हाम्रा संस्थालाई खुला, प्रभावकारी, पारदर्शी, समावेशी र प्रतिनिधिमूलक बनाउनु अपरिहार्य  भएको कुरामा जोड दिनुभयो । 

“सबै भूगोल, आर्थिक अवस्था र राजनीतिक प्रणालीका मुलुकको साझा चासो हो । यसका लागि जनताको प्रतिनिधिमूलक संस्था संसदको भूमिका प्रभावकारी पार्न हामी सबैको साझा प्रतिबद्धताको खाँचो छ” उहाँले भन्नुभयो । 

अर्को प्रसङ्गमा अध्यक्ष तिमिल्सिनाले आणविक हतियार निर्माण र त्यसको जथाभावी प्रयोग विवेकहीन काम भएको बताउनुभयो । मानव जातिले शान्ति  र न्यायको लागि नभई शक्ति प्राप्तिको लागि मानवजातिकै संहार हुनेगरी सैन्य, सामरिक र आणविक अस्त्रमा सबैभन्दा धेरै खर्च गरेको विषय जायज हुन नसक्ने धारणा उहाँले राख्नुभयो । 

“विज्ञान र प्रविधिको विकास सुन्दर पृथ्वी र मानवजातिको हित र न्यायका लागि हुनुपर्नेमा क्षणभरमा मानवजाति मात्र हैन पृथ्वीको स्तित्व समाप्त हुने गरी आणविक शस्त्रअस्त्र निर्माणमा प्रयोग भइरहेको छ, जुन विवेकहीन कार्य हो, यो जायज छैन” उहाँले भन्नुभयो “शक्ति सम्पन्न राष्ट्रले गरिब र कमजोर राष्ट्रहरुमाथि विभिन्न बहानामा गर्ने आक्रमण थिचोमिचो र दमन शान्ति र न्यायका लागि खतरा बनेको छ । सैन्यशक्तिमा गरिने खर्च कटौती गरेर न्याय र शान्तिका लागि खर्च गर्ने वातावरण बनाउन केन्द्रित हुनुपर्छ ।”