• २८ पुस २०८१, आइतबार

वृद्धाश्रममा ज्येष्ठ नागरिक

'चाडपर्वमा आफन्तको याद आउँछ, तर घर फर्किन मन लाग्दैन'

blog

वृद्धाश्रममा बस्दै आउनुभएका ज्येष्ठ नागरिकहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक ६ गते । ७० वर्षीया लालकुमारी पुरीको रोल्पाको गजुलमा घर र परिवार छ । घरमा छोराबुहारी छन् । आर्थिक रुपमा मध्यम परिवार राम्रै थियो । तर छ वर्षअघि लालकुमारी श्रीमानको मृत्यु भएपछि एक्लो जस्तै हुनुभयो ।

श्रीमान बितेको पीडामा रहनुभएको उहाँलाई छोराबुहारीले बेवास्ता गर्न थालेको महसुस भयो । आफ्नै सहाराका रुपमा रहेका छोराबुहारीबाट विभेद भएपछि पाँचवर्ष अघि घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा आउनुभएको लालकुमारी त्यसयता घर फर्किनुभएको छैन । 

वृद्धाश्रममा आफू जस्तै ज्येष्ठ नागरिकसँग बस्दै आउनुभएको उहाँका लागि वृद्धाश्रम घर भएकोे छ । तर आफ्नो विगतको याद जोडिएको घर जस्तो पूर्ण भने उहाँलाई वृद्धाश्रम लाग्दैन । चाडपर्व आउँदा घरसँगै आफन्तीहरुका सम्झाना आउँछ भन्नुहुन्छ, ‘चाडपर्वको समयमा घरमा छोराबुहारी, नातिलगायतका आफन्तीहरु जम्मा हुँदा छुट्टै आनन्द हुन्थ्यो, घर उज्यालो भएको अनुभूति हुन्थ्यो ।’ 

गाउँघर तथा आफन्तीहरुको अन्य समयमा सम्झना नआउने भए पनि लालकुमारीलाई चाडपर्वको समयमा घर र सन्तानको याद आउने गरेको बताउनुहुन्छ । चाडपर्वको समयमा घर परिवार र आफना आफन्तको याद आए पनि घर फर्किन मन नलाग्ने गरेको उहाँ बताउनुहुन्छ । जान मन नलाग्नुको कारण घरपरिवारकै बेवास्ता भएको उहाँ बताउँनुहुन्छ । ‘घर परिवारमा राम्रो भएको भए यहाँ आउनुपर्ने थिएन, यहाँ आएर बसेपछि अहिले यही वृद्धाश्रम घर जस्तै भएको छ’, लालकुमारीले भन्नुभयो, ‘सुख, दुःख जेजस्तो भए पनि यहीँ ठिक छ, म पनि खुसी छु । अहिले त घर र परिवारको याद आए पनि जान मन लाग्दैन ।’ गतवर्षको दसैंमा छोरा र नातिनी वृद्धाश्रममै आएर टीका लगाएको भन्दै उहाँले त्यसपछि छोरा र नातिनीसँग आफ्नो सम्पर्क नभएको बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिका १३ कलमघारी निवासी करिब ६५ वर्षीय श्रीधर सुनार पनि वृद्धआश्रममै बस्दै आउनुभएको छ । श्रीमती छोराछोरी कोही नभएकाले विगत केही वर्षदेखि वृद्धाश्रममै बस्दै आउनुएका उहाँले चाडपर्वको समयमा आफन्त र गाउँघरको याद आउने बताउनुहुन्छ । ‘चाडपर्वमा आफू हुर्केबढेको गाउँघर र आफन्तहरुको सम्झना आउँछ, तर आफूलाई हेरचाह गर्ने कोही नभएपछि वृद्धाश्रम नै ठिक हुने रहेछ’, उहाँले भन्नुभयो, ‘छोराछोरी भएका भए घरमै राख्ने थिए होला तर मेरा कोही छैनन्, जसले गर्दा घरभन्दा अहिले वृद्धाश्रम नै राम्रो लाग्ने गरेको छ ।’ शारीरिक रुपमा अपाङ्ग हुनुभएका उहाँ एक्लै टाढा जान सक्नुहुन्न । जस्ले गर्दा वृद्धाश्रमबाट घर नजिकै भए पनि आफू जन्मिएको गाउँघर, आफन्तहरुसँग भेटघाट गरौं भने पनि स्वास्थ्यले साथ नदिएको उहाँ बताउनुहुन्छ । ‘राम्रो स्वास्थ्य भएको भए हिंडडुल गर्न हुन्थ्यो,खुट्टाको समस्याले हिँडडुल गर्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘गाउँघर र आफन्तको याद आए पनि जान सक्ने अवस्था छैन ।’ 

लालकुमारी र श्रीधर मात्रै होइन अहिले ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा वृद्धाश्रममा १७ जना ज्येष्ठ नागरिक बस्दै आउनुभएको छ ।  वृद्धाश्रममा बस्दै आउनुभएका बुबाआमाको दसैं पनि यहीं मनाउने गरेको वृद्धाश्रमकी व्यवस्थापक हीरा शाहले बताउनुभएको छ । चाडपर्वको समयमा नजिक घर भएका आफन्तहरु केही आउने गरे पनि अधिकांशका नआउने गरेको व्यवस्थापक शाह बताउनुहुन्छ । उहाँका अनुसार दाङ, रोल्पा, रुकुम, सल्यानलगायतका जिल्लाका ज्येष्ठ नागरिक बस्दै आउनुभएको छ ।