• १३ साउन २०८१, आइतबार

बडादसैँको शुभकामना

blog

सारा नेपालीमा असत्यमाथि सत्य तथा अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीको उमङ्ग छ । सुख, समृद्धिको शुभकामना साटासाट छ । हिन्दु धर्मावलम्बीको मात्र नभई सनातनी यस पर्वले पारिवारिक र सामाजिक पुनर्मिलन गराएको छ । पहेँलपुर फाँट होस् वा पहाडी कान्लाका गोरेटोदेखि पक्की सडकमा नयाँ पहिरनका मानिसको ओहोरदोहोर चलेको छ । बाटोघाटो, घर सरसफाइ गरी पिङमा मच्चिनेहरूको रमिता छ । मङ्गलधुन बजेका छन् । मिठा परिकार पाकेका छन् । नेपालमा सबैभन्दा बढी मानिसको ओहोरदोहोर, चहलपहल, आर्थिक कारोबार हुने यो पर्व एकताको प्रतीक पनि हो । विभिन्न जाति समुदायमा विजयादशमीका दिन आआफ्ना परम्परा अनुसार मान्यजनका हातबाट चामलको राता र सेता अक्षता लगाई शुभ आशीर्वाद लिने यो पर्व समस्त आसुरी प्रवृत्तिमाथि विजयको शुभकामना गर्ने राष्ट्रिय पर्व हो । 

बडादसैँ वा विजयादशमीमा नवरात्रका नौ दिन नवदुर्गाको पूजा आराधना गरी मुख्य दिन विजयादशमीमा टीका ग्रहण गरिने यो पर्वमा दुर्गा माता र रामलाई शक्ति र न्यायका प्रतीकका रूपमा लिइन्छ । पौराणिक कथा अनुसार संसारको विनाश गर्न खोज्ने महिषासुर नामक राक्षसलाई दुर्गा माताले मारेको अनि अहङ्कारी, अन्यायी, अत्याचारी रावणमाथि रामले विजय गरेको स्मरणमा बडादसैँ मनाइने गरिएको छ । सिङ्गो राष्ट्र नै यस पर्वमार्फत व्रmोध, लोभ, अन्याय–अत्याचार, अहङ्कार, दण्डहीनता, क्रूरता, भ्रष्टाचार तथा भोक र शोकरूपी आसुरी प्रवृत्तिविरुद्ध सत्य, न्याय, सुख–समृद्धिको पक्षमा शताब्दीऔँदेखि प्रस्तुत भए पनि हामी र हाम्रो मुलुक आसुरी प्रवृत्तिको कब्जाबाट मुक्त हुन चाहिँ सकेको छैन । यो विडम्बना छ । दुर्गाका नौ स्वरूप योग साधना, वैराग्य, संयम र सदाचार, हाँसो, चैतन्य, धर्म, अर्थ, काम र मोक्ष, सिद्धि, कलुषिताको अन्त्य आदि सम्बन्धित मानिन्छ । संसार मास्न खोज्ने महिषासुर राक्षसलाई मारेर मानव सृष्टि संरक्षण गर्न सक्ने शक्तिपुञ्जस्वरूप नारीशक्ति हुन् दुर्गा । नारीशक्तिको रौद्र र ममतामयीस्वरूप दुर्गाको पूजक नेपाली समाजमा नारी नै पीडित छन् । नेपालको वर्तमान संविधानले समान अवसर अनि विशेषाधिकारको समेत प्रबन्ध गरे पनि युगौँदेखि हेपिएका, पीडित नारी अझै पनि अवहेलित अवस्थामै छन् । सृष्टिकर्ता नारी कतिपय परिवारभित्रै अछुत ठानिनुपर्ने अवस्था विद्यमान छ । शक्तिपूजक नेपाली समाजमा अब नारी दुर्गास्वरूप प्रकट हुन सकून् – शुभकामना । 

युवा शून्यप्रायः गाउँघर बडादसैँकै कारण यतिखेर रमाइला बनेका छन् । कार्य परिबन्धले अन्यत्र गएका युवा गाउँमा फर्केका छन् तर यति महान् पर्वमा पनि लाखौँ युवायुवती विदेशमा पसिना चुहाइरहेका छन् । गाउँमा गरिखान नजानेर वा रोजगारी नपाएका कारण बिदेसिएका ती सन्तान सम्झेर कैयौँ बाआमाले आँसुको नुनिलोसँग गाँस निल्नु परेको छ । यही मुलुकमा शान्ति सुरक्षा, सुशासन हुन्थ्यो भने ती सन्तान बाध्यताले विरानो देशमा जानुपर्ने थिएन । हजुरबाआमाहरूले सुख, शान्ति, समृद्धिका शुभकामनासाथ सन्तानले डाँडाकाँडा ढाकून्, ढुङ्गा छोए सुन र माटो छोए अन्न बनोस् भन्ने आशीर्वाद दिनुहुन्थ्यो । आज ती सन्तानले आफ्ना डाँडाकाँडा ढाक्न सकेनन्, विदेशमा गएर विदेशीकै लागि अन्न फलाइदिएका छन्, सुन निकालिदिएका छन् । अब चाहिँ ती नेपाली सन्तानलाई नेपालमै फर्काउन, नेपाललाई नै समृद्ध बनाउन सकियोस् – शुभकामना । 

विकसित, समृद्ध नेपालका लागि शासकदेखि शासितसम्मको प्रतिबद्धता र समर्पण भए असम्भव छैन । जातीय, धार्मिक, सांस्कृतिक सद्भावसहितको एकताबद्ध समाज छ हाम्रो । प्राकृतिक स्रोत, सम्पदा छन् अनि युवा जनशक्तिको सङ्ख्या धेरै छ । संवैधानिक हिसाबमा समानुपातिक, समावेशी र सहभागितामूलक राज्य प्रणाली छ । स्रोत र जनशक्तिको पूर्ण लाभ उठाउने दूरदृष्टिसहितको प्रभावकारी राजनीतिक नेतृत्वले यस्ता अवसरको सदुपयोग गर्न सकोस् – शुभकामना । 

वास्तवमा नेपालीका शुभकामनाहरू जीवनमा यथार्थ साबित हुन नसक्नुको जड नै भ्रष्टाचार हो । दसैँ बजारमा खाद्य, लत्ताकपडा, यातायातका साधनको टिकट, होटलको खाना मूल्यदेखि राज्यको सार्वजनिक जग्गासमेत निजी बनाउने तहको भ्रष्टाचार हुने गरेको यथार्थ छ । नीति बनाएरै राज्यकोषको अपचलन हुने गरेको छ । नागरिकप्रति जवाफदेही, उत्तरदायी बन्नुपर्ने राज्यसंयन्त्रमा बस्नेहरूबाट हुने ढिलासुस्ती, अनुचित लेनदेन, भ्रष्टाचारले आजित सेवाग्राहीले देशप्रति नै निराशाभाव व्यक्त गर्नु परेको छ । सुशासनको अभावका कारण नागरिक यस्तो निराशाले गाँजिएका हुन् । अब राज्यले सुशासनमार्फत आसुरी प्रवृत्तिकै रूप भ्रष्टाचारको अन्त्य गरी नागरिकलाई आशावादी बनाउन सकोस् – शुभकामना ।