लीलाधर वली
घोराही, कात्तिक ३ गते । थारु भाषाका संस्कृतिकर्मी तथा साहित्यकार बेझलाल चौधरीद्वारा लिखित गीतिसंग्रह ‘पच्रा’ को बिमोचन गरिएको छ । थारु भाषाको साप्ताहिक पत्रिका लौवा अग्रासनले साहित्यकार समेत रहनुभएका चौधरीको दसैंका अवसरमा गाइने गीतमा आधारित गीतिसंग्रह प्रकाशन गरेको हो ।
थारु कला संस्कृतिका विज्ञ समेत रहनुभएका चौधरीका ‘थारु लोकगीत’, ‘डस्या टीका सम्हौटी’ र ‘दाङसे बुह्रान’ गीति क्यासेट, ‘मागर’, ‘बर्कीमागर’, ‘ढुमर’ लगायतका थारु भाषाका कृतिहरु प्रकाशित छन् ।
लौवा अग्रासन साप्ताहिकको आयोजनामा भएको शुक्रवार भएको कार्यक्रममा कविता संग्रहको घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले बिमोचन गर्नुभएको थियो । पुस्तकको बिमोचन गर्दै नगर उपप्रमुख डिसीले थारु भाषासँगै कला संस्कृतिको संरक्षणमा स्थानीय सरकारले सहयोग गर्ने बताउँदै त्यसका लागि थारु समुदायका नयाँपुस्ता पनि अग्रसर हुनुपर्ने बताउनुभयो ।
उपप्रमुख डिसीले भन्नुभयो, ‘दाङ थारु जातिको कला संस्कृतिका धनी क्षेत्र हो, यहाँको कला संस्कृतिको संरक्षणमा सवैको चासो दिन आवश्यक छ ।’
कविता संग्रहको बिमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, संस्कृतिविद तथा लोकगायक डा गोविन्द आचार्य, अनुसन्धानकर्ता भुवन चौधरी र नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान केन्द्रका कार्यकारी प्रमुख डा. जर्मन चौधरीले थारु जातिको कला संस्कृतिसँगै भाषाको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।