सिराज खान
नेपालगन्ज, कात्तिक ३ गते । हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै बाँकेको संवेदनशील क्षेत्र मानिने नरैनापुरमा इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना लागुगरेको छ ।
अन्य चाडपर्वभन्दा दसैं, तिहारमा बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधका घटना समेत बढ्न सक्ने भन्दै विभिन्न टोलमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद साहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको बिशेष सहभागितामा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका वडा अध्यक्षहरु, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी इलाका प्रहरी कार्यालयले चाडपर्वलक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो ।
वर्तमान परिस्थितिलाई आँकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीलाई सुझाव दिएको अध्यक्ष साहले बताउनुभयो । यसअघि नेपालगन्ज, धरान, सर्लाहीलगायत जिल्लामा भएका घटनालाई लिएर बाँकेको नरैनापुरमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीको भनाइ छ ।
मठ–मन्दिरलाई सुरक्षा गर्न र यात्रुलाई चाडपर्व मनाउन घरसम्म जान सहज वातावरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई निगरानी बढाउन नरैनापुर गाउँपालिकाले निर्देशन दिएको छ ।
त्यस्तै, दुर्गापूजा तथा दुर्गा मूर्ति विसर्जनका क्रममा झैझगडा र दुर्घटना हुन नदिन ‘क्वीक रेस्पोन्स टिम’ र चेकिङका लागि मोबाइल गस्ती गरिने प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।
नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले चाडपर्वलक्षित सुरक्षा योजनालाई सफल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठकमा नरैनापुरका ६ वटै वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि र सशस्त्र प्रहरीका डिएसपी जगदिश जोशीलगायतको सहभागिता रहेको थियो ।