गोकर्ण पौडेल
तुलसीपुर, असोज ३ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशभरका सामुदायिक विद्यालयलाई साधन स्रोत सम्पन्न बनाए मात्रै विद्यार्थीको आकर्षण बढ्ने बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका –६ मा रहेको सेन्टर माध्यमिक विद्यालयको प्रशासनिक भवनको उद्घाटन गर्दै महासचिव पोख्रेलले देशभरका सामुदायिक विद्यालयलाई सरकारले साधन स्रोतले सम्पन्न बनाए मात्र विद्यार्थी र अभिभावकको आकर्षण बढ्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले विद्यालयको नेतृत्व र अभिभावकको चासो बढेका विद्यालयको भौतिक, शैक्षिक रुपमा उपलब्धि हासिल गर्न सकेको बताउनुभयो । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले विगतमा विद्यालयको शैक्षिक नतिजा, विद्यार्थी आकर्षणकै कारण मेघा विद्यालयका रुपमा अघि सारेको बताउनुभयो ।
उहाँले पछिल्लो समय प्रत्येक विद्यालयले सबै प्राविधिक विषय अध्यापन सुरु गर्दा बीचमै बन्द हुने अवस्था सिर्जना भएको भन्दै एक विद्यालय एक विशिष्टकृत प्राविधिक शिक्षा अपरिहार्य रहेको बताउनुभयो । उहाँले माध्यमिक तहसम्मको व्यवस्थापनको अधिकार स्थानीय सरकारकै मातहतमा रहेकाले प्रदेश र सङ्घ सरकारसँग समन्वय सहकार्य गरेर भौतिक, शैक्षिक अवस्था सुधार गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले विद्यालयको शैक्षिक, भौतिक अवस्था सुधारका लागि दीगो आर्थिक स्रोतको व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले शैक्षिक अवस्था सुधारका लागि पालिकाको तर्फबाट सहयोग गर्दैआएको बताउनुभयो ।
सङ्घीय सरकारको एक करोड र विद्यालयको दुई लाखको लागतमा आठ कोठे प्रशासनिक भवनको निर्माण गरिएको हो । माध्यमिक विद्यालयलाई २०७८ सालमा मेघा विद्यालयका रुपमा घोषणा गरिएको थियो । मेघा विद्यालयका रुपमा विकास गर्नका विस्तृत विवरण प्रतिवेदनका आधारमा २४ करोडको बजेट रहेको छ भने सङ्घीय सरकारले गत वर्षदेखि बजेट विनियोजन सुरु गरेको छ ।
गत वर्ष एक करोड बजेट विनियोजन गरेको थियो । विद्यालयमा दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले एसीसहित १७ वटा स्मार्ट कक्षा रहेको जानकारी दिनुभयो । विद्यालयमा एकसय वटा अत्याधुनिक कक्षा कोठा र चार हजार विद्यार्थी अध्यापन गर्ने लक्ष्य राखिएको छ ।
विद्यालयले पाँँचवटा प्राविधिक धारका विषय अध्यापन गराउँदै आएको छ । एक सय ७० जना विद्यार्थीले वार्षिक रुपमा अध्ययनसँगै प्रतिविद्यार्थी ६० हजार रकम छात्रवृत्तिबापत प्राप्त गर्दैआएका छन् ।