• २० असोज २०८१, आइतबार

आस्थाको केन्द्र बन्दै बागेश्वरी मन्दिर

blog

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर । तस्बिर: गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, कात्तिक ३ गते । नेपालगञ्जको मध्यभागमा रहेको बागेश्वरी मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तथा महत्वपूर्ण धार्मिकस्थलको रुपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउनेगरेका छन् । 

बागेश्वरीको दर्शनबाट मनोकामना पूरा हुने विश्वासका साथ दैनिक भक्तजन पूजाआजका लागि मन्दिर पुग्नेगरेका छन् । प्रमुख शक्तिपLठको रुपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको अझ बढी भिडभाड हुनेगरेको मन्दिरका मूल महन्त चन्द्रनाथ योगीको भनाइ छ । 

मूल महन्त योगी भन्नुभयो, ‘यहाँ सतीदेवीको जिब्राे पतन भएकाले साक्षात देवीको बास रहेको छ ।’ जनश्रुतीअनुसार मन्दिरमा सतिदेवीको जिब्राे पतन भएकाले सुरुमा बाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ । बागेश्वरी मन्दिरको बारेमा शाेध गर्नुभएका महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका सहप्राध्यापक डा. राजकुमार सुवेदीका अनुसार आजभन्दा दुई हजार वर्ष पहिले हाल मन्दिर भएको ठाउँ घनघोर जङ्गलले ढाकिएको थियो । 

नेपाल–भारत तीर्थयात्रा गर्ने तीर्थयात्री र तपस्वीहरु यही ठाउँको बाटोको प्रयोग गर्दथे । सोही क्रममा नेपालबाट भारत जान लागेका दुुई जना महत्मा (एकजना गुरु र एकजना चेला) यही ठाउँमा बास बस्न पुग्नुभएको थियो ।  देवीको स्थान भएको  नजिकै सुतिरहेको समयमा गुरुलाई सपनामा जगदम्बा देवीको दर्शन भ मेरा स्थान यतै कतै छ भन्ने वाणी भयो ।

त्यसपछि गुरुले चेलालाई उठाएर देवीको खोजीमा लाग्नुभयो । दिनभरको परिश्रमपछि साँझ सूर्यास्तको समयमा गहिरो खाल्डो भेटियो । सोही ठाउँमा मन्दिर निर्माण गरियो । गुरु चेला दिनभर मन्दिर बनाउँथे राति भत्किन्थ्यो । छैटाैं दिनमा सातौं दिनमा गुरुलाई फेरि सपनामा देवीको स्थानमा बलि चाहिने भनियो । धार्मिक कार्यमा निस्केका गुरुले जनावरको बलि दिन उपयुक्त नठानेर आफू समाधि लिने भन्नुभयो । 

चेलाले पनि आफै समाधि लिने भनेपछि मतभेद भयो । अन्त्यमा गुरु ज्यूँदै समाधिमा बस्नुभयो । त्यसपछि चेलाले मन्दिर बनाउन सफल हुनुभयो । गुरूको समाधि अहिले पनि मन्दिरको पूर्वमा रहेको पीपल बोटको पूर्वी छेउमा छ । त्यसपछि चेलाले पूजाआजा गर्नुभयो । उहाँका सन्तानले निरन्तर पूजाआजा गर्दै आउनुभएको छ ।  हाल पुजारीका २४ औं पुस्ताका हरिहरनाथ योगी र चन्द्रनाथ योगीले मूल महन्तको रुपमा पूजाआजा गर्दै आउनुभएको छ । 

बागेश्वरी मन्दिर प्यागोडा शैलीमा बनेको छ । मन्दिरको छानालाई अड्याउन कलात्मक टुँडाल छन् । मन्दिरभित्र बीचमा बागेश्वरी देवीको गर्भगृह रहेको छ । त्यसमाथि देवीको प्रतिमा छ । बागेश्वरी मन्दिरमा पछिल्लो समय हरेक सोमबार हुने सन्ध्याकालिन आरतीमा भक्तजनको भिडभाड लाग्नेगरेको छ । विश्वकै एकमात्र जुँगे महादेवको मूर्ति पनि मन्दिर परिसरभित्र छ ।