पर्वत जिल्लाको पवित्र कालीगण्डकी नदीको काखमा अवस्थित फलेवास नगरपालिकालाई भौगोलिक विविधताले भरिएको रमणीय क्षेत्र मानिन्छ । फलेवास कृषि उत्पादनका दृष्टिले पर्वत जिल्लाकै महत्वपूर्ण क्षेत्र हो । यो पालिका राजनीतिक विभाजन अनुसार पर्वत जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पर्छ । यहाँ साना उद्योग, वन पैदावारको राम्रो सम्भावना छ । प्राकृतिक सौन्दर्यले पर्यटकीय गन्तव्यका रूपमा यो नगरपालिका प्रसिद्ध छ । फलेवास नगरपालिकाका नगर प्रमुख गङ्गाधर तिवारीसँग गोरखापत्र दैनिकका पत्रकार प्रनिश गिरीले गर्नुभएको कुराकानी :
नगरपालिका प्रमुखमा निर्वाचित भएर काम गरिरहँदा कस्तो अनुभव भएको छ ?
नगरपालिकाको प्रमुख भएर काम गर्दा निकै चुनौतीको सामना गर्नु पर्दछ । एक वर्षमा धेरै काम गर्न सफल भयौँ । नगरका गौरवका योजना कालीगण्डकी हाइटेन्सन लाइन, प्रशासकीय भवन, नगर अस्पताल, मनमोहन वाटिका, लमाय लिफ्ट सिञ्चाइ योजना हुन् । निकै चुनौतीका साथ योजना अगाडि बढायौँ । निरन्तरको प्रयासले अहिले ती योजना सञ्चालन भएका छन् । हामीले चुनावमा प्रतिबद्धता गरेका नगरमा गर्नुपर्ने विकास निर्माणका काम सँगसँगै लैजानुपर्ने परिस्थिति छँदै छ । जसले गर्दा हामी यस नगरमा बाटोघाटो, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता विकास निर्माणका कामतर्फ अग्रसर छौँ । हामीले अहिलेसम्म तीन सयभन्दा धेरै योजना नगरमा सञ्चालनमा ल्याएका छौँ ।
फलेवास नगरपालिकाको नगर सभा समयमा सम्पन्न हुन सकेन नि ?
फलेवास नगरपालिका आफैँमा एउटा स्वचालित नगरपालिका हो । धेरै कारणले गर्दा हामी नगर सभाको विभिन्न विषयमा छलफल गर्नुपर्ने परिस्थितिमा थियौँ । जसले गर्दा नगरमा बहुमत र अल्पमतको परिकल्पना नगरिए पनि नगरवासीले दिनुभएको मताधिकार हेर्दा परिस्थिति भिन्न रह्यो । नगरवासीको साझा एजेन्डामा जानु हामी सबैको बाध्यात्मक स्थिति थियो । यिनै छलफलका विषयले गर्दा केही समय नगर सभा पछाडि सर्न गयो । जुन विषयमा म धेरै संवेदनशील छु ।
नगरको शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्न विशेष योजना छन् ?
हामीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । शिक्षा क्षेत्र सुधारका लागि नवीन र स्थानीय पाठ्यक्रम योजना, शिक्षक तालिम, कक्षा १, ३, ५ र ८ को प्रयोगात्मक परीक्षा, विद्यालय अनुगमन जस्ता विषयलाई समयसापेक्ष सुधार गरी अगाडि बढ्ने कार्ययोजना बनाएका छौँ । हामीले यो वर्ष पनि सङ्घ सरकारले कटौती गरेको कक्षा ६ को दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएका छौँ । नेपाली भाषासँगै प्रारम्भिक कक्षादेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरिएको छ । सङ्घ र प्रदेश सरकारसँग सहकार्य गर्दै विद्यालयको पूर्वाधार सुधारका लागि पहल गरेका छौँ । त्यस्तै स्वास्थ्य क्षेत्र विकासका लागि पनि हामी निरन्तर लागिरहेका छौँ । नगर अस्पताल तथा स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवाको गुणस्तर वृिद्ध गर्नेमा ध्यान गएको छ । नगरमा तीन वटा एम्बुलेन्सबाट सेवा शुभारम्भको तयारी गरिरहेका छौँ । स्वास्थ्यकर्मीका लागि तालिमको योजना छ ।
आन्तरिक सुशासनका लागि पहल भएको छ ?
हामीले नगरमा गरेका काम पारदर्शी, गुणस्तरयुक्त, जनचाहना अनुसार छन् । नगरमा हुने हरेक गतिविधि स्वच्छ तवरले भएका छन् । मुस्कानसहितको सेवा, छिटोछरितो काम गर्ने पद्धतिको विकासमा हामी छौँ । यसका लागि आर्थिक पारदर्शीता, सूचनाको हक कायम भएको छ ।
समस्या के कस्ता छन् ?
फलेवास नगरपालिका ग्रामीणस्तरको नगरपालिका भएकाले यहाँका समस्या विशेष गरी विकास निर्माणसम्बन्धी धेरै छन् । विकास निर्माणमा नगरवासीको जनचाहना पनि धेरै छ । सरकारले स्थानीय तहलाई सिंहदरबार भने पनि सङ्घ र प्रदेश सरकारका कार्यालय जिल्लामा छन् । सोही कारणले नगरमा पर्याप्त बजेट आउन सकेको छैन । जसले गर्दा नगरका हरेक विकास निर्माणका काम चुनौतीका रूपमा रहेको अनुभव गरेका छौँ । नगरमा हुनुपर्ने न्यूनतम पूर्वाधारसमेत निर्माण हुन सकेका छैनन् । नगरको कार्यालय पुग्ने सडकसमेत कालोपत्रे हुन नसक्दा वर्षायाममा सवारीसाधन नगरमा पु¥याउनै समस्या छ । हामीले सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने, हरेक नागरिकका घर घरमा खानेपानी पु¥याउने, खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने हाम्रा लागि मुख्य समस्याका विषय हुन् । सीमित स्रोतसाधन भए पनि नगरवासीका असीमित आवश्यकता पूरा गर्नुपर्ने बाध्यता छ ।
चालु आर्थिक वर्षका उल्लेखनीय योजना र कार्यक्रम के के छन् ?
नगरका मुख्य सडकलाई स्तर वृद्धि गर्दै सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रेलाई प्राथमिकतामा राखेका छौँ । यो वर्ष पनि हामीले प्रदेश सरकारसँगको सहकार्यमा झन्डै चार दर्जन सडक स्तर वृद्धिको योजनामा पारेका छौँ । नगरभित्र पर्यटन पूर्वाधारतर्फ झन्डै डेढ दर्जन योजना छन् । खानेपानीतर्फ झन्डै दुई दर्जन योजना यो वर्ष सञ्चालन हुने गरी काम गरिरहेका छौँ । पहिरो नियन्त्रणतर्फ एक दर्जनभन्दा बढी योजना छन् । विपन्न नागरिक आवासतर्फ सङ्घ सरकारसँगको सहकार्यमा काम अघि बढाइएको छ । सङ्घ सरकारले कटौती गरेको कक्षा ६ को दिवा खाजा कार्यक्रमलाई नगरको आफ्नै स्रोतबाट निरन्तरता दिइएको छ । विद्यालयको दिवा खाजामा स्थानीय परिकारलाई प्राथमिकतामा राखेका छौँ । नगरमा सामाजिक सङ्ग्रहालय, स्थानीय पाठ्यक्रममा स्थानीय सिपको सिकाइ, सिप बैङ्क स्थापनालगायतलाई प्राथमिकतामा राखेका छौँ । साथमा अन्य थुप्रै्र योजना हामीले ल्याएका छौँ । बजेटको सीमितताका कारण प्राथमिकताका आधारमा सम्बोधन गर्दै जाने गरी हामी लागिपरेका छौँ ।
नगरको आन्तरिक आय वृद्धिका लागि पनि काम भएको छ ?
नगरको आन्तरिक आय वृद्धिका लागि मुख्य गरी कृषि, तरकारी तथा फलफूल खेती, पशुपालन र पर्यटकीय विकासमा ध्यान दिइएको छ । वन पैदावरको उचित प्रयोग र प्रवर्धनका कुरा पनि भएका छन् । प्रदेश र सङ्घीय सरकारँंग सहकार्य गर्ने गरी स्थानीय मदिराको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा समावेश गरेका छौँ । त्यसका लागि उत्पादनका आधारमा अनुदान, सिँचाइ, खानेपानीलगायतमा लगानी वृद्धि गर्दै लगिएको छ ।
प्रदेश र सङ्घसँगको सहकार्य कस्तो छ ?
स्थानीय तहमा बजेट अभावका कारणले विकास निर्माणको काम हुन सकेको छैन । त्यसैले सङ्घ र प्रदेश सरकारमा धाउनुपर्ने बाध्यात्मक परिस्थिति छ । सहकार्य हुनु पर्छ, छ तर पर्याप्त छैन । जसको निराकरण जरुरी छ । सङ्घ, प्रदेश र स्थानीय तहको सरकारको लिने नीति प्रस्ट हुनु पर्छ । विदेश पलायन भएको दक्ष र उत्पादनमूलक युवालाई स्वदेशमै राष्ट्र विकासमा लगाउन सबै तहका सरकारको सहकार्य आवश्यक छ ।