• २८ पुस २०८१, आइतबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

blog

शशिधर पराजुली
विराटनगर, कात्तिक १ गते ।
 कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम ४७ जना सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीको समर्थनसहित विश्वासको मत पाउनुभएको हो ।

मुख्यमन्त्रीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा पाँच मत परेको थियो । मुख्यमन्त्री कार्कीको प्रस्तावको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच जना सांसदले मतदान गर्नुभयो । बुधबारको बैठकमा उपसभामुख बाहेक ९१ सांसद उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद अनुपस्थित रहनुभएको थियो ।

बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नुहुँदै मुख्यमन्त्री कार्कीले प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोकेर स्थिर सरकार बनाउन नयाँ परिस्थितिबाट मुख्यमन्त्री बन्नुपरेको बताउनुभयो । विकास र सुशासनसहित प्रदेशमा स्थिर सरकार दिनका लागि सबै दलहरूका सांसदहरुबाट आफूले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।


विपक्षमा मतदान गर्ने र गुणदोषका आधारमा समर्थन र विरोध गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको धारणाप्रति टिप्पणी गर्नुहुँदै मुख्यमन्त्री कार्कीले विश्वासको मत दिएर पनि प्रतिपक्षमा रहन सकिने भएकोले विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीले सरकारको कामकारबाहीलाई निरन्तर निगरानी गर्न, खबरदारी गर्न, सरकार र मुख्यमन्त्रीको निर्भीकतापूर्वक आलोचना गर्न र सरकारलाई सही मार्गदर्शन गर्न आग्रह गर्नुभयो । उहाँले निरन्तर निगरानी र खबरदारीबाट सरकारले बाटो बिराउन नपाउने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्रीको प्रस्तावमाथिको छलफलमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सभामा अनेक कमजोरी भएको बताउनुभयो । ‘‘एउटा कमजोरी लुकाउन अनेक कमजोरी भए । संविधान मिच्न अनेक काम गर्दै गयौँ,’’ उहाँले भन्नुभयो, ‘‘हामी आफैँले संविधानको व्याख्या गर्न थालेपछि समस्या भयो ।’’ अहिलेको परिस्थिति आउनुमा गठबन्धन नै जिम्मेवार रहेको उहाँको टिप्पणी थियो ।

पूर्वमुख्यमन्त्री कार्कीले संविधानको धाराहरू प्रयोग गर्दैजाँदा कहाँ पुग्छौँ भन्ने हेक्का नराख्दा वर्तमान अवस्था आइपरेको भन्दै नेकपा एमालेको सहयोगमा कांग्रेस नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा कांग्रेस विभाजनमा जान नहुने बरु कांग्रेस र एमाले मिलेर राजनीतिक निकास निकाल्न तयार हुनुपर्ने बताउनुभयो । गठबन्धनले अमुक नेतालाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि आफूहरू रन्थनिएको र विक्षिप्त भएको भन्दै त्यसै कारण केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको भनाइ थियो ।

बैठकमा बोल्नुहुँदै नेपाली काँग्रेसका निवर्तमान संसदीय दलका नेता उद्धव थापाले पार्टीमा विद्रोह गरेर, पार्टी निर्णयविपरीत अगाडि बढेर भए पनि नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भइसकेपछि काँग्रेसका आठ सांसदसँग गला मिलाएको बताउनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद दुर्गाप्रसाद चापागाईँ, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई र जनता समाजवादी पार्टीका नेता निर्मला तावा लिम्बूले बोल्नुभयो । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।