काठमाडौं, कात्तिक १ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिकले आज शिष्टाचार भेट गर्नुभएको छ ।
निर्वाचन आयोग र युरोपियन युनियनबिचमा विगत दुई दशकयता भएका कार्यगत सम्बन्धहरूको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा प्रमुख निर्वाचन आयुक्त र राजदूतबिच छलफल भयो ।
छलफलमा निर्वाचन व्यवस्थापन प्रक्रियाको समग्र सुधारको निम्ति आयोगले तयार गरेको कार्ययोजनाका बारेमा अवगत गराइयो ।
उक्त व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको राजदूत व्यक्त गर्नुभयो ।
उक्त भेटमा निर्वाचन आयोगको सचिवालयका कर्मचारीहरू सहसचिव रमेश ढकाल, उपसचिव डा.थानेश्वर भुसाल,शाखा अधिकृत श्रवणकुमार लुइँटेल तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि विजयराज तुण्डकार समेतको सहभागिता रहेको जानकारी आयोगका उपसचिव श्रीधर पन्थीले दिनुभयो ।