काठमाडौं, असोज ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली रहेको बताउनुभएको छ । मङ्गलबार गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवम् ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘नेपाल र नेपालीको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली सङ्घले विगतदेखि नै भूमिका खेल्दै आएको छ र आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्नेछ भन्ने मेरो विश्वास छ । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो ।’’
राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपश्चात् देश आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउनुभएको छ । तर सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु पनि देखापरेको उहाँको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले एघारौं गैरआवासीय नेपाली विश्वसम्मेलनको समुद्घाटन समारोहमा दिनुभएको मन्तव्यको पूर्णपाठ
“नेपालीका लागि नेपाली” भन्ने मूल नारा तथा “ज्ञान र रुपान्तरणः समृद्धिको आधार” भन्ने विषयमा केन्द्रित भई आयोजना गरिएको एघारौं गैरआवासीय नेपाली विश्वसम्मेलनको उदघाट्न गर्न पाउँदा खुसी लागेको छ ।
मलाई आमन्त्रण गरेर आफ्ना कुरा राख्ने अवसर दिनुभएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु ।
नेपाल र नेपालीको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कार्यमा ठोस योगदान गर्न र विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली संघले विगतदेखि नै भूमिका खेल्दै आएको छ र आगामी दिनमा समेत नेपालको समग्र विकासमा यसले थप भूमिका निर्वाह गर्नेछ भन्ने मेरो विश्वास छ । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो ।
शान्त, समृद्ध र समुन्नत नेपाल हेर्न र अनुभूत गर्न चाहनुहुन्छ भन्ने तपाईहरूको व्यवहार र अभिव्यक्तिले स्पष्ट पारेको छ । यही आत्मीयताले देशभित्र र बाहिर बस्ने नेपालीलाई एकताबद्ध गरेको छ भन्ने पनि मलाई लाग्छ । यही पृष्ठभूमिमा आयोजित यो सम्मेलनमा तपाईहरूद्वारा प्रस्तावित छलफलका विषय र उद्देश्यहरू हामी सबैका लागि सान्दर्भिक ठानेको छु ।
राजनीतिक परिवर्तनपश्चात् देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । तर, सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु पनि देखापरेका छन् ।
यी चुनौतीको जराबारे मैले सधैँ भन्ने गरेको कुरा तपाइँहरू समक्ष पनि उल्लेख गर्न चाहन्छुः “हामीले राज्यको प्रशासनिक पुनःसंरचना त गर्यौं, तर राज्यको चरित्र र जीवन पद्धतिको पुनःसंरचना अझै हुन बाँकी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शन छन् । जबसम्म ती मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई हामी आत्मसात् गर्न सक्दैनौ तबसम्म ती चुनौतीको सामना गर्न सक्दैनौं ।
म तपाइँहरूलाई नेपालको आर्थिक सम्भावना र तपाइँहरूको सहभागिता सम्बन्धमा केही भन्न चाहन्छु । हामी सबैलाई थाहै भएको कुरा हो कि एकातर्फ नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसङ्ख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् ।
यसबीच नेपालको आन्तरिक उपभोगका साथै क्रयशक्ति समेत दिनानुदिन बढिरहेकै छ । यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगीकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित भएको छ । यसका लागि बहुपक्षीय साझेदारी अत्यावश्यक तत्व हो । त्यसमा तपाईंहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी सावित हुन सक्छ । विगतमा तपाईहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र सङ्गठित रूपमा गर्दै आउनुभएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको छ ।
यस अवसरमा म वैदेशिक रोजगारीको क्रममा विदेशमा रहनुभएका युवाहरूलाई पनि सम्झन चाहन्छु, जसको पसिनाले पठाएको विप्रेषण (आय)ले अहिले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको छ । भुक्तानी सन्तुलनलाई नेपालको पक्षमा राख्न तथा आन्तरिक आवश्यकता पूरा गर्न तपाइँहरूको आय निःसन्देह नै सहयोगी भएको छ ।
नेपालको लगानीको अपार सम्भावनाको सदुपयोग गर्नुहोस् र तपाईंहरू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु । नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ । नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन । त्यसैले नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन तपाईंहरूको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय छ ।
दाजुभाइ तथा दिदीबहिनीहरू,
तपाईंहरुप्रति नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाहरूको तर्जुमा गरेको छ । हालैको नागरिकता विधेयक त्यसमध्येको एक हो । नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट तपाईंहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ ।
नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाको दृष्टिकोणबाट पनि वैभवशाली मुलुक हो । यहाँको जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक विविधता विश्वकै लागि अनुपम छन् । प्रकृति र संस्कृतिको यो अनुपम सङ्गमलाई जोगाउँदै देश र जनताको हित प्रवद्र्धन गर्दै विश्व समुदायमा नेपाल र नेपालीको विशिष्ट पहिचान गराउनु हामी सबैको राष्ट्रिय कर्तव्य हो ।
मेरा भनाइहरूलाई टुङ्ग्याउने क्रममा तपाईहरुको दुई महत्वपूर्ण विषयहरूप्रति ध्यानाकर्षण गराउन चाहन्छु । पहिलो, नेपाल बाहिर रहेर जीवनयापन गर्दै गर्दा आफ्ना सन्तानहरूले आफ्नो भाषा, संस्कृति भुल्ने सम्भावना रहने हुँदा त्यसप्रति तपाईहरू सचेत हुनुपर्दछ । नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्न र समाजसित अटुट निकटता राख्न नयाँ पुस्तालाई समय समयमा नेपाल ल्याउने यहाँको संस्कृति, सामाजिक परिवेश तथा भूगोलसँग परिचित गराइरहनुहोला ।
दोस्रो, नेपालको प्राकृतिक सुन्दरता र दुर्लभ स्रोतहरूको सम्बन्धमा हो । नेपालमा विश्वप्रसिद्ध सगरमाथालगायत अग्ला र रमणीय पहाडहरु मात्रै छैनन्, एकातिर यहाँ दुर्लभ जैविक विविधता पाइन्छ भने अर्कोतर्फ हिउँले भरिएको पहाडहरू पिउने पानीको मुहानको रुपमा परिचित रहेका छन् । तर, दुर्भाग्यवश विश्वव्यापी जलवायु परिवर्तनको दुष्प्रभावले गर्दा हाम्रा मूल्यवान् प्राकृतिक स्रोतहरू सङ्कटमा पर्न थालेका छन् ।
आजको हाम्रो चुनौती कसरी जैविक विविधता पर्यावरणलाई सुरक्षित राख्न सकिन्छ भन्ने पनि हो । तसर्थ, यी क्षेत्रहरुमा पनि गैर आवासीय नेपालीले आफ्नो योगदान कसरी पुर्याउन सक्छ त्यो मेरो पनि चासोको विषय हो ।
साथै, नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल एवम् नेपाली राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रुपमा विकसित गर्ने एउटा योजनातर्फ पनि म तपाईहरुको ध्यान आकर्षित गर्न चाहन्छु ।
अन्त्यमा, “एघारौं गैरआवासीय नेपाली विश्व सम्मेलन, ज्ञान सम्मेलन र युवा तथा महिला सम्मेलनले तपाईंहरूको एकता र सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनेछ, नेपालसँगको सम्बन्ध अझ विस्तार गर्नेछ, नेपालको विकास र समृद्धिको बाटोमा तपाईहरूको रणनीतिक सझेदारीलाई थप स्पष्ट र विस्तारित गराउनेछ भन्ने विश्वास गर्दै यस विश्व सम्मेलनको उपलब्धिपूर्ण सफलताको कामना गर्दछु ।