• ९ मंसिर २०८१, आइतबार

पर्यटनमा जागेको आशा

blog

निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका छन् । एसिया, युरोप, अमेरिका र अफ्रिकाका कतिपय मुलुकमा कोभिड–१९ को फलस्वरूप अधोगतितर्फ अघि बढिरहेको पर्यटन उद्योग सन् २०२३ को आरम्भसँगै महामारीपूर्वको स्थितिमा फर्कन अग्रसर छ । विश्व पर्यटन बजारका परम्परागत र नवोदित गन्तव्यमा पर्यटक आगमन उत्साहजनक रूपमा बढ्दै गएकाले विश्व पर्यटन सन् २०२४ को अन्त्यसम्म चार वर्षअघिको स्थितिमा फर्किन सक्ने आकलन विश्लेषकहरूको छ । 

दक्षिण एसियाली मुलुक नेपालसमेत यसको अपवाद छैन । चालु वर्ष सन् २०२३ को जनवरी–सेप्टेम्बर नौ महिनाको अवधिमा करिब छ लाख ९२ हजार पर्यटकले नेपाल भ्रमण गरेकाले कोभिड महामारीअघिको तुलनामा नेपाली पर्यटन ९८ प्रतिशत हाराहारीमा पुनरुत्थान भएको पुष्टि भएको छ । महामारीअघि सन् २०१९ को नौ महिनामा नेपालमा पर्यटक आगमन आठ लाख ३२ हजार रहेकोमा यस वर्षको आगमन उत्साहप्रद रहे पनि पर्यटन व्यवसायी अझै पूर्णतः हौसिएका छैनन् । यद्यपि प्रत्येक महिना हवाई मार्गबाट आगमन गर्ने पर्यटक सङ्ख्या वृद्धि भएकोमा उत्साह देखिएको छ । 

देशका सरकारी निकायहरूले सन् २०२३ मा देशमा पर्यटक आगमन १० लाख पुग्ने विश्वास गरेका छन् । यस वर्ष पर्यटक आगमनका मुख्य स्रोत मुलुकमा भारत अग्रपङ्क्तिमा रहे पनि अर्को मुख्य स्रोत चीनबाट पर्यटक आगमन उत्साहजनक छैन । सेप्टेम्बरमा २८ हजार सात सय भारतीय तथा आठ हजार १७४ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अन्य प्रमुख परम्परागत स्रोत मुलुकहरूमा संयुक्त राज्य अमेरिका, बङ्गलादेश, अस्ट्रेलिया, बेलायत, श्रीलङ्का र जर्मनीलगायतका पर्यटक छन् ।  

विश्वका परम्परागत पर्यटन बजारबाट नेपालले पर्यटकलाई आतिथ्य प्रदान गर्न सन् १९९८ मा नेपाल भ्रमण वर्षलगायत सन् २००० र २०१० को दशकका अवधिमा अनेकन अभियान सञ्चालन गरे पनि लक्षित उपलब्धि हासिल हुन सकेको छैन । नेपाल विश्व पर्यटकका लागि खुला गरिएपछि सात दशकका अवधिमा सन् २०१९ मा सबैभन्दा बढी अर्थात् ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क छ । कोभिड महामारीको क्रमिक नियन्त्रण, कतिपय राष्ट्रमा बन्द गरिएका सीमा खुला गरिएका र पर्यटन उद्योगलाई विश्वव्यापी रूपमा पुनर्जीवित पार्न चालिएका कदमको फलतः नेपाललगायतका राष्ट्रहरू लाभान्वित हुन थालेकाले यो वर्ष देशमा १० लाख पर्यटक भित्रिने आशा बढेको छ । यद्यपि निजी क्षेत्रका व्यवसायीहरू यसप्रति पूर्णतः विश्वस्त हुन सकेका छैनन् । 

अर्थतन्त्रमा पर्यटन उद्योगको महत्वलाई दृष्टिगत गरी देशलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन गर्न, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास विस्तार, नयाँ गन्तव्यको पहिचान र प्रवर्धन, सुरक्षित र गुणस्तरीय हवाई सेवा, नेपालको प्रचारप्रसारलगायतका कतिपय योजना र कार्यक्रम सार्वजनिक हुने क्रमले वर्षौंदेखि निरन्तरता पाएको छ तर कार्यान्वयनको अभावमा यी उद्देश्यमा देशले अपेक्षाकृत फड्को मार्न सकेको छैन । 

सरकारले यस वर्षको कार्यक्रम र बजेट वक्तव्यमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटक सङ्ख्या १० लाख पु¥याउने लक्ष्यका साथ सन् २०२३–२०३२ अवधिलाई पर्यटन दशकका रूपमा मनाउने घोषणा सार्वजनिक त ग¥यो तर कार्ययोजनाको अभावमा अहिले यो घोषणामा मात्र सीमित हुने त होइन भन्ने आशङ्का बढेको छ । पर्यटन दशकको पहिलो वर्ष अन्त्य हुने अवधिसम्म यसको रूपरेखा सार्वजनिक हुन नसक्दा पर्यटन उद्योगमा अपार लगानी गरी हजारौँलाई रोजगारी उपलब्ध गराइरहेका निजी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित हुन नसकेको यथार्थलाई स्वीकार गर्नै पर्दछ । 

विश्व पर्यटन क्षितिजमा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न नवीन अवधारणाहरूको अध्ययन अनुसन्धान गर्ने क्रम केही समययता व्यापक पारिएको छ । नेपालको परिप्रेक्ष्यमा पर्यटक सङ्ख्या मात्र बढाउने कि पर्यटक आगमनको गुणात्मक विकास गर्नेमा सम्बद्ध निकायहरू स्पष्ट छैनन् । महामारी पूर्व र पछि अधिकांश देशले थला परेको पर्यटनलाई पुनर्जीवित पार्न नयाँ रणनीति अवलम्बन गरी कार्ययोजना कार्यान्वयन तीव्र पारेका स्थितिमा नेपाल यस उद्देश्यमा अघि बढ्न सकेको छैन । पर्यटन दशक ( २०२३–२०३२) मनाउने घोषणापछि विश्वका विभिन्न मुलुकबाट यथाशक्य बढी पर्यटक भित्र्याउन अनेकन सुविधा दिनुपर्नेमा त्यसविपरीत कार्यले पर्यटन क्षेत्रले फड्को मार्न सक्दैन । 

नेपाल पर्यटन बोर्डले उठाउँदै आएको पर्यटक सेवा शुल्क तथा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बाट सङ्कलित रकम पारदर्शी नभएको र त्यसमा अनियमितता कायम रहेको गुनासो अद्यापि अन्त्य हुन सकेको छैन । पर्यटकलाई आकर्षित गर्न आर्थिक राहतका कार्यक्रम अघि सार्नुपर्नेमा यस आर्थिक वर्षदेखि पर्यटन क्षेत्रमा करको दर वृद्धि गरिएकाले यसबाट देशको पर्यटन उद्योगमा नकारात्मक असर परेको मात्र होइन, नेपाल अत्यन्त खर्चिलो गन्तव्यका रूपमा विश्व पर्यटन बजारमा चित्रित छ । 

‘आउटबाउन्ड टुर प्याकेज’ मा ५ प्रतिशत कर, हवाई टिकटको कुल मूल्यमा १३ प्रतिशत तथा पाँच तारे र लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाउने व्यवस्थाले पर्यटक आगमनमा नकारात्मक असर पर्नेमा निजी क्षेत्रका पर्यटन व्यवसायीका प्रतिनिधिमूलक छाता सङ्गठनहरूको समान चासो छँदै छ । 

नेपालमा हवाई सेवा सञ्चालन गर्ने विमान कम्पनीहरूको विभिन्न गन्तव्यमा भाडादर मनपर्दी, अपारदर्शी र उच्च भएकाले नेपाल अत्यन्त महँगो गन्तव्य बन्दै गएको स्थितिमा नयाँ कर व्यवस्था रद्द गर्न सरकारी अग्रसरता आवश्यक छ । पर्यटकलाई ‘सुनको फुल पार्ने कुखुरी’ का रूपमा मात्र हेर्ने मानसिकता अन्त्य गरी गुणस्तरयुक्त सुविधा र पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गर्न सकिएमा मात्र पर्यटन दशकले लिएको लक्ष्य सन् २०२५ लाई भ्रमण वर्ष मनाउने उद्देश्य सार्थक पार्न टेवा पुग्ने छ । सन् २०२२ मा पर्यटकको औसत बसाईमा तुलनात्मक रूपमा कमी आई १३.१ दिन रहेको तथा प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको स्थितिमा पनि दिन र खर्च विस्तारनिम्ति समेत नयाँ कर व्यवस्था अन्त्य गरिनुपर्ने व्यवसायीको माग रहिआएको छ । 

एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरूमा अत्यन्त आकर्षक गन्तव्य प्रमाणित थाइल्यान्डले यस वर्ष करिब तीन करोड अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्ने लक्ष्य राखेको छ । सन् २०२३ को पहिलो सात महिनामा एक करोड ५३ लाखभन्दा पनि बढी पर्यटकलाई आतिथ्य प्रदान गरिसकेकोसमेत छ । थाइल्यान्डले त्यसनिम्ति अन्तर्राष्ट्रिय प्रवर्धन र पूर्वाधारको व्यापक विकास विस्तार मात्र होइन, थाइल्यान्डको भूमि टेक्ने प्रत्येक विदेशी पर्यटकको भ्रमण सस्तो, गुणस्तरयुक्त र सुरक्षित पार्न योजनाबद्ध रूपमा कार्यव्रmम कार्यान्वयन गर्दै अघि बढेको छ । पर्यटन उद्योगको विकास विस्तार नीति, वक्तव्य र ओठे भक्तिबाट मात्र सम्भव छैन भन्ने शिक्षा थाई पर्यटनको सफलताबाट लिनु जरुरी छ । 

दक्षिण एसियाको अर्को छिमेकी राष्ट्र भुटानले पनि यथासक्य बढी पर्यटकलाई भुटान भ्रमणमा आकर्षित गर्न दुई महिनाअघि मात्र प्रत्येक पर्यटकबाट प्रतिदिन ‘दिगो विकास शुल्क’ का नाममा सङ्कलन गर्दै आएको २०० अमेरिकी डलर शुल्क आधा घटाएर १०० डलर प्रतिदिन निर्धारण गरेको छ । भुटान पर्यटक सङ्ख्या वृद्धि मात्र चाहँदैन, गुणात्मक पर्यटन विकास, पर्यावरण संरक्षण तथा पर्या–पर्यटनप्रति कटिबद्ध छ । भुटानलगायत सार्क क्षेत्रका अन्य मुलुक तथा एसिया–प्रशान्त क्षेत्रका प्रायः सबै गन्तव्यले महामारीपछि पर्यटन पुनरुत्थानका दिशामा व्यावहारिक र पर्यटकमैत्री नीति र कार्यक्रम कार्यान्वयन गरी अघि बढिरहेको सन्दर्भमा नेपालले समेत निजी क्षेत्रका व्यवसायीलाई साथमा लिई व्यावहारिक कार्ययोजना सार्वजनिक गरेर अघि बढ्नु आवश्यक छ । 

पर्यटन क्षेत्रमा गुरुयोजना, नीति र कार्यक्रम अघि सार्ने तर कार्यान्वयन नगर्ने मानसिकता र सङ्कुचित सोचाइले मात्र पर्यटन क्षेत्रको विकास हुन सक्दैन । नेपालको सन्दर्भमा साहसिक पर्यटनको गन्तव्यका रूपमा देशलाई पुनस्र्थापित गर्न विद्यमान पर्यटन नीतिमा समेत समयसापेक्ष सुधार आवश्यक छ । कुनै अध्ययन–अनुसन्धानबिना सरकारी निकायका जिम्मेवार पदाधिकारीले प्रत्येक वर्ष ३५ लाख पर्यटक भिœयाउने अभिव्यक्ति दिएर मात्र हुँदैन । पर्यटन बोर्डलाई राजनीतिबाट पृथक् राखी निजी क्षेत्रलाई समेत साथमा लिएर हातेमालो गर्दै अघि बढ्न सकेमा मात्र देशले पर्यटन क्षेत्रबाट आशातीत सफलता प्राप्त गर्नसक्ने छ ।   

Author

रमेश तिवारी