• ९ मंसिर २०८१, आइतबार

अर्थतन्त्रमा दसैँको योगदान

blog

घरआँगनमा दसैँ भित्रिसकेको छ । चर्चा पनि दसैँकै छ, कहाँ घुम्न जाने, के गर्ने, अनि बिदा कसरी बिताउने ? सबैमा एउटा विषय साझा हुन्छ– खुसीयाली । मालश्रीको धुनसँगै रेडियो र टेलिभिजनहरूले पनि दसैँसँग सम्बन्धित कार्यक्रम प्रसारण गरिरहेका छन् । प्रवासमा समेत नेपालीहरू भेला भएर ज्येष्ठ व्यक्तिबाट टीका लगाएका प्रसङ्ग हामी देख्छौँ, सुन्छौँ । दसैँको मौलिकता भनेकै भेटघाटसहितको उमङ्ग हो, पुनर्मिलन हो अनि उत्साह हो । 

दसैँको समयमा न जाडो न गर्मी हुन्छ । बाली हुर्कंदै गरेको हुन्छ । थन्क्याउने बेला पनि भएको हुँदैन । वातावरण पनि मनोरम हुन्छ । शरद् ऋतुले सफा आकाश र हरियालीयुक्त धर्तीसँगै सबैका मनमा उमङ्ग भरेको हुन्छ । 

दसैँको बेला बजारमा विभिन्न कम्पनीले आफ्ना उत्पादन बजारमा ल्याउँछन् । साहित्यकार तथा लेखकहरूले नयाँ पुस्तक प्रकाशन गर्छन् । चलचित्र निर्माताहरूले नयाँ चलचित्र प्रदर्शनीमा ल्याउँछन् । त्यति मात्र होइन, दसैँको बेला लुगाफाटो किन्ने, अलि मिठो मसिनो खाने र आफन्त भेट्न जाने जस्ता क्रियाकलापले पनि बजारलाई चलायमान बनाउँछ । यस्तो परिवेशले दसैँमा रमाइलो थप्छ । सरकारकोतर्फबाट सुपथ मूल्य पसल खोल्ने तथा बजारमा महँगी बढ्न नदिन अनुगमनलाई बढाउने तथा संस्थानहरूबाट उपभोग्य वस्तु बिक्रीलाई विशेष महत्व दिने जस्ता काम हुन्छन् । आवतजावतका लागि यातायातका साधनहरू जहाज, बस, मिनीबस तथा माइक्रोबसको अग्रिम टिकटको व्यवस्थासहित सुरक्षा सतर्कता बढाइन्छ । सार्वजनिक र निजी क्षेत्रमा कार्यरत कर्मचारीहरूको तलबमा एक महिनाको थप दिने चलन छ । पारिवारिक खाँचोलाई समेत रोजगारदाताहरू संवेदनशील भएर हेर्छन् । घर छाडेर देशभित्र वा बाहिर रोजगारीमा रहेकाहरू मिलेसम्म आफैँ आउँछन् नभए धेरथोर पैसा वा सामान पठाउँछन् । यसरी हेर्दा चाडबाड मनाउँदै गरेको कुनै पनि परिवारको आर्थिक अवस्था दसैँको बेला प्राप्त गर्ने र खर्च गर्ने दुवै उच्च हुन्छ । बचत गरेको रकम पनि खर्च हुन्छ । पालेर राखेको खसी, बोका, कुखुरा, सुँगुर आदि पनि यही बेला किनबेच हुन्छ । आफूले पालेको गाईवस्तुका लागि खुवाउन घाँससमेत दसैँलाई भनेर जोगाउने चलन गाउँघरतिर छ । आर्थिक अवस्था कामजोर भएका व्यक्तिलाई दसैँका बेला सक्नेले सहयोग गर्ने चलन पनि छ । सहरमा सरसफाइमा संलग्न संस्थाका कर्मचारीले दसैँंलाई भनेर छुट्टै सुविधा पाउँछन् । दसैँलाई भनेर छुटसहित बिक्री हुने अर्को वस्तु हो अटोमोबाइल्स । चाडबाडको समयमा यी वस्तुहरू बिक्री भएको हामीले देखेका छौँ । 

अहिले पारिवारिक स्वामित्वमा रहेका कतिपय जग्गाजमिन बाँझो हुनु भने पक्कै पनि राम्रो होइन । चल सम्पत्तिको आडमा अचल सम्पत्तिलाई अलपत्र पार्नु हँुदैन तर परिस्थिति यस्तो बनेको छ । आम्दानीको दिगोपना तथा हाम्रो पुख्र्यौंली स्थलको पारिस्थितिक प्रणालीको दिगोपनाका लागि पनि सोच्न जरुरी छ । स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रका प्रयोगमा नआएका जग्गाका सम्बन्धमा वैकल्पिक उपाय अवलम्बन गर्नु पर्दछ । केही स्थानमा बाँझो जग्गा आवाद गर्नेलाई प्रोत्साहनको व्यवस्था पनि भएको छ । तथापि एउटै स्थानमा कोही खान नपुग्ने र बेरोजगार हुने तथा नजिकै कसैको घर गोठ खाली हुने तथा जग्गा बाँझो रहने विषयले हाम्रो अर्थतन्त्र सूक्ष्म रूपमा कमजोर र राष्ट्रिय रूपमा सङ्कटका बखत थप सङ्कट थप्न सक्ने अवस्था आउन सक्छ । कमजोर पृष्ठभूमिमा अर्थतन्त्रको समष्टिभन्दा पनि सूक्ष्म पक्षलाई ध्यान दिएर साना साना सुधारको पहल हुन जरुरी छ । 

हाम्रा हरेक स्थानीय तहमा सुन्दर, आफ्नै मान्यता र संस्कृति समेटिएका स्थानहरू छन् । भौगोलिक रूपमा समथर भूभाग, नदीले बनाएकार टापुहरू, टार तथा फाँटहरू, साना मझौला र उच्च पहाडहरू, भन्ज्याङहरू, झरना र ताल एवं पोखरीहरू नभएका स्थान कमै छन् । सके विदेशीहरूलाई पनि र नसके आफ्नै देशका दाजुभाइदिदीबहिनीलाई घुम्न आह्वान गरी बसोबासको प्रबन्धसहितका व्यवस्था भएको प्रचार गरेमा आन्तरिक पर्यटन फस्टाउने देखिन्छ । पर्यटन व्यवसायले धेरै लगानीको माग गर्दैन । स्थानीय मौलिक खाना र संस्कृतिलाई राम्रोसँग देखाउन सक्नु पर्दछ । यसका लागि स्थानीय तहले तालिम दिनु र युवालाई संलग्न गराउनु उपयुक्त हुन्छ । 

स्थानीय तहले गर्न सक्ने अर्को विषय भनेको आफ्नो क्षेत्रमा जन्मे हुर्केर हाल पालिका बाहिर स्वदेशमा वा विदेशमा विभिन्न भूमिकामा रहेका व्यक्तिहरूलाई पहिचान एवं सम्पर्क गरी आमन्त्रण गर्ने, सुझाव लिने, लगानीको सम्भावना सम्बन्धमा संवाद गर्नु पर्छ । कुनै रणनीतिक योजना वा परियोजना वा कुनै सुधारका कार्यक्रम तथा लगानी पनि उनीहरूबाट जुट्न सक्छ । उनीहरूको माध्यमबाट कुनै विकास सहायताकर्ता पनि जोडिन सक्छन् । यसरी हेर्दा दसैँंले सूक्ष्म मात्र होइन कि समष्टि अर्थतन्त्रलाई समेत चलायमान गराउने क्षमता राख्दछ वा भनौँ अवसर सिर्जनासमेत गर्दछ ।

सामाजिक सद्भाव 

‘कसको आदर गर्नु पर्छ कसरी हो मान्य को को जन 

त्यो सारा अब चाहिँदैन कि त झैँ जस्ता हुँदैछन् मन ।

लुप्तप्रायः छ आज मानमनितो गर्ने प्रथाको कथा 

छाडावाद विकास भो पतनले थप्दै छ अन्तव्र्यथा ।’

किरण पुस्तकालय तम्घास, गुल्मीबाट प्रकाशित हाम्रो पुरुषार्थ नामक त्रैमासिक साहित्यिक पत्रिकामा नारद गौतमको कविता ‘खै मौलिकता’बाट यी पङ्क्ति लिइएको हो । समय क्रममा अवश्य पनि हामी हाम्रो कार्यशैली एवं जीवनशैलीमा सुधार गर्दै जानु पर्दछ । हाम्रा सन्तान दरसन्तानले शिक्षार्जन तथा जीविकोपार्जनका लागि गाउँ छाडेर सहर र सहर छाडेर विदेश जाने बाध्यता पनि पर्ला । तर हामीलाई हजारौँ वर्षदेखि विकसित पूर्वीय सभ्यताले सिकाएका आफूभन्दा ज्येष्ठलाई सम्मान गर्ने, घरपरिवार मिलेर बस्ने, सम्भव भएसम्म जन्मस्थान र आफूले पहिलो पटक शिक्षा लिएको विद्यालय पुग्ने, गुरुजन र साथीहरू भेट्ने र सम्भव भएसम्म दुःखमा रहेका वा असहाय व्यक्ति वा परिवारलाई सहयोग गर्ने हाम्रो पुरानो मान्यतालाई मर्न दिनु हुँदैन । यी विषयलाई जगेर्ना गर्नु पर्दछ र मात्र परिवारका सबै सदस्यलाई खुसी मिल्दछ । 

बाह्रवर्षे मेला जस्ता केही अवसरबाहेक धेरै चाडपर्व हरेक वर्ष लगभग उस्तै समयमा आउँछन् । हामीलाई स्मरण गर्न पनि सरल छ । कुनै वर्ष परिवारमा दुःख परेका बखत हामीले अरूबाट सहानुभूति पाउँछौँ । चाडबाड नमनाउँदा शून्यता महसुस हुन्छ नै । कुनै सन्दर्भमा भनेकै वर्ष आफ्नो जन्मस्थान पुग्न नसकिएला पनि तर मौका मिल्नासाथ पुगौँ र आफ्नो स्थानको विकास र रूपान्तरणमा सानो भए पनि सहभागिता जनाउनु श्रेयष्कर हुन्छ । भारी महìवाकाङ्क्षा नराखी सादगी तथा समाज सापेक्ष चिन्तन गरेको खण्डमा सामाजिक सद्भाव तथा पारिवारिक मेलमिलाप कायम राख्न कुनै अप्ठ्यारो पर्दैन । व्यक्तिगत उपलब्धिबाट पनि परिवार, समाज, राष्ट्र र समग्र मानव सभ्यताको सापेक्षतामा अगाडि बढ्न सरल हुन्छ अनि स्वाभाविक हुन्छ । विविधताले सम्पन्न हाम्रो मुलुकमा सांस्कृतिक अवसर र मनाउने तरिकामा समेत भिन्नता छ । ती भिन्नताको सम्मान र स्थान पाउने वातावरण भयो भने सही अर्थमा सामाजिक सद्भाव रहन्छ र दसैँ जस्ता चाडपर्वहरू दिगो रूपमा साझा चाडपर्व बन्न पुग्दछन् । 

निष्कर्ष

सांस्कृतिक अवसर भनेको सबै ठुला र महान् हुन्छन् । पछिल्लो समय त झन् अन्य सम्प्रदाय र जातजातिले मनाउने चाडबाडको सम्मान गर्ने र सहभागी हुने क्रम बढेको छ । बडादसैँकै कुरा गर्दा पनि मनाउने तरिकामा फरक हुन थालेको छ । यति हुँदाहुँदै पनि आफूभन्दा पुरानो पुस्तालाई भेट्ने र ऊर्जा प्राप्त गर्ने यो चाडको केन्द्रीय मर्म भएकाले आफ्नो जन्मस्थान पुग्ने र उत्साह, तथा नयाँपन प्राप्त गर्ने अवसर भने गुमाउनु हुँदैन । स्थानीय क्लबहरूले तथा स्थानीय तहले विभिन्न महोत्सव वा मेला आयोजना गर्न सक्छन् । आफ्नो क्षेत्रमा भएका जग्गाको उत्पादनमूलक प्रयोग तथा पर्यटकीय सम्भावना भएका स्थानको विकास र प्रचारप्रसार पनि काम गर्न सक्छन् । यसले स्थानीय अर्थतन्त्र चलायमान गराउन मद्दत गर्छ । यसले राष्ट्रिय अर्थतन्त्रलाई पनि टेवा दिन्छ । केही न केही सिर्जनशील कामहरू गरेर हाम्रो चाड दसैँ मनाऔँ ।  

Author

नेत्र सुवेदी ‘प्रयास’