• १३ साउन २०८१, आइतबार

दुई सय मेक्ट्रिक्टन बीउ प्रमाणीकरण

blog

बीउ बिजन प्रयोगशाला हेटौँडामा नमुनाका लागि राखिएको बीउ । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, असोज २८ गते । 
बीउबिजन प्रयोगशाला हेटौँडाले दुई सय मेक्ट्रिक्टन बीउ प्रमाणीकरण गरेको छ । गत आर्थिक वर्षमा बागमती प्रदेशका जिल्लाबाट आएका खाद्यान्न, तेलहन र दलहनको बीउ प्रमाणीकरण गरिएको हो ।

चितवन, धादिङ, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुरमा उत्पादन भएको धान, गहुँ, मकै, तोरी, मुसुरो, कोदो, भटमास लगायतको बालीको बीउ बिजन प्रयोगशालाले बीउ सिफारिस र प्रमाणीकरण गर्दै आएको बीउ बिजन प्रयोगशाला हेटौँडाका सूचना अधिकारी सिर्मला योन्जनले बताउनुभयो ।

उहाँले उमार शक्ति, चिस्यान र बीउको शुद्धताको आधारमा प्रमाणीकरण गर्ने गरेको बताउनुभयो । “बाली अनुसार फरक–फरक मापदण्ड हुन्छ, बीउको खडावाली, रोग किरा लागे नलागेको, सम्बन्धित स्थानमा गएर मूल बीउ र प्रमाणिक बीउको नमुना ल्याएर प्रयोगशालामा शुद्धता, उमार शक्ति हेरेपछि मापदण्ड पूरा भएका बीउलाई प्रमाणीकरण गर्ने गरेका छौँ,” उहाँले भन्नुभयो ।

चितवन, मकवानपुर, धादिङ र काभ्रेमा धान, मकै, गहुँ, तरकारी र जै घाँसको बीउविजनमा आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिएको छ । बीउ बजार प्रवर्द्धन तथा सहयोग कार्यक्रम, बीउ स्रोत केन्द्र स्थापना, गुणस्तर नियन्त्रण तथा नियमन गर्ने लगायतका कार्य हेटौँडा कार्यालयले गर्दै आएको छ । प्रदेशमा सबैभन्दा धेरै बीउ विजन उत्पादन गर्ने जिल्ला चितवन रहेको छ भने सबैभन्दा न्यून रसुवा छ ।

बागमती प्रदेशमा मूल/स्रोत बीउ उत्पादनका लागि १६ वटा संस्थाहरूले इजाजत लिई बीउ उत्पादन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्दै आएका छन् । जसमध्य सरकारी, निजी कम्पनी, सहकारी संस्था, कृषि समूह, गैर सरकारी संस्था र विश्वविद्यालयले स्रोत बीउ उत्पादनका लागि इजाजतपत्र लिई कारोबार गरिरहेको बीउ बिजन प्रयोगशाला हेटौँडाले जनाएको छ । प्रदेशको ललितपुरमा तीन, काठमाडौँमा चार, चितवनमा ६ र सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोटमा एक/एक वटा मूल/स्रोत बीउ उत्पादकहरू रहेका छन् ।

त्यस्तै उत्पादित स्रोत बीउको प्रशोधन प्रयोजनका प्रदेशमा २० वटा निजी स्तरका कम्पनीहरू, अनुसन्धान केन्द्र, सरकारी कम्पनी, कृषि समूह, सहकारी, गैर सरकारी तथा विश्वविद्यालयले बीउ प्रशोधनगरी लट नम्बर राखेर बीउको बिक्री वितरण गर्ने गरेको बीउ बिजन प्रयोगशाला हेटौँडाको तथ्याङ्क छ । प्रदेशको चितवनमा १२, ललितपुरमा ३, मकवानपुरमा २ र काठमाडौँ, नुवाकोट र दोलखामा बीउ प्रशोधन कम्पनीहरू रहेका छन् ।

बीउ बिजन ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुसार निजी स्तरमा बीउ परीक्षण गर्ने कार्य सञ्चालनका लागि प्रदेशमा ३ वटा कम्पनीले राष्ट्रिय बीउ विजन समितिबाट प्रयोगशाला सम्बन्धी इजाजत लिई कारोबार गरिरहेका छन् । ललितपुरको वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र

(सिप्रेड), काठमाडौँको सियान सीड सर्भिस सेन्टर र चितवनको भरतपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले बीउविजन प्रयोगशाला सञ्चालन गरिरहेका छन् ।

बागमती प्रदेशमा व्यावसायिक रूपमा मुख्य खाद्यान्न, दलहन, तरकारी बालीको गुणस्तरीय बीउ उत्पादन तथा प्रमाणीकरण हुने गरेको छ । हेटौँडामा रहेको प्रयोगशाला सँगको समन्वयमा नियमित रूपमा बीउ उत्पादन तथा प्रमाणीकरण गर्ने गरिएको छ ।

कृषि उत्पादन वृद्धिको लागि उन्नत जानतको गुणस्तरयुक्त बीउको प्रयोग पूर्व सर्त भएको बताउँदै बीउ बिजन प्रयोगशाला हेटौँडाका सूचना अधिकारी योन्जनले गुणस्तरयुक्त बीउ एक आधारभूत, संवेदनशील सामाग्री भएकाले उत्पादकत्व तथा आर्थिक वृद्धिमा प्रभाव पार्ने बताउनुभयो । नेपालमा २० देखि २५ प्रतिशत उत्पादन वृद्धि गुणस्तरयुक्त बीउको कारणले हुनेगरेको तथ्याङ्क छ । नेपालमा कूल बीउको माग करिब ४५ हजार मेक्ट्रिकटन भए पनि ३८ हजार मेक्ट्रिक्टन मात्रै आपूर्ति भएको देखिन्छ । हाल नेपालमा करिब २२ प्रतिशत बीउ मात्रै औपचारिक क्षेत्रबाट आपूर्ति भइरहेको छ ।