• २० असोज २०८१, आइतबार

ऐतिहासिक रामलिलाको तयारी पूरा

blog

रामलिला मञ्चनस्थलमा निर्माण गरिएको संरचना । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज २७ गते । विगत डेढसय बर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदैआएको रामलिला यसवर्ष पनि भव्य रुपमा आयोजना गरिनेभएको छ । आइतवारबाट सुरु हुने रामलिलाको सबै तयारी पूरा भएको रामलिला सञ्चालक समितिले जनाएको छ । 

रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगन्ज –१३ रामलिला मैदानमा मञ्चन हुँदैआएको रामलिलाको यस पटकको १५६ औं संस्करण मञ्चनको तयारी गरिएको छ । उहाँले रामलिलाको १५३ र १५४ औँ संस्करण कोरोना महामारीका कारण परिवर्तन गरिएको जनाउँदै गत वर्षदेखि पुनः भव्य रुपमा आयोजना गर्न थालिएको बताउनुभयो । 

समितिका अनुसार असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म नेपालगन्जमा रामलिला मञ्चन गरिन्छ ।

रामलिला मञ्चनका लागि भारत वृन्दावनधामका जगदिशप्रसाद शर्मा नेतृत्वको संगितिक कलाकार टोली नेपालगन्ज पुगिसकेको सञ्चालक समितिले जनाएको छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार आइतवार दिउँसो २ बजेदेखि रामलिला मैदानबाट शोभायात्रा निकालिनेछ । 

साँझ ८ वजे नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलिला महोत्सवको उदघाटन गर्नुहुनेछ । रामलिलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुनेगर्छ ।

नेपालगन्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलिलालाई जोगाइ राख्न सहयोग संकलन गरेर पनि रामलिला महोत्सव गर्दैआएको समितिका प्रचारमन्त्री आदित्य गुप्ताले बताउनुभयो ।