• २८ पुस २०८१, आइतबार

सरकारले सहकारीभित्रको समस्या समाधान गर्छ : मन्त्री शर्मा

blog

दाङको गढवा गाउँपालिकामा महलिाउद्यमी सहकारी भेलाको उद्घाटन गर्दै मन्त्री शर्मा । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, असोज २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गरेरै छाड्ने बताउनुभएको छ ।  शनिबार दाङको गढवा गाउँपालिका महिला उद्यमी सहकारी संस्थाको भेलामा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सहकारीको ऋण प्रवाहको झन्झटिलो नीति र ऋणीको प्रष्ट वुझाइको अभावमा सहकारी समस्या पनि बन्दै गइरहेकाले यस्ताखालका समस्या हल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही सहकारीले नमूना काम गरेर वास्तविक रुपमा आर्थिक समृद्धिको काम पनि गरेका छन्, तर केही सहकारी उभोक्तका लागि समस्या बनेका छन्, यस विषयमा सरकारले उचित छानवीन गरेर समस्या हल गर्छ ।’

नेपाल सरकारको प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले सरकारले कार्यदल बनाएर सहकारीको समस्या अध्ययन गरेको र कार्यदलले पनि प्रतिबेदन सरकारलाई बुझाइसकेको अवस्थामा सरकारले अब प्रतिबेदनको अध्ययन गरेर वास्तविक पीडितलाई न्याय दिलाउने र सहकारी संस्थाको हकमा पनि उचित निर्णय दिने बताउनुभयो । 

गढवा गाउँपालिकाद्वारा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशीलता विकास साझेदारी परियोजनाद्वारा प्रवर्धित सहकारीको दोस्रो भेलामा प्रमुख अतिथि शर्माले महिला अब स्वरोजगारमा जोडिन आवश्यक रहेको बताउनुभयो । 

सहकारीलाई माध्यम वनाएर आयआर्जनको काममा सक्रिय हुन समेत उहाँले आग्रह गर्नुभयो । दाङ देउखुरीमा सञ्चार र विधुतको हिसावले पूर्णसेवा गर्ने उद्देश्यसाथ काम भइरहेको स्मरण गराउँदै महिला उद्यमीलाई सञ्चार र प्रविधिसँग जोडिन सहज रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘दाङलाई दूरसञ्चार र बिद्युतीकरणका हिसावले पूर्ण सेवायूक्त जिल्ला घोषण गर्नेगरी काम भइरहेको छ, सञ्चार सेवा पुग्न बाँकी रहेका नेपाल–भारत सिमावर्ती क्षेत्रमा सञ्चार, विधुत विस्तारको काम भइरहेको छ, यस्ले महिला उद्यमलाई सहजता प्रदान गर्छ ।’

दाङको कोइलावास नाका र कालाकाटे सिक्टा हुलाकी सडक खण्डको सञ्चालनपछि देउखुरी क्षेत्रमा विकासमा थप टेवा मिल्ने भन्दै मन्त्री शर्माले कोइलावास नाका सञ्चालनका लागि प्रक्रिया लामो भएकाले समय लागेको बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री इन्द्रजित थारुले भ्रष्टाचारका कारण सरकारसँग साझापूँजिको अभाव भएको भन्दै सरकारले भ्रष्टाचार नियन्त्रण अभियान चालेर साझापुँजि बढाउने काममा लागेको बताउनुभयो । हेफर संस्थाको सहयोगमा दाङमा १४ वटा सहकारीमा करिव १२ हजार सातसय ४२ महिला उद्यमीहरु यस परियोजनामा आवद्ध छन् । 

६ सय ३७ वटा समूह वनाएर त्यही समुहमा आवद्ध महिला उद्यमीलाई पशु र कृषि उद्यममाफर्त उत्पदान बृद्धि, त्यसको वजारीकरणमा सहयोग गर्न सहकारीमार्फत परियोजना सहयोग गर्दै आइरहेको छ । दाङको गढवा गाउँपालिकाले पालिकाभित्र उत्पादन भएको कृषि तथा पशुको वजारीकरणको जिम्मा गाउँपालिकाले ल्याउने गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो ।