वसन्त पराजुली
भरतपुर, असोज २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशमा मुख्यमन्त्री बनाउने सवालमा गठबन्धनबिच देखिएको समस्या समाधान भएको बताउनुभएको छ ।
गृह जिल्ला चितवन आउनुभएका प्रधानमन्त्री प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कोशीमा मुख्यमन्त्री बनाउने सवालमा गठबन्धनभित्र केही समस्या आएको भए पनि त्यसको ‘सेटलमेन्ट’ गरिएको उहाँको भनाइ छ ।
“कहिलेकाहीँ गठवन्धभित्रका पार्टीभित्र पनि अलि वादविवाद हुन्छ नै । त्यो वादविवादले गठबन्धनलाई झन् बलियो बनाएर लैजानेछ” पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “आज बिहान मात्रै काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग म आफै बैठक बसेर एउटा समझदारी बनाएको छु । गठबन्धनलाई बलियो बनाउने कुरामा हामीबिच समझदारी बनेको छ । कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिनेछैनौँ ।”
उहाँले भन्नुभयो, “नयाँ समझदारी अन्तर्गत कोशी प्रदेशमा कार्की (केदार कार्की) मुख्यमन्त्री हुनुभएको छ, त्यो हामी सबैको मुख्यमन्त्री हो । त्यसकारण त्यो समस्या जसरी सोचिएको थियो, त्यो केही होइन । मिडियामा जसरी चर्चा परिचर्चा गरिएको थियो त्यस्तो हैन । आज भएको सहमतिले गठबन्धनलाई अझ बलियो बनाउन सहयोग पुग्नेछ” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्ड काँग्रेसका नेताहरूसँग भेटगरी सहमति जुटाएर चितवन आउनुभएको छ । उहाँले अब विश्वासको मत दिँदा आफूहरूले कार्कीलाई नै समर्थन गर्ने बताउनुभयो । यस्तो अवस्थामा कार्कीलाई एमालेको समर्थन रहनसक्लाकी नसक्ला भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री दाहालले अबको सरकार पनि गठबन्धनकै बन्ने दाबी गर्नुभयो ।
“यस्तो अवस्थामा अब एमालेले गठबन्धनमा रहने नरहने भन्ने कुरा एमालेले बुझ्ने कुरा हो । यसमा धेरै टीकाटिप्पणी गर्न जरुरी छैन । हाम्रो गठबन्धन ‘इन्ट्याक्ट’ रहन्छ । गठबन्धनकै उम्मेदवारका रूपमा उहाँ (कार्की) लाई सहयोग गरिनेछ” उहाँले भन्नुभयो ।
कोशीमा तत्काल सर्वपक्षीय सरकार बन्न सक्ने सम्भावना आफूले नदेखेको र त्यो असम्भव पनि नभएको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुभयो । उहाँले देशमा बढ्दो आर्थिक समस्या अहिले सामाधानउन्मुख भएको बताउनुभयो । “अर्थतन्त्रमाथि दबाब पर्नुमा धेरै कारण छन् । अहिले भनिसाध्य छैन । यो सुधारो उन्मुख अवस्थामा गएको छ” उहाँले भन्नुभयो ।