• १२ साउन २०८१, शनिबार

कृषि उत्पादन र बजारीकरणमा सहजीकरण गर्छौँ

blog

स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्षमा छवि लामा निर्वाचित हुनुभएको छ । दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित लामासँगै गाउँपालिकाका जनप्रतिनिधिले डेढ वर्षको कार्यकाल पूरा गरिसक्नुभएको छ । यो वर्षको मुख्य योजना भनेको सडक हो । सडकसँगै शिक्षा, कृषि, पर्यटनको क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रमसहित गाउँपालिकाले काम गर्दै आएको छ । यसै सन्दर्भमा अध्यक्ष छवि लामासँग गोरखापत्रका सुजन काफ्लेले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

 वैतेश्वर गाउँपालिकाको अध्यक्षका रूपमा साढे छ वर्ष बिताइसक्नुभएको छ । अहिलेसम्मका कामलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

म दोस्रो पटक गाउँपालिका अध्यक्ष  निर्वाचित भएर आएको हुनाले मलाई ऐन, नियम, कानुनबारे बुझ्न समय लागेन । मेरो प्रमुख उद्देश्य भनेको पहिलो वर्षका अधुरा विकास निर्माणका काम पूरा गर्नु हो । जनताका अपेक्षा र आवश्यकतालाई प्राथमिकता दिएकै कारण म पुनर्निर्वाचित भएको हुनाले उहाँहरूको अपेक्षा पूरा गर्नेतर्फ म लागिरहेको छु । हामीले स्थानीयको माग अनुरूपका योजना छनोट गरी शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, खानेपानी र पूर्वाधारका कार्यक्रम अगाडि बढाउँदै लगेका छौँ । 

 दोस्रो कार्यकालको डेढ वर्षको अवधिमा के कस्ता कार्यक्रम सुरु गर्नुभयो, के के पूरा भए ?

चुनावमा हामीले केही प्रतिबद्धता गरेका थियौँ । तिनै प्रतिबद्धता पूरा गर्नेमा हाम्रो ध्यान केन्द्रित छ । हामीले सडकलाई पहिलो प्राथमिकतामा राखेका छौँ । साँघुरा सडकलाई फराकिलो बनाउँदै वर्षभरि नै सवारीसाधन चल्न सक्ने बनाएका छौँ । सडकको गुणस्तर वृद्धिमा जोड दिइएको छ । हामीले गाउँपालिका भित्रका करिब १५ किलोमिटर सडक कालोपत्रे गरिसकेका छौँ, पाँच किलोमिटर सडक ढलान ग-यौँ । हामीले पहिलो एक वर्षमा गाउँपालिकाको बजेटबाट नै कालोपत्रे तथा ढलान गरेका हौँ । शिक्षा क्षेत्रको विकासलाई पनि प्राथमिकता साथ अगाडि बढाएका छौँ । विद्यालयको सङ्ख्याभन्दा शैक्षिक गुणस्तरलाई महत्त्व दिएर विद्यालय समायोजन र दरबन्दी मिलान, विद्यार्थी खाजा, शिक्षक वृत्ति विकास, विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थी छात्रवृत्ति कार्यक्रम जस्ता महत्त्वपूर्ण कार्यक्रम ल्याइएको छ । भौतिक पूर्वाधारतर्फ सातवटै वडामा पक्की सडकको पहुँच पु-याई छोटो समयमै स्वास्थ्य चौकीमा पुगी सेवा लिने वातावरण सिर्जना गरेका छौँ ।

 चालु आर्थिक वर्षको बजेटमा गाउँपालिकाले कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेको छ ?

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा एक वडा एक पक्की सडक बनाउने योजना ल्याएका छौँ । हामीले कृषि तथा पशुपन्छी प्रवर्धन कार्यक्रम अगाडि बढाएका छौँ । सबै वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी रूपमा अगाडि बढाउने गरी योजना ल्याएका छौँ । सबै कार्यालयमा डिजिटल हाजिरी, सिसिटिभी जडान, पशु सुत्केरी भत्ता, उत्पादनको आधारमा अनुदान, लिफ्टिङमार्फत सिँचाइ र खानेपानी जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौँ । हामीले एक घर एक धारा अभियान ल्याएका छौँ र सोही अनुरूप कामलाई प्राथमिकता साथ अगाडि बढाएका छौँ । आफ्नो कार्यकालमा गाउँपालिकाभित्रका सबै नागरिकको घरमा एक घर एक धारा पु-याउने हाम्रो लक्ष्य रहेको छ । 

शिक्षा क्षेत्रलाई थप व्यवस्थित बनाउन गाउँपालिकाभित्र कार्यरत कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेका छौँ । सोही अनुरूप करिब ८० प्रतिशत कर्मचारी र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरिसक्नुभएको छ । हामी यो निर्णयलाई सय प्रतिशत पु-याउन कोसिस गरिरहेका छौँ । हामीले कृषि तथा पशुपन्छी प्रवर्धन कार्यव्रmम अगाडि बढाएका छौँ । कृषि क्षेत्रमा विभिन्न योजना बजेटमा समावेश गरेका छौँ । किसानलाई अनुदान दिने व्यवस्था ल्याएका छौँ, यसले दुध उत्पादन बढेको छ ।

 सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन र सुशासनको प्रत्याभूति दिन के गरिरहनुभएको छ ?

यो गाउँपालिकालाई नागरिकमैत्री बनाउन हरसम्भव प्रयास जारी छ । जनप्रतिनिधि र कर्मचारीलाई अझै बढी जिम्मेवार बनाउने काम भइरहेको छ । हरेक योजनाका विषयमा सामाजिक परीक्षण र चौमासिक रूपमा सार्वजनिक सुनुवाइ गर्दै आएका छौँ । गुनासा सुन्ने, नागरिक बडापत्रको प्रभावकारी कार्यान्वयन गर्ने र नगरका गतिविधिलाई हाम्रो सहयोगमा सञ्चालित रेडियो तथा विभिन्न सञ्चार माध्यमबाट पारदर्शी ढङ्गले प्रकाशन तथा प्रसारणलगायतका थुप्रै काम गरेका छौँ ।

 बाँकी कार्यकालमा सम्पन्न गर्नुपर्ने कार्यक्रम र प्राथमिकता के के छन् ? 

हामीकहाँ विकासका पूर्वाधारमा खानेपानी, सडक, पर्यटन र सिँचाइ नै हो । यसैमा हाम्रो प्राथमिकता रहने छ । सडकलाई कसरी बाह्रै महिना चल्ने बनाउने, सबै नागरिकको घरमा ‘एक घर एक धारा’ पु-याउने लक्ष्य लिएका छौँ । खानेपानीलाई कसरी राम्रो गर्ने भन्ने हाम्रो प्रयत्न रहेको छ । सँगसँगै पर्यटनको पनि सम्भावना छ । हामी यस क्षेत्रलाई राम्रो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने छौँ । यसबाट स्थानीय आर्थिक व्रिmयाकलापलाई सहयोग पुग्ने आशा छ । कृषि, उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहजीकरण गर्छ । 

 विकासका कार्यक्रमहरू गर्दा मुख्य रूपमा आउने चुनौतीहरू के के हुन् ?

तीनवटै सरकारबिच समन्वयको अभाव नीतिगत हिसाबले मुख्य चुनौतीका रूपमा छ । अहिले सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई जुन दृष्टिकोणबाट हेरिरहेको छ, त्यसले गर्दा साझा अधिकार र एकल अधिकारमा हामीलाई असहज भइरहेको छ । गाउँपालिकाले भौतिक संरचना, पूर्वाधार विकासमा तीव्र रूपमा अगाडि बढाउनुपर्ने हुन्छ । गाउँपालिकासँग बजेटको सीमितता रहेकाले स्रोत साधनमा सङ्घ तथा प्रदेश सरकारले सहयोग र समन्वय गरिदिए काम गर्न सहज हुन्थ्यो । हाम्रो गाउँपालिकामा बाँदरको समस्या बढ्दै गएको छ । बाँदर नियन्त्रण गर्न सक्ने अवस्था छैन । किसानले लगाएको बाली बाँदरले नष्ट गरिदिने भएकाले कृषकले बालीनाली लाउन छोडेका छन् । हेर्दा सामान्य लागे पनि यो जटिल समस्याका रूपमा अगाडि आएको छ । यसमा अरू निकायको सहयोगको आवश्यकता छ ।