• २० असोज २०८१, आइतबार

‘गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउँछु’

blog

काठमाडौँ, असोज २७ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीका अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसिसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने घोषणा गर्नुभएको छ । 

राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू विजयी भएमा कार्यकालभर जुटेको एनआरएन बन्ने उहाँको भनाइ थियो । 

अध्यक्षको कार्यकाल २४ महिनाको हुने र सो अवधिका लागि २४ वटा कार्यक्रमको खाका बनाएको उहाँले जानकारी दिनुभयो । “त्यति मात्र होइन, प्रत्येक तीन महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु,” उहाँले भन्नुभयो । 

कार्यक्रममा उहाँले वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आठबुँदे कार्ययोजनासमेत जारी गर्नुभएको छ । उहाँले विदेशमा रहेका श्रमिकको आर्थिक स्थिति सुधार्नसमेत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । वैदेशिक रोजगारीमा रहेकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अभिप्रेरित गर्ने र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि आइपिओको आरक्षण कोटा बढाएर श्रमिकको सहभागिता बढाउने उहाँले बताउनुभयो ।

उहाँले विप्रेषणको सही सदुपयोग गर्दै विप्रेषण (रेमिट्यान्स) लाई उत्पादनमूलक उद्यम व्यवसायमा लगाउन पहल गरिने पनि बताउनुभयो । “विप्रेषणको १० प्रतिशत रकम बचत गर्न लगाइ उत्पादनमूलक उद्यममा लगानी गर्ने व्यवस्था मिलाई कामदारको भविष्य सुरक्षित गर्ने र देश विकासमा योगदान गर्ने व्यवस्था मिलाउन पहल गरिने छ,” उहाँले भन्नुभयो ।