उर्लाबारी समाचारदाता
उर्लाबारी, असोज २४ गते । तीव्र सहरीकरण र मानव बस्तीमा जनघनत्व बढ्दै गएपछि अन्त्येष्टिका लागि पनि राज्यले ठुलो बजेट छुट्याएर घाट निर्माण गर्नुपर्ने भएको छ । त्यही घाट निर्माणका लागि उर्लाबारी नगरपालिकाले पाँच वर्ष निरन्तर प्रयास गर्नु प-यो ।
चार दशकदेखि भोगचलन गर्दै आएको जग्गा सम्बद्ध दातासँग प्राप्त गर्न धेरै समय लागेपछि बक्राहाघाट निर्माणसम्बन्धी आयोजना सुरु हुन सकेको थिएन । जग्गा भोगचलन गर्ने सबै दाताले बक्राहाघाट निर्माणका लागि जग्गा प्रदान गरेपछि उर्लाबारी नगरपालिकाको बहुप्रतीक्षित गौरवको आयोजना बक्राहाघाट निर्माण सुरु भएको हो ।
स्थानीय ३५ जनाले चार बिघा जग्गा बक्राहाघाट निर्माणका लागि दिनुभएको हो । २०७४ देखि नै नगरपालिकाले उर्लाबारी–४, बक्राहा खोला किनारमा घाट निर्माण गर्ने योजना बनाएको थियो । जग्गा प्राप्तिको समस्या र डिपिआर नहुँदा विनियोजित एक करोड रुपियाँ पाँच वर्षदेखि फ्रिज हुँदै आएको थियो । तत्कालीन नगरप्रमुख खड्गबहादुर फागोले नगरको गौरव आयोजनाका रूपमा निर्माण गर्न प्रस्ताव गरेको आयोजनालाई नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा पनि यही कार्यव्रmम राखेको थियो । अघिल्लो कार्यकालमा डिपिआरसमेत भइसकेको आयोजना यो वर्षको मङ्सिर ३० गते सम्पन्न हुने गरी निर्माण भइरहेको छ ।
उर्लाबारीमा व्यवस्थित घाट नहुँदा बक्राहा खोलाको पूर्वपश्चिम दुवै किनारमा शव जलाउने गरिएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको अव्यवस्थित ठाउँमा शव जलाउँदा ठुलो समस्या हुँदै आएको थियो । बव्रmाहा खोला किनारमा दैनिक दुई/तीन वटा शवको अन्त्येष्टि हुने गर्छ । व्यवस्थित घाट नहुँदा जथाभाबी रूपमा शव जलाउँदा खोला किनारमा बसोबास गर्ने समुदायको स्वास्थ्यमा असर पर्नुका साथै नदीको सुन्दरता र वरिपरिको वातावरणसमेत प्रदूषित र दुर्गन्धित हुँदै गएकाले व्यवस्थित घाट निर्माणका लागि जग्गा उपलब्ध गराएको जग्गादाता लोकबहादुर कटवालले बताउनुभयो ।
पूर्वनगर प्रमुख फागोका अनुसार उर्लाबारीको बढ्दो जनसङ्ख्या र जनघनत्वलाई ध्यानमा राख्दै आगामी सय वर्षसम्मका लागि सहज हुने गरी सात वटा साधारण प्रकारको र तीन वटा विद्युतीय शव जलाउने स्थान, किरियापुत्री बस्ने घर, धार्मिक महìव बोकेका बोटबिरुवाको बगैँचा निर्माण र प्रशस्त पार्किङसहितको आधुनिक बव्रmाहाघाट निर्माण हुने छ । नगरपालिकाले घाट निर्माणका लागि चालु आर्थिक वर्षमा ७० लाख रुपियाँ विनियोजन गरेकामा ६३ लाख ४५ हजार ५४९ रुपियाँ ९७ पैसामा आयोजनाको ठेक्का लागेको छ । २०८० को असार २८ गते द्रोणिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको आयोजना २०८० को मङ्सिर ३० गते निर्माण सम्पन्न गर्नुपर्ने छ ।