काठमाडौँ, वैशाख १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले नेपालले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अनुमोदन गरेको उल्लेख गर्दै यस रणनीतिले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवाहरूमा एकीकृत गर्न प्राथमिकता दिएको प्रमाणित हुने बताउनुभयो ।
उहाँले आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको दाबी गर्नुभयो । सरकारले विद्यालयमा आधारित दृष्टि जाँच कार्यक्रम सुरु गरेको जानकारी दिँदै उहाँले विद्यालय नर्स कार्यक्रम पनि सुरु भइसकेको बताउनुभयो । जसमा आँखा स्वास्थ्यलाई विद्यार्थी कल्याणको मुख्य हिस्साको रूपमा समावेश गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । जसले दिगो विकास लक्ष्य ४-५ अनुरूप लैङ्गिक समानता र शिक्षामा पहुँचलाई अघि बढाउने बताउनुभयो । आँखा स्वास्थ्य सूचकहरूलाई देशको राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा समावेश गर्न लागेको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२३–२०३० मा महत्त्वाकाङ्क्षी लक्ष्यहरू निर्धारण गरेको र जसमा प्रभावकारी मोतिया बिन्दु शल्यक्रिया कभरेजलाई ३५.४ प्रतिशत बाट ७० प्रतिशतमा दोब्बर गर्ने प्रतिबद्धता जनाएको बताउनु भयो । आँखा स्वास्थ्यले गरिबी र भोक अन्त्य गर्नेदेखि असमानता घटाउने र जलवायु लचकता प्रवर्द्धन गर्ने धेरैजसो दिगो विकास लक्ष्यहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्ने बताउनुभयो ।