• १७ वैशाख २०८२, बुधबार

एक दशकमा पनि बनेन तीन किलोमिटर सडक

blog

बुटवलमा निर्माणाधीन छ लेन सडक

बुटवल समाचारदाता

बुटवल, वैशाख १७ गते । एक दशक बित्दासमेत बुटवलको मुख्य सडक स्तरोन्नतिको काम सकिएको छैन । बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडकको निर्माण अझै सम्पन्न नहुँदा यात्रा कष्टकर बनेको छ ।  २०७३ मा ठेक्का सम्झौता भए पनि यो तीन किलोमिटर सडकखण्ड ठेकेदारको लापर्बाही र अन्य कारणले ढिलाइ भएको भन्दै गत वर्ष नयाँ ठेकेदारसँग सम्झौता गरिएको थियो ।

गत वर्षको असोजमा पुरानो ठेकेदार कञ्चनजङ्घा बिरुवा जेरी काठमाडौँसँग सम्झौता तोडेर सडक विभागले नयाँ ठेकेदार बाबुल दर्शन मालिका जेभीलाई निर्माणको जिम्मेवारी दिएको थियो तर यसले पनि तोकिएको समयमा काम पूरा गर्न सक्ने सम्भावना न्यून बन्दै गएको छ । 

डिभिजन सडक कार्यालय बुटवलले नयाँ ठेकेदारबाट अपेक्षाकृत काम हुन नसकेको जनाएको छ । कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले हालसम्म जम्मा २५ प्रतिशत भौतिक प्रगति भएको र रकम पनि डेढ करोड मात्रै लगेको बताउनुभयो । एक वर्षभित्र काम सक्ने गरी बुटवलको चौराहादेखि गोल पार्कसम्मको ३.२५ किलोमिटर सडक छ लेनमा विस्तार गर्न भ्याटसहित ३३ करोडमा ठेक्का लगाइएको थियो । 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले नयाँ ठेकेदारबाट समयमा काम हुने अपेक्षा स्थानीयले गरेकाले यसलाई निरन्तरता दिने काम सडक कार्यालयको रहेको बताउनुभयो । 

बुटवल–बेलहिया व्यापारिक मार्ग अन्तर्गत भैरहवाको सुनौलीदेखि बुटवलको चिडिया खोलासम्म सडक विस्तार परियोजना सुरु गरिएको हो ।  जस अन्तर्गत बुटवल–बेलहियादेखि–चिडिया खोलासम्म पर्ने छ लेन सडक अहिले चौराहासम्म निर्माण सम्पन्न भइसकेको छ । अन्यत्र काम सकिए पनि बुटवलमा सुरुमा घरधनीले मुद्दामामिला गर्दा केही वर्ष रोकिएको थियो । डिभिजन सडक कार्यालय बुटवलका अनुसार अहिले सुनौलीमा आठ सय मिटर सडक बन्न मात्रै बाँकी रहेको छ । 

यता बुटवलको चौराहादेखि चिडिया खोलासम्म तीन किलोमिटर सडक निर्माण भने वर्षौंदेखि रोकिएपछि स्थानीयले सास्ती बेहोर्दै आएका छन् । 

यहाँ फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्टका साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ । सडकमै नाइट स्टल राख्न मिल्ने गरी पनि बनाउने योजना अन्तर्गत काम सुरु भएको छ ।

निर्माण अन्तर्गत चौराहादेखि मिलन चोक ट्राफिक चोकलगायत ठाउँमा फराकिलो बनाएर साना ढुङ्गा राख्ने काम गरिएको छ । बेला बेला विभिन्न ठाउँमा काम पनि गरिएको देखिएको छ । 

सडक निर्माणमा ढिलाइ हुनुमा बजेट अभाव, नदीजन्य वस्तु नपाएको ठेकेदार कम्पनीको गुनासो छ । स्थानीय तहले नदीजन्य वस्तुको ठेक्का प्रायः जेठ महिनापछि खुलाउने हुँदा समस्यामा परेको ठेकेदारको गुनासो छ ।

अहिले बुटवल आसपासमा नदीजन्य वस्तु अभाव भएको ठेकेदारको भनाइ छ । सडक कार्यालय सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले कार्यालयमा बजेट नभएका कारण ठेकेदारलाई आवश्यक रकम प्रदान गर्न नसकिएको बताउनुभयो । हालसम्म ठेकेदार कम्पनीले डेढ करोड रुपियाँ लगेको छ । उतातिर सुनौलीको आठ सय मिटर ठेक्का सोही कम्पनीको भएको उल्लेख गर्दै त्यतातिर पनि छ करोड ठेक्कामा तीन करोड ५० लाख रुपियाँ ठेकेदार कम्पनीले लगेको बताउनुभयो । सडक कार्यालयमा चालु आर्थिक वर्षको बजेट करिब सकिएको छ ।