काठमाडौं, असोज २३ गते । चलचित्र परदेशी २ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र परदेशी २ को प्रदर्शन मिति नजिकिँदै गर्दा नर्भस भएको बताउनुभयो । उहाँले चलचित्रलाई धेरै दर्शकले रुचाउने आशा गरेको पनि जानकारी दिनुभयो ।
अभिनेत्री शिवाकोटीले चलचित्रले यो दसैँ झनै विशेष बनाउने बताउनुभयो । यस्तै, अभिनेता एवम् गायक प्रकाश सपुतले चलचित्रमा आफू नयाँ भएको र चलचित्रको मिति सर्दा धेरै डर लागेको बताउनुभयो ।
उहाँले नेपालगन्ज, चितवन, बुटवल र पोखरा लगायतका स्थानमा प्रचारप्रसार गरेको बताउनुभयो । उहाँले चलचित्र आफ्नो गाउँ वाग्लुङमा प्रिमियर गरेको बताउनुभयो ।
बडा दसैँको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’ मा प्रकाश, वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।
रमेश बिजीले कथा एवम् पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि बिदेसिने युवा र सन्तान बिदेसिँदा बुढेसकाल लागेका आमाबुबाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रूपमा चलचित्रको निर्माण गरेका हुन् । आठ वर्ष अगाडि प्रदर्शनमा आएको यसको अघिल्लो शृङ्खला ‘परदेशी’ ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । ‘परदेशी २’ प्रति पनि चलचित्रकर्मी एवं दर्शकले ठुलो आशा राखेका छन् ।