• १३ साउन २०८१, आइतबार

सुनसरीमा रैथाने बालीको संरक्षण गरिँदै

blog

वराहक्षेत्र–१ धापा गाउँका किसानले रोपेको रैथाने बाली कोदो खेती । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, असोज २३ गते । 
रैथाने बाली जिल्लामा हराउँदै गएपछि कृषि ज्ञान केन्द्र सुनसरी रैथाने बालीको संरक्षण गर्न लागिपरेको छ । जिल्लामै रैथाने बालिहरू हराउँदै गएपछि ज्ञान केन्द्र सुनसरीले रैथान बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको छ ।

सुनसरीमा रैथाने बाली कोदो, फापर, छिर्केमिर्के सिमी, मिठे र तितेफापर, लोकल मकै, जौ, लट्टे जस्ता बालीको संरक्षण गर्न थालिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रले उत्पादन गर्न कृषकलाई यसै आर्थिक वर्षदेखि अनुदानका कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रैथाने बाली प्रवर्द्धन कार्यक्रम नै राखेका छौँ । कम्तीमा पाँच कठ्ठादेखि २० कठ्ठा खेती गर्ने कृषक समूह, कृषि सहकारी र कृषि उद्यमीहरूलाई कुल लागतको ७५ प्रतिशत बढीमा तीन लाखसम्म अनुदान दिइने छ ।”

खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनका लागि आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी भएकाले यो बालीलाई संरक्षण गर्नुपर्ने वराहक्षेत्र नगर कृषि शाखा प्रमुख तुलसा लिम्बुले बताउनुभयो । 

व्यावसायिक रूपमा खेती गर्ने किसानलाई प्रदर्शन कार्यक्रमअन्तर्गत ५० हजारसम्मको बिउँ विजन, औजार सहयोग गर्न सकिने कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

जिल्लामै कम उत्पादन हुने बालीमा रैथाने बाली रहेको छ । रैथाने बालीको परिकारको माग बढी हुने भए पनि उत्पादन नहुँदा माग अनुसारको पूर्ति हुन बजारमा सकिरहेको छैन ।

उत्पादनसँगै रैथाने बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि पनि कार्यक्रमहरू अघि बढाउँदै लगिने सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुभयो । 

जिल्लामै व्यावसायिक रूपमा रैथाने बाली लगाउने कृषक नहुँदा कृषि ज्ञान केन्द्रमा रैथाने बालीमा लाग्ने रोग, किराको समस्याको बारेमा सोधखोज गर्नसमेत कोही नआउने गरेको सूचना अधिकृत श्रेष्ठले भन्नु भयो ।

जैविक विविधता केन्द्रले पनि रैथाने बालीको प्रवर्द्धन गर्दै आएको छ । प्रदेशअन्तर्गतको बजेटमा रैथाने बाली संरक्षण कार्यक्रम राखेर यसपलीदेखि बालिको प्रवर्द्धनमा कृषि ज्ञान केन्द्र सुनसरी लागेको छ । 

झुपडीदेखि नाम चलेका होटलसम्म रैथाने बालीको परिकार खाने पारखीहरू भए पनि उन्नत जातको बिउँ विजनसँगै रैथाने बाली लोप हुँदै गएका छन् ।

कृषि ज्ञान केन्द्र सुनसरीले जिल्लाको उत्तरी क्षेत्र वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १, २, र धरान उपमहानगरको विष्णु पादुका, पानबारी, पत्रुनवारी, बाजगरा क्षेत्रमा हुने रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्ने (कार्यक्रमले किसानलाई सहयोग पुग्ने बताइएको छ ।

के हो रैथाने बाली

रैथाने बाली विभिन्न रोग र किरा, सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका बाली हो । रैथाने बाली जप्रजनन् तथा सुधारका लागि महत्त्वपूर्ण मानिँदै आएका छन् । ठाउँ विशेषको स्थानीय हावापानीमा यी बालीहरू हुने गरेका छन् । नेपालमा पछिल्लो समय विभिन्न नयाँ बालीहरूको जातको विकास र विस्तारले रैथाने बालीको व्यावसायिकरणभन्दा आयातित बालीको खेतीमा जोड दिएसँगै देशका विभिन्न ठाउँमा पाइने रैथाने बालीहरू लोपोन्मुख अवस्थामा पुगेको छ । 

सुनसरी जिल्लाको उत्तरी चुरे क्षेत्र आसपासका स्थानमा रैथाने बालीहरूको सामान्य रूपमा खेती हुने गरेको छ । सुनसरीमा पाइने रैथाने बालीहरू कोदो, फापर, छिर्केमिर्के सिमी, मिठे र तितेफापर, लोकल मकै, चिनो, कागुनो, जौ, लट्टे आदि रहेका छन् ।