• १३ साउन २०८१, आइतबार

घाम लागेपछि किसानले धान भित्र्याउन थाले

blog

धनगढीमा धान काट्दै कृषक । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज २३ गते । कैलालीमा केही दिनदेखि घाम लाग्न थालेपछि किसानहरू धान भित्र्याउन सुरु गरेका छन् । मनसुन अब करिब अन्त्य भएपछि किसानहरू धान भित्र्याउनमा लागेका हुन् ।  

यसअघि, धान पाकेर तयार भए पनि मौसम प्रतिकूलताका कारण किसानले ढुक्क भएर धान भित्र्याउन सकेका थिएनन् । वर्षायाम सकिएकाले धान काट्न र भित्र्याउने व्यस्तता बढेको धनगढी उपमहानगरपालिका –८ धनगढी गाउँका मित्थु चौधरीले बताउनुभयो । 

उहाँले मौसम अनुकूल भएपछि बिहानैदेखि धान काट्नेगरेको बताउनुभयो । पछिल्लो समय रोपाइँ गर्नदेखि धान भित्र्याउने काममा आधुनिक कृषि मेसिनको प्रयोग बढ्दैछ । कतिपय किसानले रिपरले धान काट्ने काम गरिरहेको छ ।

यसैगरी, किसानको खेतमा कम्बाइन हार्भेस्टर पनि दगुरिरहेको छ । कम्बाइन हार्भेस्टरले धान काटेर एकैचोटी दाना निकाल्ने गर्छ । किसानको खेतमा धमाधम कम्बाइन हार्भेस्टरले धान काट्न सुरु गरेको कैलारी गाउँपालिका –१ का कृषक एवम् कम्बाइन हार्भेस्टरका मालिक डिल्लीराज कठरियाले बताउनुभयो । 

कैलालीमा यस वर्ष ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती भएको छ । यसवर्ष बाढीले नबिगारेका कारण धान उत्पादन राम्रो भएको किसानले जनाएका बताएका छन् ।