• ९ मंसिर २०८१, आइतबार

प्रमको सफल विदेश भ्रमण

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका र चीनको दुई साता लामो भ्रमण हालै सम्पन्न गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ साधारण सभामा भाग लिन यही भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । महासभामा सम्बोधनलगायत थुप्रै साइडलाइन वार्ता र द्विपक्षीय छलफलपछि असोज ५ गते उहाँ चीन भ्रमणमा जानुभयो । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङलगायत नेतृत्वहरूसँगको उच्चस्तरीय द्विपक्षीय वार्तापछि प्रधानमन्त्री प्रचण्ड असोज १३ गते स्वदेश फर्कनुभयो । 

प्रधानमन्त्री प्रचण्डको यस भ्रमणबारे विभिन्न टीकाटिप्पणी भए। यो पुरानै चलन वा परम्परा हो। विपक्षीहरूले यो भ्रमणलाई औसत र औपचारिक भ्रमणको सङ्ज्ञा दिए । दूरगामी द्विपक्षीय महत्व बोक्ने सम्झौता र वार्ताहरू नभएको भनेर आरोप पनि लगाए । सरकारले भने यस भ्रमणलाई सफल भएको दाबी गरेको छ । राष्ट्रसङ्घको महासभामा पनि विगतमा भन्दा धेरै सघन छलफल र भेटघाट भएको अनि सम्बोधनका क्रममा प्रस्ट र खुला रूपमा धेरै विषय उठान गरिएको स्वयम् प्रधानमन्त्रीको जिकिर छ । उता चीन भ्रमणको क्रममा पनि राष्ट्रपति र प्रधानमन्त्रीसहितका उच्चस्तरीय भेटघाटसँगै द्विपक्षीय १२ बुँदे सम्झौता र संयुक्त वक्तव्य जारी गरिएको भन्दै भ्रमण फलदायी र उपलब्धिमूलक भएको विश्वास गरिएको छ ।

गत सेप्टेम्बर १८ र १९ मा न्युयोर्कमा राष्ट्रसङ्घीय महासभाको ७८ औँ साधारण सभा सम्पन्न भयो। यस कार्यक्रममा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुभयो । आफ्नो प्रस्तुतिले समेटेको विषयवस्तु, भेटघाट र वार्ताको सघनताको आधारमा भ्रमण ऐतिहासिक भएको प्रधानमन्त्रीको दाबी रहेको छ । प्रधानमन्त्रीले सम्बोधनका क्रममा शक्तिराष्ट्रहरूबिचको शक्ति सङ्घर्षका कारण विकासशील तथा कम विकसित मुलुकहरूमा राजनीतिक अस्थिरता र अन्योल हाबी भएको सन्दर्भ उजागर गर्नुभएको छ । 

जलवायु परिवर्तनले पारेको विश्वव्यापी प्रभावलाई साझा मुद्दाका रूपमा ग्रहण गर्दै सबैले पहल गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो । नेपालको क्रान्तिले कैयाै राजनीतिक मुद्दा स्थापित गरेको प्रसङ्ग कोट्याउँदै शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय र अनुकरणीय भएको भन्दै यसलाई अरूले पनि अनुसरण गर्दा बेठिक नहुने तर्क उहाँले प्रस्तुत गर्नुभयो । शान्ति प्रक्रियाको रहलपहल कामलाई पनि यसरी नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साथ, सहयोग, समर्थन र सद्भावसहित अन्तिम टुङ्गोमा पु¥याउनुपर्ने टड्कारो आवश्यकतालाई दर्ज गर्नुभयो । यसमा विश्व जनमतको सद्भाव र सदासयता देखिन्छ । 

यस अतिरिक्त नेपाल अति कम विकसित राष्ट्रहरूको सङ्गठन एलडिसीको अध्यक्षता गरिरहेको मुलुक हो। यसमा ४७ वटा मुलुक आबद्ध छन्। यसकारण पनि यसपालिको भ्रमण ऐतिहासिक रह्यो । भेटघाट, छलफल र वार्ताको अवसर उल्लेख्य रूपमा प्राप्त भयो । यही क्रममा अति कम विकसित मुलुकहरूको हित र स्वार्थको सवालहरूमा द्विपक्षीय र बहुपक्षीय वार्ता र छलफलहरू भए । नेपाल र नेपाली राष्ट्रिय राजनीतिको सन्दर्भमा पनि विषयवस्तुहरू प्रधानमन्त्री प्रचण्डले उठान गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले विश्वका थुप्रै राष्ट्र र सरकार प्रमुखहरूसँग साइडलाइन वार्ता र छलफलहरू गर्नुभयो । यसले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बलियो उपस्थिति कायम गरिदियो । यो पटक नेपाल देखिने र चिनिने गरी प्रस्तुत हुन पाएको दाबी छ । अर्थात् नेपालको शान्ति प्रक्रियाबारे विश्व जगत्लाई सकारात्मक र अनुकरणीय परिघटनाका रूपमा दर्ज गराउन भ्रमण सफल भएको देखिन्छ । 

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सिधै चीन प्रस्थान गर्नुभयो। उहाँ सोही दिन १९ औँ एसियाली खेलकुद उद्घाटन समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्रीले साताव्यापी चीन भ्रमणका क्रममा राष्ट्रपति चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र जनकङ्गे्रसको अध्यक्ष झाओ लेजीलगायतका नेतृत्वहरूसँग उच्चस्तरीय महत्वपूर्ण भेटवार्ता गर्नुभयो । चीनले भव्य समारोहबिच ‘गार्ड अफ अनर’ दिएर प्रधानमन्त्रीलाई उच्च सम्मान र स्वागत ग¥यो । 

भ्रमणका क्रममा प्रधानमन्त्री ली छ्याङको समुपस्थितिमा दुई पक्षबिच १२ बुँदे सम्झौतामा हस्ताक्षर गरियो । यो सम्झौतामा विद्युत् व्यापार, सडक, कृषिलगायत क्षेत्रमा द्विपक्षीय सम्झौता गरिएको छ । यस अतिरिक्त बिआरआई कार्यान्वयन, नयाँ नाका खोल्ने, पूर्वाधार विकासका लागि लगानी वृद्धि गर्ने, क्रस बोर्डर ट्रान्समिटर लाइन जडान र सुरुङ मार्ग निर्माणलगायत परियोजनाहरूलाई समेटिएको छ । यो भ्रमणको सफल र सकारात्मक पक्षहरू हुन् । यद्यपि भ्रमणले सीमा सम्झौता, नक्साको विषय, सीमा मिचिएको विषय र बिआरआई कार्यान्वयनको ठोस खाकासहितको गुरुयोजना भने बनाउन सकेन । यसबारे सैद्धान्तिक कुरा मात्र गरिएको छ ।  भ्रमणकै दौरान संयुक्त वक्तव्य जारी गरिएको छ । यो भ्रमणको राम्रो पक्ष हो । वस्तुतः संयुक्त वक्तव्य भनेको दुवै मुलुकहरू द्विपक्षीय हित र स्वार्थमा सहकार्य गर्न सहमत हुने प्रतिबद्धताको बन्धन हो । यसमा नेपालको विकास रणनीतिमा अनुभव आदान प्रदान, व्यापार प्रवर्धन, पर्यटन विस्तार, उत्पादन क्षमता विकास र बिआरआईसँगको सहकार्य अझ बढाउने सन्दर्भमा प्रतिबद्धता जाहेर गरिएको छ । व्यापार लगानी र जनस्तरको सम्बन्ध, द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिइने भएको छ । समग्रमा भ्रमण सफल र फलदायी भएको देखिन्छ। 

वस्तुतः कुनै पनि व्यक्ति, वस्तु र सत्ता आफैँमा पूर्ण र बनिबनाउ हुँदैन। यसरी बुझ्नु गलत हुन्छ । यसकारण कुनै पनि एउटा अमूक भ्रमण आफैँमा पूर्ण र बनिबनाउ समाधानको अचुक औषधी भइहाल्छ पनि भन्ठान्नु हुँदैन । मूलतः औपचारिक भ्रमणहरूसँग औपचारिक र औसत चरित्र नै अन्तर्निहित हुन्छ । यो सार्वभौम कुरा हो । त्यसैले प्रधानमन्त्री प्रचण्डको यो भ्रमणलाई निरपेक्ष निषेध वा कुनै औचित्य छैन भन्ने र सम्पूर्ण रूपमा सफल र उपलब्धिपूर्ण रह्यो भन्ने दुवै दृष्टिकोण अतिवादी हो । यस्तो दृष्टिकोणले व्यक्ति वा वस्तुको सही मूल्याङ्कन वा विश्लेषण हुन सक्दैन । सही मूल्याङ्कन नहुनु भनेको सत्य, तथ्य र यथार्थ धरातलमा पुग्न नसक्नु हो । त्यसैले यो भ्रमणप्रति आलोचनात्मक दृष्टिकोण राख्नु सही हुन्छ । यसको सकारात्मक र सबल पाटा र दुर्बल पाटालाई मिहिन ढङ्गले केलाउनु पर्दछ । गलत पाटाहरूलाई सच्याउँदै जानु पर्दछ भने सही पाटाहरूको जगमा टेकेर अघि बढ्नु पर्छ । कुनै पनि एउटा अमूक भ्रमणले एकै चोटमा हाम्रो चाहना वा भावना अनुरूप सबै समस्याको निदान गर्न सक्दैन । यसप्रति आलोचनात्मक र रचनात्मक दृष्टिकोण अङ्गीकार गर्नु वस्तुवादी र सही हुन्छ । 

तसर्थ प्रधानमन्त्री प्रचण्डको दुई साता लामो विदेश भ्रमणलाई सकारात्मक, सृजनशील र शिक्षामूलक भ्रमणका रूपमा ग्रहण गर्न सक्नु पर्दछ । यसलाई विपक्षीहरूले भने जस्तो केही कामै भएन, कुनै औचित्य रहेन भनेर टिप्पणी गर्नु भनेको कि त राजनीतिक वैचारिक दूराग्रह हो कि त विरोधका लागि विरोध मात्र हो । अर्थात् यो भ्रमणलाई निरपेक्ष नकारात्मकता र निरपेक्ष सकारात्मकता जस्ता दुवै अतिवादी दृष्टिकोणहरू गलत हुन्छ । भ्रमणप्रति न्यूनतम रूपमा सकारात्मक दृष्टि राख्नु वस्तुवादी हुन्छ । यसलाई निरपेक्ष रूपमा सफल र उपलब्धिपूर्ण रह्यो भनेर महिमामण्डन पनि गर्नु हुँदैन । यति भनौँ, समग्रमा भ्रमण सफल र सकारात्मक रह्यो । यसको अर्थ सबै समस्याको समाधान भइसक्यो जस्तो गरेर पक्षपोषण गर्नु पनि सही हुँदैन । अर्थात् व्यक्तिगत इष्र्या, दलीय दृष्टि र राजनीतिक आग्रह–पूर्वाग्रहबाट भ्रमणलाई जोख्ने, तौलने काम नगरौँ । काम, परिणाम, उपलब्धि र सकारात्मक प्रभावको आधारमा मूल्याङ्कन गर्ने गरौँ । यसैमा हामी सबैको हित अन्तर्निहित छ ।  

Author

राजेन्द्र किराँती