• २१ वैशाख २०८१, शुक्रबार

कृषि विज्ञानमा भविष्य खोज्दै इजरायल पुगेका नारायण उतै अस्ताए

blog

इजरायल आक्रमणमा मृत्यु भएका नारायणप्रसाद न्यौपाने । तस्बिर: सामाजिक सञ्जाल

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) असोज २२ गते । पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन । 

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाउने १० जनाको सूचीमा नारायणको नाम समेत छ । सूची सार्वजनिक भएसँगै नारायणको परिवारलाई सम्पर्क गर्दा उहाँहरू इजरायलमा भएको घटनाप्रति बेखबर देखिनुहुन्थ्यो । नारायणको परिवारको बारेमा जानकारी छिमेकी यशोदा बमसँग बुझ्ने प्रयास गरियो ।

बमका अनुसार कालिकोटको कोटबाडाबाट बसाइसराइ गरी आएका न्यौपाने परिवारमा तीन छोरा एक छोरी हुनुहुन्छ । नारायण ६ वर्षको हुँदा उहाँको आमाको मृत्यु भएको थियो । दुई छोरा र एक छोरी भएका हरिनन्द न्यौपानेले दोस्रो विवाह गरेर सीता न्यौपानेलाई भित्र्याउनु भयो । सीताबाट एक छोरा छन् । सौतेनी आमा भए पनि छोराहरूप्रतिको जिम्मेवारी सबै पूरा गर्दै आएको छिमेकी बम्ले बताउनुभयो ।

छोरा नारायणको बारेमा सितासँग बुझ्दा उहाँले वाईफाईमा पैसा सकिएपछि छोरासँग कुरा नभएको चार दिन भएको बताउनुभयो । चार दिन अगाडि छोरासँग कुरा हुँदा राम्रै कुरा भएको र खर्चपानी नभए दुई दिनपछि पठाउने कुरा भएको थियो । 

आमा सीता न्यौपाने भन्नुहुन्छ, “ साँझ ६ बजेपछि कुरा हुन्थ्यो, चार दिन अगाडि कुरा भएको थियो ।दाइले पैसा नपठाएपछि तलब आउँछ दुई दिनपछि म पटाइदिन्छु भनेको थियो ।”

नारायण परिवारका तीन छोरामध्ये माइला छोरा हुन् । सानैदेखि पढाइमा जेहेन्दार नारायणले एसएलसी पास गरेसँगै कृषि विज्ञान विषय लिएर पढ्ने इच्छा जाहेर गरे । नजिक कलेज नभए पनि दुखसुख गरेर छोरालाई रोजेको विषय पढाउन महेन्द्रनगर पठाए । 

महेन्द्रनगरबाट विज्ञान विषयमा राम्रै नम्बर लिएर कक्षा १२ पास भएका नारायणले स्नातक तह टीकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भयो । 

नारायणले क्याम्पसले विदेश पठाउने भएको खबर परिवारलाई  सुनाउनुभएको थियो । आमा सीताले अरू छोराभन्दा पढाइमा पनि जेहेन्दार ,हक्की स्वभावको केही गर्ने खालको भएपछि छोराले भनेको कुरालाई कहिल्यै नाइँनास्ति नगरेको बताउनुभयो । सीताले भन्नुभयो “जेठोको पढाइमा खासै ध्यान थिएन, १० कक्षासम्म पढ्यो, विवाह गरेर अहिले बुढाबुढी दुवै इन्डिया छन् । कान्छो छोरो भर्खर ६ कक्षामा पढ्छ ।” गाउँमा खेतीपातीबाट नै जीवन निर्वाह गर्ने न्यौपाने परिवारमा भाइकै पढाइ खर्च जुटाउन नारायणका दाजु भारतमा मजदुरी गर्दै छन् ।

नारायणका बुवा हरिकृष्ण न्यौपाने सोझो निरक्षर हुनुहुन्छ । उहाँलाई छोरोले के विषय कुन क्याम्पसमा पढ्दै छ भन्न पनि आउँदैन । “कृषि विषय हो कि, भेटनरी पढ्न गएको हो ” हरिकृष्णले भन्नुभयो । २५ वर्षीय नारायणले इजरायल जानुभन्दा पहिले छ महिना दार्चुलामा तालिम (इन्टर्न) गरेर आउनुभएको थियो । इजरायल जाँदा दुई लाख जति खर्च भएको बताउने नारायणको परिवारलाई यो समाचार तयार पार्दासम्म मृत्युको खबर दिइएको छैन ।

 सीताले छोराले भनेको कुरा सम्झँदै भन्नुभयो “ क्याम्पसले पठाउने हो , जाने म जस्तै अरु पनि धेरै छन्  यतैका छन् सबै,एक बर्ष बसेर सिक्दै कमाउँदै गर्ने हो भनेको थियो ।”इजरायलमा भएको आक्रमणको घटना बताएपछि थाहा पाएकी  सीताले छिमेकीको घरमा नेट भएको र गएर छोरासँग कुरा गर्ने बताउनुभयो ।

इजरायलको आक्रमणमा ज्यान गुमाउने नारायण जस्तै कैलालीको बर्दगोरिया गाउँपालिका ३ का आशिष् चौधरीको नाम सार्वजनिक भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका ४९ जना विद्यार्थीमध्ये १७ जना इजरायलको सेवति नेगेभमा कृषि फार्ममा थिए । सोही क्षेत्रमा हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्कविहीनमध्ये १० जनाको मृत्यु भएको खबर सार्वजनिक भएको हो  ।

यो पनि पढ्नुहोस

छ सय इजरायली र ३७० प्यालेस्टिनीको मृत्यु

दस नेपालीको मृत्यु, एक बेपत्ता