• १ जेठ २०८२, बुधबार

सडकको काम डेढ वर्षपछि सुरु

blog

बाँके समाचारदाता

बाँके, असोज २२ गते । नेपालगन्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका–२ सीतापुर जोड्ने सडकको सम्झौता भएको डेढ वर्षपछि काम सुरु भएको छ । 

२०७९ वैशाख २५ गते सम्झौता भएको सडकको निर्माणकार्य २०८१ भदौ २४ गते सम्पन्न हुने सम्झौतामा उल्लेख भए पनि डेढ वर्षको अवधिमा निर्माण कम्पनीले सामान्यबाहेकको निर्माण गरेको थिएन । 

खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनीराम वलीले विगतमा जेजस्तो भए पनि अब समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ । वडाध्यक्ष वलीले भन्नुभयो, “१५ महिना सडक अलपत्र परे पनि अहिले सुरु भएको छ । अब समयभित्रै राम्रो काम होस् भन्ने छ । स्थानीयले पनि कामको निगरानी गर्ने छन् ।”

निर्माण सुरु भएको करिब डेढ वर्षको अवधिमा कामले गति लिन नसकेपछि यसअघि खजुरा गाउँपालिकाले सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको थियो । 

डेढ वर्षको अवधिमा जानकी र खजुरा गाउँपालिकाको सीमामा एउटा कल्भर्ट र केही सामान्य काम मात्र भएको थियो । निर्माण कम्पनीले हाल खाल्टाखुल्टी सम्माएर तत्काल सहज ढङ्गले आवतजावत गर्न सकिने गरी पारम्भिक चरणको कार्य अगाडि बढाएको छ । लगत्तै यस सडकखण्डको निर्माण कार्य र समयमै सम्पन्न गर्ने दाबी निर्माण कम्पनीको छ ।  करिब १० किलोमिटर सडक कालोपत्रेका लागि कनकाई–गणपति जेभीले भ्याट र पिएससहित १३ करोड ४३ लाख रुपियाँमा निर्माणको जिम्मेवारी पाएको छ । बस्तीमा दुवैतर्फ नालीसहित १० मिटर चोडाइको सडक बन्ने छ । निर्माण कम्पनीका अनुसार सात मिटर कालोपत्रे हुनेछ । 

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो ।