नेपालीको घरआँगनमा बिस्तारै दसैँको आगमन हुँदै छ । लामै समयदेखि अर्थतन्त्रमा आएको सुस्त, अझ मन्दीतिर गइरहेको अवस्थालाई यो दसैँ, तिहारलगायत चाडपर्वले अलिकति भए पनि अवरोध गर्ने अनि अर्थतन्त्रलाई गति दिने आशा पलाएको छ । सुस्त अर्थतन्त्रका बिच सहरका मुख्य बजारमा केही दिनयता चलहपहल बढ्न थालेको छ । राजधानी उपत्यका मुख्य बजार नयाँ सडक, असन, इन्द्रचोक, मङ्गलबजार, लगनखेललगायतका क्षेत्रमा ग्राहकको उपस्थिति भिडतर्फ उन्मुख हुँदै छ । डिपार्टमेन्ट स्टोरमा चहलपहल बढेको छ । ग्राहकको उपस्थिति बढ्न थाले पनि किनमेल भने खासै बढ्न नसकेको व्यापारीहरूको भनाइ छ तर कतिपयले व्यापारीको यो भनाइलाई सधैँको बानीसमेत भन्ने गरेका छन् ।
नेपाली अर्थतन्त्रमा दसैँ बढी उपभोग गर्ने अवसर मात्र होइन, बजारलाई गाउँदेखि सहर हुँदै बाह्य व्यापारमा समेत सकारात्मक प्रभाव पार्ने अवसर हो । सरकार तथा निजी क्षेत्रले दसैँमा कर्मचारीलाई थप खर्च दिएर प्रोत्साहन गरेको हुन्छ भने दसैँमा खर्च चाहिन्छ भनेर जोहो गर्ने परम्पराले समेत अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ । त्यसैले अर्थतन्त्रका सबै जसो आयामलाई चाडपर्वले छुने गर्छ । उत्पादन र उपभोगमा नयाँ चक्र सिर्जना गर्छ ।
दसैँ सांस्कृतिक चाड भए पनि अर्थतन्त्रको हरेक आयामलाई यो पर्वले छुने गर्छ । युगौँदेखि गाउँघरका किसानले पालेका खसी, बोका, राँगा, कुखुरा, हाँस बजारसम्म पुग्छन् । ससाना बजार हुँदै मुख्य सहरसम्म पुग्छन् । गाउँमा उत्पादिन कृषिउपज पनि बजारसम्म पुग्छ । पशुधन तथा कृषि उपज बजार, सहरसम्म बेचबिखन गरेर दसैँको गर्जो टार्ने परम्पराले अझै पनि निरन्तरता पाउँदै छ । गाउँघरका बजारमा समेत बिस्तारै कृषिउपज र खसी, बोका आदिको बजार बढ्न थाल्छ । गाउँका उपज सहर बजारसम्म पुग्ने अनि सहरी बजारका लत्ताकपडा, मरमसला, गरगहना गाउँसम्म पुग्ने अवसरसमेत हो दसैँ । दसैँ सुरु हुनुअगावै अनेक खालका मेला लाग्ने गर्छन् । सवारीसाधनको मेला हालै सम्पन्न भइसकेको छ । यो पटक विद्युतीय सवारीको आकर्षण बढेको छ भने त्यसतर्फ बैङ्किङ लगानीसमेत बढ्न थालेको छ ।
त्यसो त अर्थतन्त्रको परम्परागत आयाममा पनि फेरबदल आउन थालेको छ । यताका वर्षमा वैदेशिक रोजगारीमा जाने प्रचलन बढेको छ । झन्डै ६० लाख नेपाली समुद्रपारकै मुलुकमा पुगेका छन् । भारतमा रोजगारीमा जानको सङ्ख्या अझ सघन नै छ, खास गरी सुदूरपश्चिम र कर्णाली प्रदेशबाट भारतमा रोजगारीमा जानेहरू दसैँकै बेला घर फर्कन्छन् । अर्थतन्त्रमा वैदेशिक रोजगारीको प्रवृत्ति बढेसँगै विप्रेषण आप्रवाहमा समेत यसैबेला बढोत्तरी हुन्छ । भारत जानेहरू केही आयका साथ देश भित्रिन्छन् भने विदेशमा रहेका नेपालीले पनि यही अवसरमा घर खर्चका निम्ति अलि बढी रकम पठाउँछन् । औपचारिक मार्गबाट मात्र वार्षिक दस खर्ब रुपियाँभन्दा बढीको विप्रेषण आउँछ र त्यो रकमका उच्च आप्रवाह दसैँकै बेला देखिन्छ । अनौपचारिक स्रोतबाट समेत यही अवसरमा विप्रेषण आप्रवाह बढेको हुन्छ ।
गैरआवासीय नेपाली सङ्घसंस्थाको चहलपहल समेत यसैबेला बढ्ने गर्छ । दसैँकै बेला पारेर गैरआवासीय नेपाली सङ्घको सम्मेलनको चहलपहलसमेत बढ्न थालेको छ । सम्मेलनमा समेत सहभागी हुने र दसैँ, तिहार जस्ता चाडपर्वलाई स्वदेशमा आएरै मनाउने परम्परा यताका दुई दशकमा अलि मौलाएकै छ । दसैँसँगै नेपालमा पर्यटन सिजनसमेत सुरु हुन्छ । हिमाल आरोहण, पर्वतीय पर्यटनको सिजनसमेत हो शरद् ऋतु । यसले पनि नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दैं छ र अझ दसैँ, तिहार जस्ता सांस्कृतिक पर्वलाई पर्यटन प्रवर्धनसित जोड्न सकियो भने सुस्त अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्छ ।
दसैँमा सरकारी कर्मचारी, शिक्षक, सेना, प्रहरी सबैले एक महिनाको थप खर्चसमेत पाउँछन् । यो क्रम बैङ्क तथा वित्तीय संस्थामा अझ बढी प्रभावी छ । थप तलबसहित वर्षभरको लाभांशलाई समेत दसैँकै बेला दिने गरिन्छ । कम्पनीहरूले दसैँकै बेला पारेर साधारण सभा गर्ने बोनस बाँड्ने गर्छन् । धेरै जसो सहकारी सङ्घसंस्थाले पनि यो क्रमलाई निरन्तरता दिएको पाइन्छ । यस्ता अनेक कारणले दसैँको बेलामा उपभोक्ताको हातमा पैसा पुग्छ । हुन पनि दसैँको बेला मिठो खाने र राम्रो कपडा लगाउने प्रचलन धेरै पहिलेदेखिकै चलन हो । आफूसँग नहुनेले ऋण लिएर पनि दसैँमा खर्च गर्नुपर्ने नेपाली बाध्यता लामै समयदेखि भएरै होला, उखानै बनेको छ– दसैँ आयो ढोल बजाइ, दसैँ गयो ऋण बोकाइ ।
मिठो खाना, राम्रो नानासँगै दसैँमा दक्षिणाका रूपमा समेत पैसाको गति र फैलावट बढ्छ । केन्द्रीय बैङ्कले हरेक वर्ष पाँच, दस, बिस, पचास, सय र पाँच सयका अर्बौं रुपियाँका नोट प्रचलनमा ल्याउँछ । यसले मुद्रा प्रवाहमा सकारात्मक भूमिका खेलेको हुन्छ । यो वर्षमा पनि अब केही दिनमै केन्द्रीय बैङ्कले नोटहरू साट्नका निम्ति सूचित गरिरहेको छ । नयाँ नोट नसाट्दासम्म बजारमा दसैँ आएको रौनक नै बढ्दैन । अर्थशास्त्रीहरूको भनाइ अनुसार वर्षभरिको कारोबारमा ५० प्रतिशत त दसैँ, तिहार, छठ जस्ता चाडपर्वकै योगदान रहेको हुन्छ । व्यापारीहरूले वर्षभरिमा नबिकेका सरसमान पनि अनेक खालका अफर चलाएर यही मौकामा बेचबिखन गर्छन् भने दसैँलाई भनेर नयाँ एल्सी खोलेर आयात गर्ने सरसामानको सूची र आयतनसमेत ह्वात्तै बढेको हुन्छ ।
दसैँमा सरकारले सुपथ मूल्यका पसलहरू सञ्चालन गरेर उपभोक्तालाई राहत दिइरहेको हुन्छ । राजधानी काठमाडौँदेखि स्थानीय बजारसम्म यो प्रवृत्ति बढ्दो क्रममा छ । यो वर्षको सहुलियत मूल्य पसलसमेत आरम्भ भइसकेको छ । सुपथ मूल्यका पसलहरूले समेत देशभरिमा अर्बौंको कारोबार गरिरहेका हुन्छन् । बजार पसलको चलायमानसँगै दसैँ गाउँघर गुल्जार हुने अवसरसमेत हो । रोजगारी र अवसरका निम्ति सहरबजार पसेका, थातथलो छोडेका नेपाली दाजुभाइ यही मौकामा गाउँघर पुग्ने गर्छन् । उनीहरूले लग्ने सरसमान र कोसेलीले आर्थिक आयामका अवयव बोकेको हुन्छ भने यातायात क्षेत्रको चलायमान यसै अवसरमा अति उच्च हुन्छ । सार्वजनिक सवारीसाधनले त्यस क्षेत्रको आयमा बढोत्तरी ल्याउँछ । हवाई यात्रुहरूको चाप उच्च हुन्छ । अतिरिक्त उडान थप्नुपर्ने हुन्छ भने सवारी साधनको व्यस्ततासमेत दसैँमा उच्च हुन्छ ।
त्यसो त केही यो वर्षको दसैँले अघिल्ला वर्षहरू, खास गरी कोभिडअघि झैँ अझै चहलपहल ल्याउन नसकेको भनाइ आउनेसमेत गरेको छ । बैङ्कको उच्च ब्याजदरले लगानीमा लामै समयदेखि प्रभाव परिरहेको छ । महँगी उच्च बढेको छ । केद्रीय बैङ्ककै विवरणले पनि सात प्रतिशतभन्दा उच्च महँगी देखाएको छ । दैनिक उपभोगमा आउने खाद्यान्न लगायतको मूल्यमा त महँगीले आकाशै छोए जस्तो भएको छ । गत वर्ष चार सय रुपियाँ प्रतिकिलोमा पाउने जिरा अहिले प्रतिकेजी एक हजार तीन सय रुपियाँ हाराहारी पुगेको छ । नेपाली मुद्रा डलरको तुलनामा कमजोर हुँदा, स्वदेशमा काम गर्नेहरूको आयमा वृद्धि नहुँदा उपभोक्ताको मागमा प्रतिकूल असर परिरहेको छ । सरकारले गर्ने पुँजीगत खर्चमा अझै गति आउन सकेको छैन । यी अनेक कारणले अघिल्ला दसैँ जस्तो उच्च आर्थिक गतिविधि नभए पनि अर्थतन्त्रमा सकारात्मक चहलपहल भने बढेकै देखिन्छ ।
दसैँ, तिहार, छठ जस्ता चाडपर्वले गाउँ, सहरलाई सांस्कृतिक रूपमा जोड्न मात्र होइन, आर्थिक रूपमा समेत गाउँ र सहरलाई जोड्छन् । अहिले आएर यी चाडपर्वले गाउँ, सहर मात्र नभएर बाह्य जगत्सित समेत आर्थिक रूपमा जोड्न थालेको छ । भूमण्डलीकरणको प्रभावले नेपाली दाजुभाइ संसारभर छरिएर रहेका छन् । बाहिर बस्ने नेपाली आफ्नै दुःख र पीडा भए पनि स्वदेश सम्झने विशेष अवसरसमेत हुन् चाडपर्व । यी चाड पर्वलाई आउँदा दिनमा पर्यटन प्रवर्धनसित अझ विशेष तवरले जोड्न सकिन्छ । बाहिर रहेका नेपाली घर फर्कंदा, देशभित्रका पर्यटकीय गन्तव्यमा घुमफिर गर्दा नेपालको पर्यटन बजार विस्तार हुन सक्छ । उनीहरूमार्फत विदेशीलाई नेपालको पर्यटनको प्रसार गरेर पर्यटकीय बजार विस्तार गर्र्न राम्रो अवसरसमेत हो । यसमा सरकार र पर्यटनसित सम्बद्ध सङ्घ संस्थाले विशेष ध्यान जानु पर्छ । नीति, योजना र कार्यक्रम ल्याउनु पर्ने हुन्छ ।
कतिपय अवसरवादीले चाडपर्वकै बेला उपभोक्ता लुट्ने विसङ्गत अवस्थासमेत देखा पर्छ । दसैँ आएपछि बजारबाट एकाएक उपभोग्य सरसमान गायब हुन्छन् । प्रतिकिलो एक सय रुपियाँभन्दा कममा चिनीको कारोबार भइरहेको थियो । दसैँ आउनु एक महिना अगावै कालो बजारियाहरूले डेढ सय प्रतिकिलोसम्म भाउमा बेचेका छन् । गोदाम छापा मार्दा फेला परेको ठुलो परिमाणको चिनीको बजारीकरणमा समेत पारदर्शिता देखिएन । अनुगमन गर्ने निकायले पनि आफ्नो शास्त्रीय ढर्राबाट माथि उठ्न सकेको देखिँदैन भने निजी क्षेत्रका सङ्घसंस्थाले आम उपभोक्ताको हितलाई भन्दा मुनाफामूलक निहित स्वार्थलाई नै उच्च बिन्दुमा राखेको देखिएको आरोप लाग्ने गरेको छ । यसमा ध्यान दिनै पर्छ ।
दसैँ, तिहार, छठ जस्ता चाडपर्व अर्थतन्त्रका आशा जगाउने सुअवसर पक्कै हुन् तर यस्तो बेला उपभोक्ता ठगिनु हुँदैन । आयातित सरसमानको उच्च उपभोगमा नियन्त्रण गर्दै देशभित्रकै सरसमानको उत्पादन, बजारीकरण र उपभोग बढोत्तरी ल्याउनु पर्छ । उपभोक्ताको हातसम्म पैसा पुग्न सकोस् भन्न तीन तहकै सरकारको ध्यान जानु पर्छ । स्थानीय सरकार तथा वडा कार्यालयले अति सीमान्त आय भएका घरपरिवारका निम्ति सडक मर्मत तथा सरसफाइमा काम दिएर उनीहरूका हातमा पैसा पुग्न सक्ने अवसर दिनु पर्छ । त्यसले गर्दा उनीहरूका हात र साथमा पैसा पुग्छ र चाडपर्व मनाउन अलिकति भए पनि सहज हुन्छ । निजी क्षेत्रले समेत मुनाफामा अतिकति न्यून गर्दै उपभोक्तालाई राहत दिन अग्रसर हुनु वाञ्छनीय छ ।