• १३ साउन २०८१, आइतबार

धानमा रोग लागेपछि किसान चिन्तित

blog

बर्दिबास –३ स्थित सिन्धुली सीमासँग जोडिएको कालापानीमा रोग लागेर पहेंलिएका धान । तस्विर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असोज २० गते । बर्दिबास नगरपालिका –३ स्थित कालापानीमा धानका बोट पहेंलिने र गुभा सुक्ने रोग देखापरेपछि किसान चिन्तित बनेका छन् । 

वर्ष दिन खाने धानबालीमा रोग प्रकोप बढेपछि सुदूरउत्तरी भेगमा पर्ने यो गाउँका किसान चिन्तमा छन् । कालापानीका धान कृषक बीरबहादुर थापा मगरले जरोदेखि सेतो रंगको किरा लागेर धानको गुभो सुक्ने समस्याले उहाँको १० कठ्ठा खेतको धान सेताम्मे भएको बताउनुभयो । 

मगरले रोग नलागोस् भनेर धान रोप्ने बेलामा नै डीएपी मदसँगै मिसाएर ‘क्लोरो पाइरीफोस’ नामको औषधि हालेको बताउनुभयो । ‘फेरि पनि रोगले छाडेन, बोटै सुक्न थालेपछि चिन्तामा परेका छौं’ उहाँले भन्नुभयो ।  

स्थानीय सञ्जीव भण्डारीका अनुसार प्रकोपको रुपमा देखापरेको रोगबाट कालापानीका ५० बिघा क्षेत्रफलमा लगाइएका धानका बोट सुक्न लागेका छन् । 

अर्का कृषक कुमार भण्डारीका अनुसार रातु खोलाबाट सदाबहार सिंचाइ सुविधा भएको कालापानी महोत्तरी जिल्लाकै सर्वाधिक धान उत्पादन हुने क्षेत्रमध्येको हो । सवै अनुकूल हुँदा यहाँ कठ्ठाको ५ मनसम्म उत्पादन हुने गरेको गाउँलेको भनाइ छ  । 

यसपाला भने बोटमै रोग लागेपछि उत्पादन घटने डरले किसानमा चिन्ता बढेको भण्डारीले बताउनुभयो । कालापानीका ज्येष्ठ नागरिक कुम्भ थापाले रैथान छाडेर विकासे धान लगाउन थालेदेखि नयाँ रोग देखापर्ने गरेको अनुभव सुनाउनुभयो । 

उहाँकाअनुसार यो वर्ष कालापानीमा झापा मनसुली र कतरनी धान लगाइएको छ । अहिले झापा मनसुलीमा देखापरेको यो रोग कतरनीमा पनि सर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।