ललिता साह
वोदेवर्साइन (सप्तरी) असोज २० गते। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा राजविराज नगरपालिका कार्यालय र तीनै तहका सुरक्षा संयन्त्र टोलीसहित शनिबार छिन्नमस्ता मन्दिरको परिसर र पोखरी सरसफाइ गरेका छन् ।
दशैंको पूर्वतयारी स्वरुप सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मन्दिरमा नगरको सरसफाइ टिपरसहितका छिन्नमस्ता पुगेका राजविराज नगरपालिकाको एक टोली, नेपाली सेना भिमदल गणका जवानहरु, सशस्त्र प्रहरी बल गण ६ का गरी दुईसय जवानलगायत दुई सय बढीको सहभागितामा छिन्नमस्ता मन्दिर परिसर सरसफाइ गरिएको राजविराज नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत विष्णु गुरुङले जानकारी दिनुभयो ।
जितिया सम्पन्न भएसँगै परिसरको पोखरीमा महिलाले गरेको पूजापाठको फोहर, निर्माण कार्यहरु हुँदैगरेकाले जताततै थुपारिएका सामग्री, माटो खनिएका ठाउँहरुलाई दसैंसम्मको लागि भए पनि सरसफाइ गरेर मन्दिरको सुन्दरता थपिने प्रयासमा सबैको चिन्ता रहेको पिठाधिस महाकान्त ठाकुरले बताउनुभयो ।
दशै नजिकिएसँगै मन्दिर परिसरमा रहेका मदिरा पसलहरु प्रशासनले निर्धारण गरेको समयमा खोल्ने र बन्द गर्नेगरी कडाइका साथ नियम पालना गर्न लगाउने सप्तरीका प्रहरी प्रमुख गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । यस्तै, चाडपर्वको बेला सीमानजिकै रहेका छिन्नमस्ता मन्दिर र यस आसपासमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिन जिल्लामा सुरक्षा संयन्त्र कडा पारिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।