• २० असोज २०८१, आइतबार

हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै

blog

जितियाको दोस्रो दिन शुक्रबार उपबास बसेका सुनसरीका महिला शनिबार विहान खोलामा नुहाएर फलहारपूर्व प्रार्थना गर्दै ।

जयकृष्ण यादव 

इनरुवा, असोज २० गते । सुनसरीको विभिन्न स्थानमा हर्सोल्लासका साथ जितिया पर्व मनाइँदै छ । जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकासहित ग्रामीण क्षेत्रका मधेसी तथा थारु महिलाले आफ्नो तीन दिने महान पर्व जितिया उपबास बसेर मनाएका छन् । 

यहाँका महिलाले विहीबार नुहाएर खाएपछि शुक्रबार दिनभर र राति समेत निराहार कठोर व्रत बसी शनिबार ११ बजे पारन गरेर जितिया पर्व सम्पन्न गरेका छन् । सन्तानको सुख, शान्ति र दीर्घायु तथा परिवारमा कल्याणका लागि भन्दै कठोर उपबास बसेर हर्सोल्लासका साथ जितिया मनाएका छन् । 


बिहीबारबाट सुरु भएको जितियाको दोस्रो दिन शुक्रबार उपबास बसेको र तेस्रो दिन शनिबार विहान फलफुल, मिठाइ खाएर फलहार गरी सम्पन्न गरेका छन् । यो पर्व तराईमा बसोबास गर्ने महिला तथा थारु महिलाले धूमधामसँग मनाउने गर्छन् । व्रतालु महिलाले सन्तानको दीर्घायुका लागि यो पर्व मनाउने चलन छ । 


यो पर्व ठाउँअनुसार फरक फरक तरिकाले मनाइन्छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तीथिमा तीन दिन यो पर्व मनाइन्छ । सप्तमीको दिनलाई ‘नहाए खाएके’, अष्टमीको दिनलाई ‘उपवास’ र नवमीको दिनलाई ‘पारन’ भनेर मनाइने जितिया पर्वमा सप्तमीका दिन बिहान व्रतालुहरू नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् । 

नुहाइसकेपछि तोरीको पिना घिरौँलाको पातमा राखेर खोलामा बगाउने चलन छ । चढाएको तेल आफ्ना सन्तानलाई पनि लगाइदिने चलन छ । व्रतालुहरूले बिहीबार आफ्नो नजिकको पोखरी, तलाउ, नदीलगायतमा स्नान गरी जितमाहनको कथा सुनेर व्रतको शुभारम्भ गरेका छन् । 

सन्तानको दीर्घायुको लागि गरिने यो व्रतमा व्रतालुहरू उपवास बस्ने गर्छन् । उपवासका बेला व्रतालुहरूले थुक पनि निल्न नहुने मान्यता छ । जितीया पर्वको अवसरमा शुक्रबार सुनसरीको इनरुवा, गढी, कोशी, बराहक्षेत्र, इटहरी, हरिनगर, देवनागञ्ज, भोक्राहा नरसिंहलगायतको स्थानीय तहमा सार्वजानिक बिदा दिएको थियो ।


यसैबीच जितीया पर्वको अवसरमा भोक्राहा नरसिंह गाउँपालिका ७ मा तीन दिने जितिया मेला तथा सांस्कृतिक कार्यक्रम, इनरुवा ९ बबियाको यादव टोलमा तीन स्थानमा मेला तथा संस्कृतिक कार्यक्रम, देवानगञ्ज गाउँपालिका वडा ६ मा रहेको जितवाहान बाबा मेला, रामधुनी १ को झुम्कामा मेला सम्पन्न भएको छ ।