• १२ पुस २०८१, शुक्रबार

बोटानिक गार्डेनमा जलवायु परिवर्तनसम्बन्धी गोष्ठी

blog

करुण अर्याल

लण्डन, असोज २० गते । नेपाल–बेलायतबीच मैत्रीसन्धी भएको शतवार्षिकीको अवसरमा स्कटल्याण्डको एडिनवरास्थित रोयल बोटानिक गार्डेनमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । 

बेलायतस्थित नेपाली राजदूतावास र बेलायतको परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना तथा रोयल बोटानिक गार्डेन र ब्रिटीश काउन्सिलको सहकार्यमा सम्पन्न कार्यक्रममा गत एकसय बर्षमा जलवायु परिवर्तनबाट नेपालको जैविक विविधता, भूगोल, अर्थतन्त्र र जनजीवनमा परेको प्रभाव र यसलाई न्यूनिकरण गर्न अपनाइएको प्रयासहरु र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामाथि छलफल भएको छ ।

कार्यक्रममा बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा भएको मैत्रीसन्धीको महत्वबारे प्रकाश पार्दै रोयल बोटानिक गार्डेनले नेपालको जैविक विविधताको संरक्षणमा गरेको सहयोग तथा जलवायु परिवतर्नबाट नेपालको परेको प्रभावबारे चर्चा गर्नुभयो । 

उहाँले गार्डेन र नेपालको विभिन्न संघ संस्थाबीच अनुसन्धान, क्षमता निर्माण, सरंक्षण र विकासमा हालैका वर्षहरुमा सहकार्य गरिएको सहकार्यको स्मरण गर्दै बेलायत सरकारले जलवायु परिवर्तन र जैविक विविधताको क्षेत्रमा नेपाललाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो । 

नेपालले शून्य उत्सर्जनको लक्ष्यलाई आत्मसात गरेको जनाउँदै राजदूत आचार्यले जलवायू परिवर्तनजन्यबाट सिर्जित विपत तथा हिमाली क्षेत्रमा हिउँ पग्लिएको समस्याबारे पनि चर्चा गर्नुभयो । 

रोयल बोटानिक गार्डेनका प्रमुख साइमन मिल्नेले गार्डेनले जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालमा विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको जानकारी दिदै दुईसय वर्षअघि स्कटल्याण्डका वैज्ञानिक फ्रान्सिस बुकानन् ह्यामिल्टनले नेपालबाट बनस्पतिको नमुना संकलन गरेको स्मरण गर्नुभयो । बेलातयको परराष्ट्र मन्त्रालयका उपनिर्देशक स्यार्लोट कोल्सले बेलायत सरकारले जलवायु परिवर्तन र जैविक विविधता संरक्षणको क्षेत्रमा नेपाललाई सहयोग गर्दैआएको बताउँदै दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको स्पष्ट पार्नुभयो । 

उहाँले बेलायत सरकारले आगामी दिनमा नेपालको सामाजिक र आर्थिक विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभयो । कार्यक्रममा गार्डेनका वैज्ञानिक मार्क वाटसन, एडिनबरा विश्वविद्यालयका प्रोफेसर हग सिनक्लेयर, एडिनबरा नेपियर विश्विद्यालयका डा.इन्गी पनिल्स र राजदूत आचार्यले जलवायू परिवर्तन, जैविक विविधता लगायतका विषयमा धारणा राख्नुभयो । कार्यक्रममा जलवायु विज्ञ, कुटनीतिज्ञ र नेपाली समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।