• १२ पुस २०८१, शुक्रबार

एनआरएन द सिङ्गरको अन्तिम दशको टुङ्गो

blog

करुन अर्याल

लण्डन, असोज २० गते । गैरआवासीय नेपाली संघको आयोजनामा भइरहेकोे रियालिटी शो ‘एनआरएन द सिङगर’ को अन्तिम दश जनाको  टुंगो लागेको छ । काठमाडौँमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना प्रतिस्पर्धीमध्येबाट अनलाइन भोट र निर्णायकहरुको मूल्याङ्कनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो । 

आयोजकका अनुसार झापा घर भइ युएई बस्ने भीम शेर्मा लिम्बू काभ्रे घर भइ जापान बस्ने कर्मा दोङ तामाङ पोर्चुगल बस्ने दाङ घर भएका सुवासचन्द्र पुन मगर मोरङ घर भई हाल कतारमा कार्यरत लोकेन्द्र दूधराज, नर्वे बस्ने चितवनका विष्णु क्षेत्री अन्तिम १० स्थानमा पर्न सफल हुनुभएको छ । 

यसैगरी, दक्षिण कोरिया बस्ने पाँचथरको प्रदीप कोयु राई, जर्मनी बस्ने काठमाडौँका केदार कार्की, काठमाडौँ घर भएकी बेलायत बस्ने युक्ती बलामी, मोरङ घर भइ युएई बस्ने कृष्ण खवास र भोजपुर घर भइ कतार बस्ने गुन मगर निशु पनि अन्तिम १० मा पर्नुभएको छ । 

उत्कृष्ट १० बाट अन्तिम पाँचमा पर्न ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको भुमिका हुने आयोजकले जनाएको छ । उपाधि जित्नले पाँच लाख रुपियाँ पथम रनरअपले दुई लाख र द्वितीय रनरअपले एक लाखसहित ट्रफि र प्रमाणपत्र पाउने छन् । पतियोगिताको फाइनल असोज २८ गते काठमाडौँमा हुने कार्यक्रम उपसंयोजक प्रवीण गुरुङले जानकारी दिनुभयो । 

गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष गोविन्दप्रसाद गौतमले प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचानगरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिदैआएको बताउनुभयो । 

प्रतियोगिताको निर्णायकमा नेपालबाट वरिष्ठ गायक शम्भु राई, बेलायतबाट गायिका शर्मिला बर्देवा र अस्ट्रियाबाट रुपककुमार शाही समुदा रहनुभएको छ ।