शान्ता अधिकारी
चितवन, असोज २० गते । चितवनका दुई ठुला नदी नारायणी र राप्ती नदीमा भएका छुट्टाछुट्टै घटनामा परेका तीन जना महिलामध्ये एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । एक जनाको उद्धारपछि अस्पताल भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार मध्यान्न १२ बजेको समयमा भरतपुर –१ नारायणी नदी किनारमा निर्माण गरिएको रिभरबिच नजिकैको चौतारीबाट नदीमा हाम्फालेकी एक जना महिलाको तत्काल उद्धार गरी भरतपुर अस्पताल उपचारको लागि भर्ना गरिएको छ ।
ती महिला ३२ वर्ष उमेरकी कविता गैरे भएको प्रहरीले जनाएको छ । भरतपुर २ वेलटाडीमा डेरागरी बस्ने बरघाट –५ माइती रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी भरतपुर २५ राप्ती नदीको जमुनाघाट क्षेत्रमा निउरो टिप्न नदी तर्दैगरेको अवस्थामा दुई जना महिलालाई नदीले बगाएको सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले एक जनाको शव फेला पारेको जनाएको छ । अर्को एक जना बेपत्ता भएकी छन् ।
प्रहरीका अनुसार शनिबार भएको उक्त घटनामा भरतपुर २४ बस्ने वर्ष ४८ की फडीमायाँ अधिकारीको शव नजिकै नदीबाट बाहिर निकालिएको र सोही ठाउँकी वर्ष ३२ की निरमायाँ श्रीमल बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार प्रहरी बिट अमृतचोक, ई.प्र.का.गितानगरबाट समेत खटिएको प्रहरी टोलीले खोजतलास जारी राखेको जनाएको छ ।