• २ जेठ २०८२, शुक्रबार

उत्पादनबिनाको वितरणले समस्या निम्तायो : कांग्रेस उपसभापति गुरुङ

blog

काठमाडौँ,  जेठ २ गते ।  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै उहाँले उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिनुभयो । 

उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्नेमा उहाँको भनाइ थियो । “उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखियो । यही कारण हाम्रो राजस्व र चालु खर्चबिच ठुलो खाडल देखिन थालेको छ । हामी लोकिप्रियतावादमा बढी रमाउँदा यस्तो भएको हो । आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ”, गुरुङले भन्नुभयो ।  

यस्तै, राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नका लागि सुझाव दिँदे उहाँले शिक्षा क्षेत्रमा आमूल रूपान्तरणको आवश्यकतासमेत औँल्याउनुभयो । विदेशमा पढ्न जाँदा ठुलो रकम खर्च भइरहेको उल्लेख गर्दै उपसभापति गुरुङले स्वदेशभित्र ठुलो मात्रामा आवासीय विद्यालय स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा सुधारका लागि नयाँ संस्था खोल्नेभन्दा पनि भइरहेका स्वास्थ्य संस्थालाई साधनस्रोत सम्पन्न बनाइनुपर्ने बताउनुभयो । “सङ्ख्या थपेर मात्रै राम्रो स्वास्थ्य सेवा पाउँछ भन्ने हुँदैन । भएका अस्पताललाई सही व्यवस्थापन, पर्याप्त साधनस्रोत र जनशक्ति दिन आवश्यक छ । त्यसतर्फ बजेटले बढी ध्यान पुर्‍याउनुपर्छ”, गुरुङले भन्नुभयो । एकीकृत स्वास्थ्य प्रणाली बनाएर बिरामीको सबै पुराना विवरण तथा तथ्याङ्क थाहा हुने व्यवस्था मिलाउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

सांसद गुरुङले आगामी आर्थिक वर्षको बजेटले धार्मिक र साहसिक पर्यटनका लागि लगानी केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । “भौतिक पूर्वाधार निर्माण गर्दा पनि पर्यटन पूर्वाधारसँग जोड्न सक्नुपर्छ । जलविद्युतका क्षेत्रमा ठुला जलाशययुक्त आयोजना निर्माणलाई बजेटको  प्राथमिकतामा राख्नुपर्छ । रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गरी प्राङ्गारिक मल प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गरिनुपर्ने आवश्यकता छ”, उहाँको सुझाव थियो ।

गुरुङले वनमा खेर गइरहेको बहुमूल्य काठ प्रयोगमा जोड दिनुपर्ने, जडीबुटीको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नुपर्नेलगायत सुझाव प्रस्तुत गर्नुभयो । रासस