बोमलाल गिरी
नवलपुर, जेठ २ गते । नारायणघाट–बुटबल सडक खण्डमा सम्झौताअनुसार काम भएको भए यति बेला अब बर्खा लाग्न थाल्यो, यात्रा कसरी गर्ने होला भनेर कसैले पनि चिन्ता लिन पर्ने थिएन । किनकी २०७९ साउन २२ गते सम्ममा काम सक्नेगरी ६ वर्ष अघि चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसार काम नभएपछि २०८० साउन ११ सम्म पहिलोपटक, २०८१ साउन ८ गतेसम्म दोस्रो पटक र २०८२ साउन ८ सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । पछिल्लो समय अन्तिम पटक भन्दै थपिएको म्याद सकिन अव झण्डै दुई महिना मात्र बाँकी छ । अहिलेसम्म सडक विस्तार आयोजनाको कुल भौतिक प्रगति ६५ प्रतिशत मात्र पुगेको छ । त्यसैले अन्तिम पटक भन्दै थपिएको समयमा पनि सडक विस्तारको कामले पूर्णता नपाउने निश्चित जस्तै छ ।
अझै पनि दाउन्नेको सडकको अवस्था लथालिङ्ग छ । जसले यो मार्ग भएर यात्रा गर्ने जोसुकैको एक पटक आँङ सिरिङ्ग बनाउँछ । सामान्य वर्षा हुँदा सवारी साधन चिप्लिएर जाम हुने, भारी वर्षा हुँदा पहिरो गएर यात्रा अवरुद्ध हुने र घाम लाग्दा अत्याधिक धुलोले यात्रा निक्कै कष्टकर बन्ने गरेको छ ।