• २० असोज २०८१, आइतबार

संयुक्त राष्ट्रसङ्घका महासचिव लुम्बिनी आउने

blog

महासचिव एन्टोनियो गुटेर्रेसको लुम्बिनीमा स्वागत एवं भ्रमणबारे जानकारी गराउँदै । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा । तस्विर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, असोज २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउनुहुने भएपछि लुम्बिनी भ्रमणमा आउनुहुने भएको छ । उहाँको स्वागतका लागि तयारी थालिएको छ ।

महासचिव गुटर्रेस नेपाल भ्रमणको क्रममा लुम्बिनी भ्रमण गर्ने निश्चित भएसँगै लुम्बिनी विकास कोषले भ्रमणका लागि सरोकारवालासँग छलफल सुरु गरेको छ । महासचिव गुटेर्रेसको लुम्बिनीमा स्वागत एवं भ्रमणबारे जानकारी गराउँदै संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले तयारीबारे जानकारी गराउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाइली ठकुरीसहितको उपस्थिति रहेको छलफलमा महासचिवको स्वागतसँगै लुम्बिनीको संवर्द्धन र सहयोगका लागि अपिल गर्ने साथै विश्वभर बुद्धको पवित्र जन्मस्थल लुम्बिनीबारे प्रचारप्रसार गर्ने छलफलको उद्देश्य रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।

असोज २६ गतेदेखि ३ दिनका लागि महासचिव गुटर्रेस नेपालमा रहने बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको हो ।