• १ जेठ २०८२, बुधबार

शान्त बन्दै नेपालगन्ज

blog

सिराज खान 

नेपालगन्ज, असोज २० गते । अशान्त बनेको नेपालगन्ज क्रमशः शान्त हुँदै गएको छ । नगरको अवस्था शान्तिपूर्ण बन्दै गएपछि अहिले यहाँ रातिको कफ्र्यु मात्र जारी राखेर दिउँसोको हटाइएको छ ।  जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार पनि दिउँसोको कफ्र्यु पूर्ण रूपमा हटाएर रातको समयमा मात्र १० घण्टाका लागि कफ्र्यु जारी राखेको छ । मङ्गलबार दिउँसो एक बजेबाट लगाइएको कफ्र्यु बिहीबारदेखि दिउँसो १२ घण्टाका लागि हटाइएको थियो । शान्तिसुरक्षा बलियो बनाउन निषेधाज्ञा भने दिउँसो पनि जारी नै राखिएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका प्रमुख विपिन आचार्यले शुक्रबार पनि दिनभरिका लागि कफ्र्यु हटाइएकोमा केही सामान्य विवादबाहेक शान्ति नै रहेको बताउनुभयो । 

उहाँले शुक्रबार दिउँसो केही युवाको हुलले निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेपछि हल्का बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिइएको थियो । निषेधाज्ञा उल्लङ्घन गर्न उक्साउने चार जनालाई पक्राउ गरिएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी आचार्यले कफ्र्यु र निषेधाज्ञाको समयमा पनि विभिन्न प्रकारका अफवाह र हल्ला फैलिरहेकाले सचेत रहन सबैलाई पुनः अनुरोध गर्दै कुनै पनि हल्लाको पछाडि नलागेर सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।  

शुक्रबार पनि नागरिक समाजका विभिन्न अगुवाले शान्ति र सद्भाव कायम राख्न अपिल गर्दै एक अर्कालाई सम्मान गर्न अनुरोध गर्नुभएको छ । पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले कफ्र्यु र निषेधाज्ञा पालना गर्न आग्रह गर्नुभएको छ । 

बाँके क्षेत्र नम्बर–२ का सङ्घीय सांसद डा. धवलशमशेर राणाले पनि शान्ति र सद्भाव कायम गर्न अपिल गर्दै सबैलाई संयमित भएर आआफ्नो काममा लाग्न अनुरोध गर्नुभएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले शुक्रबार नेपालगन्जका अधिकांश पसल व्यवसाय पनि सञ्चालनमा आएको जनाएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष चिरन्जीवि ओलीले शुक्रबार केही क्षेत्रबाहेक अधिकांश पसल व्यवसाय सञ्चालनमा आएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेले भने अझै पनि नगरका केही ठाउँमा तनाव र त्रास देखिएकाले ती क्षेत्रको ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेर कडाइ जारी राखिएको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठोरले बिपी चोकदेखि त्रिभुवन चोक र सदरलाइनको अवस्था अझै पनि पूर्ण रूपमा तनावमुक्त हुन नसकेकाले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर अवस्था सामान्य बनाउने प्रयास जारी रहेको बताउनुभयो ।