• ९ मंसिर २०८१, आइतबार

दसैँको त्यो चलन

blog

दसैँ सुरु भएपछि गाउँघरमा बाटो मर्मत सम्भार गर्ने चलन थियो । तत्कालीन गाविसका हरेक वडाध्यक्षले वडावासीलाई आफ्नो वडाको बाटो खन्ने भाग कहाँदेखि कहाँसम्म हो भनेर सूचना जारी गर्दथे । वडाभरका हरेक घरबाट एक/एक जनाका दरले यसरी बाटो मर्मत सम्भार गर्न जाने चलन थियो । यदि कुनै घरका सदस्य बाटो मर्मत सम्भार गर्न असमर्थ भएमा वडाध्यक्षले सबैको सहमतिमा सजाय मिनाहा गरिदिने चलन पनि थियो । यदि कसैले सामान्य अवस्थामै अटेर गरेर बाटो मर्मत सम्भार गर्ने काममा नगए तोकिएको रकम जरिबाना गराउने चलनसमेत थियो । बाटो खन्न सबै वडावासीलाई अनिवार्य गरे जस्तै वडाभरका बासिन्दामध्ये कसैको मृत्यु भएमा पनि हरेक घरबाट एक/एक जना मान्छे मलामी जान पनि अनिवार्य थियो । यदि नगएमा उसलाई एक वर्षसम्म सामाजिक बहिष्कार गर्ने चलन थियो । 

शरद ऋतुमा पर्ने दसैँ चाड हिन्दु धर्मावलम्बीको महìवपूर्ण चाड हो । यस चाडमा विदेशमा रहेका आफन्तसमेत नेपाल फर्केर आफूभन्दा ठुलाको हातबाट टीका, जमरा र आशीर्वाद लिन्छन् । यस कार्यले दुवै पक्षको भलो हुन्छ भन्ने मान्यता छ । त्यसैले हरेक वर्षको दसैँमा कम्तीमा टीका र आशीर्वाद थाप्नका लागि भनेर विदेश गएर वर्षौं नेपाल फर्कन नभ्याएकाहरूसमेत स्वदेश फर्केर मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद लिएर फर्कने चलन छ । यसरी देश–विदेशबाट आउने पाहुना वा आफन्तलाई हिँडेर आउँदा बाटोमा कुनै समस्या नपरोस् भन्ने हेतुले मूल बाटोदेखि वारि वा पारि गाउँसम्म जाने बाटो हुन् कि माथ्लो गाउँबाट तल्लो गाउँ जाने बाटो हुन्; सबै बाटा खनेर राम्रो बनाउने गरिन्थ्यो । वर्षाको पानीले पहिरो जाँदा वा भेल बग्दा बाटो भत्केको हुन्थ्यो । तिनलाई मर्मत सम्भार गरी हिँड्न सहज होस् भनेर यस्तो कार्य गरिन्थ्यो । वास्तवमा यो चलन निकै राम्रो र सकारात्मक सोचको विकास गराउने खालको काम हो । 

जुन बेला गाउँघरतिर यातायातका साधन गुड्न सक्ने सडक बनेका थिएनन्, त्यस बेला यात्रा भनेको केवल हिँडेरै गरिन्थ्यो । पैदल यात्रा गरेर भनेको समयमा गन्तव्यमा पुग्न निकै धौधौ पथ्र्यो । अझ वर्षाको पानीले बिग्रेका बाटामा सहज आवागमन गर्न निकै कठिन हुन्थ्यो । त्यसैले बाटो मर्मत सम्भार गरिन्थ्यो । यसरी हरेक वर्षको दसैँ सुरु भएपछि बाटाहरू मर्मत सम्भार गर्ने चलन थियो । देश–विदेशबाट आउनेका लागि मात्र नभई हाम्रा गाउँघरकै मानिस आउजाउ गर्नका लागि पनि बाटो मर्मत सम्भार गर्ने चलन थियो ।

दसैँमा गाउँघरका बाटा मर्मत गर्न वडाका सबैजसो नागरिक भेला भएर रमाउँदै बाजागाजाका साथ बाटो खन्दाको क्षण रोमाञ्चक हुन्थ्यो । यस्तोमा एउटै ठाउँमा बसोबास गर्ने नागरिकसँग चिनजान नभए चिनजान गर्ने मौका मिल्थ्यो । हार्दिकता साटासाट हुन्थ्यो । यसले उनीहरूबिच आत्मीयताको भावना बढेर जान्थ्यो । यो पनि एउटा सकारात्मक पाटो हो । 

हाम्रो देश प्रकृतिले पनि राम्ररी सिँगारेको सुन्दर देश हो । यस्तो देशमा विदेशी पर्यटक नआउने कुरै भएन । विदेशी पर्यटक घुम्न आउँदा उनीहरूले हामीले गरेको यो कार्यलाई पनि नियाली रहेका हुन्छन् । सानादेखि ठुला बाटा वा मूलबाटासमेत मर्मत सम्भार गरेर चिटिक्क पार्दा थाकेका पैदल यात्रुलाई समेत हिँडौँ हिँडौँ लाग्ने हुन्छ । यसले हाम्रो सभ्यताको परिचय दिन्छ । एकता, सहकार्य, सद्भावको परिचय दिन्छ । हामीले हरेक वर्ष दसैँमा गरेका बाटो मर्मतको प्रशंसा विकसित देशका मान्छेका लागि समेत अनुकरणयोग्य हुन सक्छ । धार्मिक आस्थाले ओतप्रोत हुँदै गरेको यस सहकार्यबाट जो कोहीले प्रेरणा लिन सक्छ । बाटो मर्मत गरेर पुण्य कमाउँदै छु भन्ने कुराको नक्कल नगर्ने को होला र ? अहिले पनि यातायातको सञ्जालबाट टाढै रहेका र दुर्गम बस्तीमा समेत बाटाघाटाहरू मर्मत सम्भारको काम कतै कतै भएको पाइन्छ । 

जमरेऔँसीको दिनदेखि दुई दिनसम्म ग्रामीण बाटाहरू मर्मत सम्भार गरिन्छ । दसैँको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म आफ्ना मान्यजनबाट रातो टीकासँगै कानमा पहेँला जमरा लगाइन्छ । बारीका डिलमा फुलेका सयपत्रीका थुँगाबाट निस्केको मगमग वासनासँगै मर्मत सम्भार गरिएका ग्रामीण सडकमा निर्धक्क भएर हिँड्दा मन नै खुसी हुन्छ । यस्ता बाटामा हिँडेर मोबाइलमा सेल्फी खिचेर समाजिक सञ्जालमा पठाउँदा कसको मन नरमाउला र ? नयाँ पहिरनमा सजिएर मर्मत सम्भार गरिएको बाटामा आफन्तको लावालस्कर देख्दा कसको मन फुरुङ्ग नहोला र ! 

समयको चक्रसँगै ग्रामीण धुले–हिले सडकको सट्टा कालोपत्रे गरेका सडकले ती मसिना र पसिनाले मर्मत भएका सडकलाई निलेर पेटमा पचाउन खोजेको भए पनि ती हिलाम्मे र धुलाम्मे सडकको अस्तित्वलाई नकार्नु चाहिँ मूर्खता हो । वास्तविकताको जगमा उभिएर भन्ने हो भने सडकको जग बसाउने श्रेय त तिनै धुले–हिले ग्रामीण सडक नै हुन् । त्यसैले अहिलेको मात्र होइन, आउँदा वर्षका दसैँमा पनि गाउँका बाटा मर्मत सम्भार गर्नु पर्छ । बाटाको मात्र होइन, मन्दिर, पाटी, पौवाको संरक्षण र संवर्धन गर्नु पर्छ । यस कार्यमा लाग्नु पर्छ । यदि यी बाटाको उपेक्षा गरेर लडे–भत्केकै अवस्थामा रहे ग्रामीण बस्तीहरू साँच्चै निर्जन बन्ने छन् । दसैँमा ग्रामीण बाटो अवश्य मर्मत सम्भार गरौँ । 

  

Author

केशव अधिकारी