• २० असोज २०८१, आइतबार

तराईमा जितिया पर्व मनाइँदै

blog

वराहक्षेत्र नगरको प्रकाशपुर बजारमा रहेको रामजानकी मन्दिर परिसरमा रौनियार समुदायका महिलाहरु जितवहान भगवानको मूर्तीमा पूजा गर्दै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की    
वराहक्षेत्र, असोज १९ गते ।
तराईका महिलाहरुले मनाउने जितिया पर्व आज शुक्रबार धुमधामका साथ जितवाहन भगवानको पूजा आरधना गरेर मनाउँदैछन् । विशेष गरी तराईका महिलाहरुले २४ घण्टा अघिदेखि व्रत बसेर आफ्ना सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै जितवाहन भगवानको आरधना गरिरहेका छन् ।

जितिया पर्व असोज कृष्ण पक्षको अष्टमी तिथिका दिन तराईका जिल्लामा धुमधामसाथ प्रत्येक वर्ष महिलाहरुले जितिया पर्व मनाउँदै आएका छन् । जितवाहन भगवानको उपवास बसेर सन्तानको सर्वाङ्गी विकासका साथै सुख सुविधाको कामना गर्दै मनाउने गरिन्छ ।  ।

असोज कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म  यो पर्व तराईका बस्तीहरुमा भजन, किीन, कथा प्रवचनका साथै व्रत बसेर मनाउने गरेको वराहक्षेत्र प्रकाशपुरका स्थानीय उमेश रौनियारले जानकारी दिनुभयो ।

व्रत बस्नुअघि व्रतालु महिलाहरुले नदी, तलाउ, खोला, पोखरीमा नुहाएर घिरौंलाको पातमा दही चिउरा चढाएर आफ्ना सन्तानको दीर्घ जीवनको कामना गर्दै दिवङ्गत पितृहरुलाई सम्झने गरेका छन् । हिजो (बिहीबार) बिहान ४ बजेदेखि नराहार (निर्जल) उपवास बसी शनिबार बिहान १० बजेपछि जितवाहन भगवानको पूजा अर्चना गरेर सम्पन्न हुने स्थानीय सत्यनारायण चौधरीले बताउनुभयो ।

सुनसरीको वराहक्षेत्र नगरको विभिन्न सार्वजानिक स्थान र मठ मन्दिरहरुमा मूर्ती स्थापना गरेर सामूहिक रुपमा पूजा अर्चना गर्दै आएको स्थानीय समिर चन्द्रवंशीले जानकारी दिनुभयो । समिरका अनुसार वराहक्षेत्र–९ को काली मन्दिरमा चन्द्रवंशी र कविरथ समुदायका महिलाहरुले सामूहिक रुपमा जितवाहन भगवानको पूजा आरधना गरेर मनाइरहेका छन् ।

प्रकाशपुर बजार परिसरमा रहेको रामजानकी मन्दिरमा समेत जितवहान भगवानको मन्दिर स्थापना गरेर रौनियार र अन्य समुदायका महिलाहरुले परिवारको सुख समृद्धिको कामना गर्दै मनाइहेको स्थानीय जुली पोदारले बताउनुभयो ।

प्रत्येक वर्ष आ–आफ्नै घरमा पूजा आरधना गर्दै आएका तराईवासी महिलाहरु पछिल्ला केही वर्षदेखि सामूहिक रुपमा जितवहान भगवानको मूर्ती स्थापना गरेर पूजा गर्दै आएका छन् । जितवाहन भगवानको श्रद्धा भक्तिसाथ उपवास बसेर पूजा आरधना गरे सन्तान खुसी, सुखी र आरोग्य हुने विश्वासका साथ तराईबासी महिलाहरु जितिया पर्व मनाउँदै आएका छन् ।