काठमाडौँ, असोज १९ गते । भारतकी प्रतिष्ठित कत्थक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्के नृत्य काठमाडौँमा प्रस्तुत गरिएको छ । उहाँको नेतृत्वमा तीन कलाकारको नृत्य प्रस्तुत गरिएको हो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा आयोजित ‘कत्थक नृत्य प्रस्तुति कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले गर्नुभएको थियो ।
फड्केको नेतृत्वमा रहेको समूहले भगवान् शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित छ वटा कत्थक नृत्यको प्रस्तुत गरेको थियो । उहाँलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गाङ्गलले साथ दिनुभएको थियो । रञ्जना फड्के भारतकी प्रसिद्ध शास्त्रीय नृत्य कलाकार तथा नृत्य निर्देशक हुनुहुन्छ । भारतमा मात्र नभएर, विश्वभर ‘कत्थक नृत्य’ का लागि उहाँ प्रसिद्ध हुनुहुन्छ । उहाँले युवा नृत्यप्रेमीलाई तालिम दिन २० वर्षदेखि ‘कथकालय’ नामक संस्था सञ्चालन गरिरहनुभएको छ ।