• १ जेठ २०८१, मङ्गलबार

रिगलको कैद मिनाहा गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

blog

काठमाडौं, असोज १८ गते । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सोसमेत खुलाई प्रत्यर्थी मध्येका रिगल ढकाललाई आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरूको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ६ को १ बमोजिम मिति २०८० असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना तत्काल तामेल गराउनू ।’’

यही असोज ३ गते संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकालको कैद मिनाहा गर्नुभएको थियो ।

रिगलको कैद मिनाहा गर्ने निर्णयपछि रिगलले हत्या गरेका चेतन मानन्धरको परिवारले आपत्ति जनाएका थिए । चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।