• २४ वैशाख २०८१, सोमबार

उपनिर्वाचनको मिति तय नहुँदै नेताहरूको दौडधुप

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), असोज १८ गते । इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचनको मिति तय नहुँदै दलका नेताको दौडधुप सुरु भएको छ । 

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचनको मिति तय नहुँदै दलका नेताको दौडधुप सुरु भएको हो । 

उपनिर्वाचनमा नेकपा (एमाले), नेपाली काँग्रेस र स्वतन्त्र पार्टी, माओवादी केन्द्र लगायतका दलका नेताहरूको दौडधुप सुरु भएसँगै उक्त निर्वाचन क्षेत्रमा पनि चुनावी सरगर्मी बढेको छ । 

२०५६ सालदेखि नेम्वाङले निरन्तर विजयी हासिल गर्दै आउनुभएको इलाम निर्वाचन क्षेत्र २ मा उहाँको निधनपछि उहाँका कान्छा छोरा सुहाङको नाम एमालेबाट चर्चामा छ । राजनीतिमा त्यति सक्रिय नभए पनि बाबुकै बिँडो थामेर अधिवक्ता बन्नुभएका सुहाङ, स्वर्गीय नेम्बाङको उत्तराधिकारी बन्नसक्ने अनुमान गर्न थालिएको छ । 

बुबाको निधनपछि इलाम आउनुभएका सुहाङले पार्टीले अवसर दिए बुबाले गर्न बाँकी काम आफूले पूरा गर्ने बताउनुभएको छ । एमाले इलामका उपाध्यक्ष उदय राईसहित एमाले नेताहरू  गणेश बराल,  बुद्धि खनाल, उमेश गुरुङ, रवीन्द्र सुवेदी र डा. देवी क्षेत्री दुलालको नाम चर्चामा छ । 

यता नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्काको नाम चर्चामा छ ।  २०७९ को निर्वाचनमा नेम्वाङसँग एक सय १४ मतले पराजित खड्का कांग्रेसको मजबुत उम्मेदवार भएको चर्चा गरिएको छ । थोरै मतले पराजित खड्का पार्टी सभापति शेरबहादुर देउवासँग नजिक रहेका कारण पनि उहाँले पुनः टिकट पाउने आङ्कलन गरिएको छ । 

उहाँसँगै कांग्रेस नेता भेषराज आचार्य, केशव थापा, बेनुराज प्रसार, खगेन्द्र देवान, नगेन्द्र कुमाललगायतका नेताहरू टिकटका लागि लविङमा दौडधुप गरिरहेका छन् । 

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको समेत उल्लेखनीय उपस्थिति रहने भएपछि ठुला दल एमाले र कांग्रेसलाई धक्का लाग्ने देखिन्छ । 

रास्पाबाट इन्जिनियर महेन्द्रकुमार थापाको नाम चर्चामा छ । अहिले इलामको विकाससँग सम्बन्धित विभिन्न स्ट्याटस दैनिकजसो सामाजिक सञ्जालमा पोष्ट भइरहेको छ । रास्वपाबाट इलामका केही प्रतिष्ठित व्यक्तिको नाम चर्चामा आए पनि उहाँहरूले कुनै प्रतिक्रिया जनाउनु भएको छैन । 

माओवादी केन्द्रबाट केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद धिरेन्द्र शर्माको नाम चर्चामा छ । उहाँसँगै माओवादी नेता हर्क लाओतीको नाम पनि अगाडि ल्याइएको छ । माओवादीले २०७९ को निर्वाचनमा सो क्षेत्रमा कांग्रेसलाई सघाएको थियो । गठबन्धन कायमै रहेमा फेरि कांग्रेसलाई सघाउनु पर्ने बुझाइ माओवादी नेताको छ ।

नेम्बाङको निधनपछि इलाम २ खाली भएसँगै पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) का नेता झालनाथ खनाल पनि आन्तरिक कसरतमा लाग्नुभएको छ । कोसी प्रदेशमा सरकार बनाउन एमालेलाई सघाएर इलाम २ मा खनाल आउने चर्चा पनि सतहमै आएको छ । 

इलाम निर्वाचन क्षेत्र १ मा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग पराजित खनाल अहिले एमालेसँगै मिलेर २ नम्बर क्षेत्रमा आउने चर्चा छ । विकासका दृष्टिकोणले निक्कै पछि परेको उक्त निर्वाचन क्षेत्रका मतदाता समेत विकास प्रेमी नेताको खोजीमा छन् । 

लामो समय नेम्वाङले चुनाव जितेर पनि केही नगरेको आरोप समेत लाग्दैआएको छ । उपनिर्वाचनमा नयाँ दलका कारण ठुला दललाई एकातिर समस्या छ भने अर्कोतिर विकास निर्माणमा ध्यान नदिएको आरोपको प्रतिउत्तर दिन नै समस्या हुने देखिएको छ ।