• २८ पुस २०८१, आइतबार

सामुदायिक वनले किचलो गर्दा सिमसार संरक्षणको करोडौँ रुपियाँ बालुवामा पानी

blog

हाल लथालिङ्ग अवस्थामा रहेको सिमसार क्षेत्र तस्बिर: हरिप्रसाद

हरिप्रसाद कोइराला 

उर्लाबारी, असोज १८ गते । कुनै बेला पानीले भरिभराउ भलुवा सिमसार यति बेला जलकुम्भीले भरिएको छ । सामुदायिक वनको आन्तरिक विवादले भलुवा सिमसारको सौन्दर्यीकरणसम्बन्धी काम ४ वर्षदेखि अलपत्र परेपछि सिमसार क्षेत्रको हालत यस्तो भएको हो । 

मोरङको कानेपोखरी–७ स्थित भलुवा सिमसारको सौन्दर्यीकरण गर्न  गाउँपालिकाका तत्कालीन अध्यक्ष ताराबहादुर काफ्लेले ६ वर्ष अघि शिलान्यास गर्नु भएको थियो । त्यसपछि सुरु भएको काम सब डिभिजन वन कार्यालयले रोकी दिएपछि  सौन्दर्यीकरणको काम अलपत्र परेको हो । निर्माण कम्पनीले काम गरिरहेको बेला सब डिभिजन वन कार्यालय कानेपोखरीले वन क्षेत्रमा काम गर्ने अनुमति मागेको थियो । सामुदायिक वन क्षेत्रमा काम गर्न सामुदायिक बनले डिभिजन वनसँग कार्य योजना स्वीकृत गराउनुपर्ने कानुनी व्यवस्था छ । 

ग्रामीण सुधार सामुदायिक बनको संरक्षण क्षेत्रभित्र  रहेको सिमसार क्षेत्रमा सौन्दर्य भर्न यस अघि पनि लाखौँ रुपियाँ खर्च भइसकेको थियो । सामुदायिक वनले लामो समय सम्म साधारण सभा गर्न नसकेको कारण नयाँ कार्य योजना निर्माण हुन सकेको छैन । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रा लखन ठाकुरले भन्नुभयो, सामुदायिक वनको आन्तरिक विवादले  नयाँ कार्ययोजना बन्न सकेको छैन । पुरानो कार्ययोजनाको अवधि समाप्त भएकोले  कार्य योजना पास नभई काम गर्न नदिइएको ठाकुरको भनाइ छ । 

भलुवा सिमसारलाई पूर्वकै नमुना पर्यटकीय क्षेत्र बनाउन सौन्दर्यीकरण सुरु गरिएको १० वर्षभन्दा बढी भइसक्यो । तर, सरकारी निकाय र सामुदायिक वनबिच समन्वय नहुँदा करोडौँ रुपियाँ सिमसारमा गाडिए पनि काम सम्पन्न भएको छैन । 


कानेपोखरी गाउँपालिकाले तत्कालीन अध्यक्ष ताराबहादुर काफ्लेको पालामा चार लाख ५० हजार रुपियाँ खर्चेर डिपीआर तयार गरिएको थियो । डिपीआरमा  वन्यजन्तु संरक्षण गर्न सानो चिडियाखाना, ट्रि हाउस , वनभोज खाने कटेज , स्वागत गेट , कल्भर्ट , विश्राम लय , पाले बस्ने ठाउँ, शौचालय , पोखरीको बिचमा पुल , सभा हल र पाहुना बस्ने घरसहितका संरचना निर्माण गरिने उल्लेख थियो । जसका लागि तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालले बजेट  विनियोजन गरिदिनुभएको थियो । पाँच करोड रुपियाँको लागत अनुमान तयार भएको उक्त आयोजनाका लागि पर्यटन मन्त्रालयले तीन करोड ५० लाख र गाउँपालिकाले डेढ करोड रुपियाँ खर्चिने सहमति भएको तत्कालीन अध्यक्ष ताराबहादुर काफ्लेले बताउनु भयो । 

तर ,योजनाको ठेक्का तीन करोड ६५ लाख ९८ हजार ८७० रुपियाँमा सकेर सएस मुटुयल जेबिले प्राप्त गर्यो । ठेकेदार कम्पनीले दुई वर्षभित्र काम सम्पन्न गरी स्थानीय सरकारलाई जिम्मा लगाउने सहमति भएको थियो । तर चार वर्ष बितिसक्दा पनि काम सम्पन्न भएको छैन ।  

कानेपोखरी गाउँपालिकाकी  अध्यक्ष राजमती इङ्नामले सिमसार वन क्षेत्रभित्र पर्ने भएकाले हाललाई काम रोकिएको बताउनुभयो । वनले कार्ययोजना पास गरेपछि काम सुरु हुने अध्यक्ष इङ्नामको भनाइ छ ।

पूर्व पश्चिम राजमार्गको कानेपोखरी चोक देखि करिब तीन किलोमिटर दक्षिणमा रहेको सिमसार तथा जलाधार क्षेत्र १४ हेक्टर जमिनमा फैलिएको छ । २०६९÷७० सालमा सामुदायिक वनका तत्कालीन अध्यक्ष हरिप्रसाद पौडेलले भलुवा सिमसार संरक्षण समिति गठन गरी सौन्दर्यीकरणको काम सुरु गर्नुभएको थियो । त्यस बेला पनि सौन्दर्यीकरणका लागि आठ लाख रुपियाँ खर्च भएको पूर्व अध्यक्ष नवीन राईले बताउनुभयो । राईले आफू अध्यक्ष हुँदा अढाई लाख रुपियाँ खर्च गरेको बताउनुभयो । 

८१५ हेक्टरमा फैलिएको तराईको वन तीन टुक्रामा विभाजित गरी दुई वटा सामुदायिक वनको  साधारण सभा सम्पन्न  भइसकेको छ । नयाँ अध्यक्ष देवेन्द्र थापाले भन्नुभयो – हाम्रो कार्ययोजना अन्तिम चरणमा पुगेको छ । वनले स्वीकृति गर्नासाथ काम अघि बढ्छ, थापाले भन्नुभयो ।