खालिस्तानी नेताको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबिचको कूटनीतिक तनाव उत्कर्षमा पुगेको छ । गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित एक सिख मन्दिरबाहिर खालिस्तानी नेता हरदीप सिंह निज्जरको गोली हानी गरिएको हत्या प्रकरणमा भारतको गुप्तचर निकाय ‘रअ’ को हात रहेको आरोप लगाउँदै क्यानडा सरकारले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेसँगै यो विवाद उत्कर्षमा पुगेको हो ।
क्यानडाले भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू पनि रद्द गरेको छ । त्यसको बदलामा भारतले क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको छ । भारतले क्यानडामा भिसा सेवा बन्द गर्नुका साथै विखण्डनवादीको सम्पत्ति रोक्का गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो प्रकरणमा भारत सरकारको हात नरहेको र क्यानडाको दाबीलाई ‘निरर्थक’ भन्नुभएको छ । उहाँले राष्ट्रहितविपरीतका विखण्डनवादी र आतङ्कवादी गतिविधिलाई छुट दिन नसकिने स्पष्ट गर्नुभएको छ ।
निज्जर हत्याबारे क्यानडाको गुप्तचर निकायले अनुसन्धान गरेपछि त्यहाँका प्रधानमन्त्री जस्टिन टुडो भारतविरुद्ध आक्रामक बन्नुभएको हो । उहाँले निज्जर हत्या प्रकरणमा भारतलाई छुट दिन नसकिने बताएसँगै अमेरिकाका राष्ट्रपति जोए बाइडेनले पनि यसमा सहमति जनाउँदै भारतमाथि थप दबाब दिनुभएको छ । “क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनै खाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो,” टुडोले क्यानडाको संसद् हाउस अफ कमन्समा भन्नुभयो । उहाँले भन्नुभयो, “त्यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई सञ्चालन गर्ने आधारभूत नियमविपरीत कुरा हो ।”
भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत टुडोका दाबीहरूको खण्डन गर्दै क्यानडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहरू ‘निरर्थक र प्रेरित’ भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, “क्यानडाका प्रधानमन्त्रीले संसद्मा जे कुरा भन्नुभयो, हामी तिनलाई अस्वीकार गर्छौं । हामी क्यानडाका विदेशमन्त्रीको भनाइलाई पनि अस्वीकार गर्छौं ।” “यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतङ्कवादी र चरमपन्थीहरूबाट ध्यान मोड्नका लागि गरिएको हो । क्यानडाले त्यस्ता खालिस्तानी आतङ्ककारी र अतिवादीहरूलाई शरण दिएको छ, जो भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन्,” विज्ञप्तिमा भारतले दाबी गरेको छ ।
क्यानडामा हत्या, मानव बेचबिखन र सङ्गठित अपराध जस्ता गतिविधि फस्टाउनु सबैका लागि चिन्ताको विषय हो । “हामी क्यानडा सरकारलाई क्यानडाको माटोबाट सञ्चालित भारतविरोधी गतिविधिविरुद्ध तुरुन्त र प्रभावकारी कानुनी कारबाही गर्न आग्रह गर्छौं,” भारतले माग गरेको छ । टुडोले भारतमा भएको जी–२० सम्मेलनमा सहभागी हुने क्रममा उक्त विषय भारतका प्रधानमन्त्री मोदीसँग उठाउनुभएको थियो । त्यस क्रममा टुडोसँगको भेटमा प्रधानमन्त्री मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाउनुभएको थियो ।
टुडोले यो विषय अमेरिकी राष्ट्रपति बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग पनि उठाउनुभयो । बाइडेनले टुडोको कुरामा सहमति जनाउनुभयो । निज्जर क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियाका सिख नेता थिए । उनी सार्वजनिक रूपमै स्वतन्त्र सिख राज्य स्थापनाको माग गर्ने खालिस्तान अभियानमा संलग्न थिए । सो अभियानकै कारण पहिलादेखि नै उनी निसानामा रहेको उनका समर्थकहरूको दाबी छ ।
भारतले यसअघि निज्जरलाई एक पृथकतावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको सङ्ज्ञा दिएको थियो । उनी ४५ वर्षका थिए । उनको जन्म भारतको पन्जाब राज्यको जालन्धरस्थित भरसिंहपुर गाउँमा भएको थियो । उनी सन् १९९७ मा क्यानडा गएका थिए । पहिला उनले प्लम्बरको काम गरे । पछि उनी क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियामा सिख नेता बने ।
भारतको पन्जाबमा स्वतन्त्र खालिस्तानको माग गर्ने खालिस्तान टाइगर फोर्ससँग सम्बद्ध भएको आरोप लगाउँदै भारतले उनलाई सन् २०२० मा आतङ्कवादी घोषणा ग¥यो । क्यानडामा भारतीय मूलका झन्डै १८ लाख नागरिक छन् । भारतको पञ्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ । त्यहाँ करिब आठ लाख सिख रहेका छन् । त्यसै गरी अमेरिकामा तीन लाख, बेलायतमा दुई लाख, अस्ट्रेलियामा दुई लाख सिख बसोबास गर्छन् ।
भारत र क्यानडाबिच देखिएको यो कूटनीतिक विवादको बाछिटा अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नदिन पश्चिमा देशका मन्त्री र अधिकारीहरूले ठुलो मेहनत गरिरहेका छन् । अमेरिका र अन्य पश्चिमा शक्तिहरूले क्यानडासँगको विवादका कारण भारतसँग आफ्नो सम्बन्ध नबिग्रियोस् भन्ने चाहेका छन् । यद्यपि उनीहरूले भारतमाथि दबाब दिन भने छाडेका छैनन् ।
अहिले भू–राजनीतिको ठुलो मैदानमा भारत एउटा प्रमुख खेलाडी भइसकेको छ । भारत विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश मात्र नभएर यो उदीयमान शक्ति राष्ट्र र विश्वकै पाँचौँ ठुलो अर्थतन्त्र पनि हो । यसलाई पश्चिमा राष्ट्रहरूले चीनसँगको सम्भावित सुरक्षा पर्खालका रूपमा पनि हेरेका छन् । अहिले सम्बन्ध बिगार्दा भारत बिचकने त होइन भन्ने चिन्ता पनि पश्चिमा देशलाई छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले निज्जर हत्याको आरोपबारे निकै चिन्तित रहेको बताउँदै क्यानडाको अनुसन्धान अघि बढ्ने र दोषीहरूलाई सजाय हुनुपर्ने बताएको छ । बेलायतका विदेशमन्त्री जेम्स क्लेभर्लीले क्यानडाले उठाएको विषयलाई धेरै नै गम्भीर रूपमा आफ्नो मुलुकले लिएको बताउनुभयो । अस्ट्रेलियाको विदेश मन्त्रालयले पनि निज्जर हत्याबारे निकै चिन्तित रहेको बताउँदै क्यानबेराले आफ्नो गम्भीर चिन्ता भारतको उच्च नेतृत्वसमक्ष राखेको जनाएको छ ।
भारतमा खालिस्तान आन्दोलन सन् १९८० को दशकमा सिखबाहुल पन्जाब राज्यमा हिंसात्मक विद्रोहका साथ उत्कर्षमा पुगेको थियो । जसलाई भारत सरकारले बलपूर्वक नियन्त्रण गरेको थियो । जसका कारण अहिले भारतमा यसको प्रभाव कम छ तर क्यानडा, अमेरिका, अस्ट्रेलिया र बेलायत आदि देशमा रहेका सिख पृथकतावादीहरूले यस अभियानलाई जारी राखेका छन् । भारतको पन्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ, जहाँ कैयौँ खालिस्तान पक्षधरले पृथकतावादी गतिविधि गरिरहेका छन्; जुन भारतका लागि चिन्ताको विषय हो । गत जुन महिनामा भारतले क्यानडासँग त्यहाँ रहेका आफ्ना कूटनीतिज्ञको सुरक्षालाई लिएर औपचारिक रूपमा उजुरी गरेको थियो ।
सिख धर्म विश्वको एउटा मुख्य धर्ममध्ये एक हो । यो धर्म अहिलेको भारत र पाकिस्तानमा पर्ने पन्जाब क्षेत्रमा सोह्रौँ शताब्दीमा सुरु भएको हो । सन् १९४७ मा ब्रिटिस शासन अन्त्य भएपछि भारत र पाकिस्तान देश विभाजित भए । विश्वभरि झन्डै दुई करोड ५० लाख सिख छन् । धर्मप्रति आस्था राख्ने विश्वको यो पाँचौँ ठुलो समूह हो । अधिकांश सिख भारतमा बस्छन् । भारतमा झन्डै दुई प्रतिशत जनसङ्ख्या सिखको छ । विदेशमा बस्ने सिखको सङ्ख्या पनि ठुलो छ ।
खालिस्तान आन्दोलनले भारतमा सिखका लागि छुट्टै राज्य स्थापना गर्न चाहेको छ । सन् १९८० मा भारतको पन्जाब राज्यमा यो आन्दोलन उत्कर्षमा पुगेको थियो । त्यहाँ शृङ्खलाबद्ध हिंसात्मक आक्रमण भए र हजारौँ मानिस मारिए । यो आन्दोलन दमन गर्न भारतको सशस्त्र फौजले एउटा विशेष कारबाही चलायो । त्यसपछि यो आन्दोलन कमजोर भयो । आधुनिक पन्जाबको राजनीतिमा परिवर्तन आएको छ र स्वतन्त्रताको स्वर त्यति बलियो छैन तर प्रवासमा रहेको सिख समुदायभित्रका मानिसले छुट्टै राज्यका लागि निरन्तर रूपमा पैरवी गर्दै आएका छन् । केही वर्षयता यो माग चर्किंदै गएको छ ।
तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको निर्देशनमा अमृतसरस्थित स्वर्ण मन्दिरमा सेनाले धावा बोलेर सिख पृथकतावादीमाथि दमन गरेको केही महिनापछि आफ्नै दुई सिख अङ्गरक्षकले इन्दिरा गान्धीको हत्या गरेका थिए । भारतले खालिस्तान आन्दोलनको सशक्त रूपमा विरोध गर्दै आएको छ । पन्जाबसहित देशको मूलधारमा रहेका राजनीतिक दलहरूले हिंसा र पृथकतावादको आलोचना गरेका छन् । भारतको इतिहासमा सर्वाधिक विवादास्पद मानिएका दुई घटना ‘अमृतसरस्थित स्वर्ण मन्दिरमा भएको आक्रमण र इन्दिरा गान्धीको हत्या’ ले लामो समयदेखि तनाव चल्दै आएको छ ।
सन् १९८४ को जुन महिनामा भारतीय सेनाले सिखहरूको पवित्र स्थल स्वर्ण मन्दिरमा धावा बोलेर त्यहाँ आश्रय लिएर बसेका पृथकतावादीहरूलाई त्यहाँबाट हटायो । त्यस क्रममा धेरै मानिसको ज्यान गयो र स्वर्ण मन्दिरमा ठुलो क्षति पुग्यो । सिख स्वतन्त्रताविरुद्ध भारतका सबै राजनीतिक दल एकताबद्ध भएका कारण भारत सरकार खालिस्तानसम्बन्धी विषयलाई द्विपक्षीय कूटनीतिक सम्बन्धको विषय मान्दैन । यो विषय भारतमा गौण भइसकेको अवस्थामा विदेशमा रहेको खालिस्तान पक्षधर सिखहरूले उठाउँदै आएको यो मुद्दालाई सम्बन्धित मुलुकले साथ दिने गरेका छन् ।