सिराज खान
नेपालगन्ज, असोज १७ गते । नेपाल पत्रकार महासङ्घ बाँकेले संयमित भएर सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ । महासङ्घ बाँकेका सचिव कमल डाँगीले बुधबार विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो ।
सङ्कटको समयमा सबै संयमित हुनुपर्ने भन्दै आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभएको छ । सङ्कटको समयमा सिर्जना हुने भ्रम झन् खतरा हुने भएकाले त्यस्ता भ्रमलाई चिर्न सत्य तथ्य सूचना सङ्कलन गरी प्रकाशन–प्रसारण गर्नु पत्रकारको कर्तव्य भएको भन्दै हतारमा समाचार सम्प्रेषण नगर्न महासङ्घले आग्रह गरेको छ ।
पत्रकार आचारसंहितामा उल्लेख भएको “विभिन्न जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबिचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्न हुँदैन” भन्ने विषयलाई ध्यान दिन आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, “सुरक्षित रूपमा पत्रकार आचारसंहिताको पालना गर्दै सञ्चारकर्म गर्न आग्रह गरिन्छ ।”
रिर्पोटिङका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहज रूपमा विवरण टिपाउन समेत पत्रकारलाई महासङ्घ बाँकेले आग्रह गरेको छ । “नेपालगन्जमा सिर्जना भएको तनाव भड्किन नदिन यस्ता घटनाको कारण खोजीगरी आमनागरिक समक्ष सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र राज्यका निकायलाई जबाफदेही बनाउने दायित्व र जिम्मेवारी सञ्चार क्षेत्रको महासङ्घले भनेको छ ।
नेपालगन्जको सद्भाव, आपसी भाइचारा अरूका लागि पनि उदाहरणका रूपमा रहेको उल्लेख गर्दै महासङ्घ बाँकेले आपसी एकताका लागि अग्रसर हुन सबैलाई आग्रह गरेको छ ।